तीन करोड लगानीमा फलामे पदमार्ग निर्माण «

तीन करोड लगानीमा फलामे पदमार्ग निर्माण

दिपेन्द्र घले
सिन्धुपाल्चोक-
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत पर्यटन विभागको ३ करोड लगानीमा ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको छ ।
जिल्लाको दुर्गम स्थल मानिने जुगल गाउँपालिकाको जुगल हिमश्रृंखलाका ६ वटा चुचुरोमा आरोहण गर्न आर्कषक ‘भिया फराता’ अर्थात् फलामे पदमार्ग निर्माण गरिएको हो ।
अन्तर्राष्ट्रिय माउन्टेन गाइड तुलसिंह गुरुङको अगुवाइमा ७ जनाले २५ दिन खर्चिएर ‘एडभेन्चर भिया फराता’ निर्माण गरिएको थियो । सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङका अनुसार जुगल हिमश्रृंखलाका फरक उचाइका चुचुरा चढ्न ४ हजार ६ सय २० मिटर उचाइमा रहेको बेसियर बेसक्याम्प ङ्याङखर्क पुग्नुअघिको भिरपहरोमा ‘भिया फिराता’ बनाइएको हो ।
३ करोड लगानीमा खानी सेवा प्राइभेट लिमिटेड कम्पनीले जिम्मा लिएको ‘भिया फराता’ जुगल हिमश्रृंखलाको काख नेपेमासालबाट बुम्बाशेर्बुसम्म करिब ३ हजार सिडी र माउन्टेन हट, पदमार्गजस्ता अन्य भौतिक संरचना निर्माण भइरहेको उनले बताए । ८० मिटर लामो रहेको यो पदमार्ग समुन्द्री सतहबाट ४१ सय मिटर उचाइमा रहेको छ । यसले जुगलका हिमचुचुरो आरोहण गर्न सहज बाटो हुनेछ ।
यसअघि पर्यटन प्रवद्र्धनको उद्देश्यले जुगल हिमश्रृंखलाको ११ वटा मध्येको एक चुचुरो ६ हजार एक सय ५१ मिटरको उचाइमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भयो । २०७५ चैत २९ मा सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ७ जनाले ‘भर्जिन’ जुगल हिमालमा पहिलो पटक मानव पाइला टेक्दै पहिलो पटक झण्डा फहराए । केही समयअघि काठमाडौबाट साता दिनमै सगरमाथा आरोही शर्मिला लामा स्याङ्तानको नेतृत्वमा ५ जनाले सफल आरोहण गरेर देखाएका थिए ।
“दुई पटक आरोहण भएको हिमक्षेत्रमा पर्यटकीय आर्कषणको लागि ‘भिया फराता’ कोसेढुंगा हुनेछ” उनले भने, “यो मुलुकमै पहिलो पटक बनाइएको हो, यसमा हजार फलामे सिंढी छन् ।”

के हो भिया फराता
‘भिया फराता’ ल्याटिन भाषाबाट आएको हो, यसको अर्थ हो फलामे बाटो । विशेषत युरोप अमेरिकामा ‘भिया फराता’ फलामे पदमार्गलाई हिमाली लेकभेगमा ‘एडभेन्चर’ सहासिक खेलको रुपमा लिने गरिन्छ । विश्व युद्धताका युद्ध गर्नको लागि एक गाउँबाट अर्को गाउँमा गएर आक्रमण गर्न ‘भिया फराता’ प्रयोग गरिएको पाइन्छ ।
दुई सय मिटर ठाडो उकालो पहरोमा निर्माण फलामे बाटोमा बिना सेफ्टि र बिना गाइड चढ्न पुरै मनाही गरिएको उनको भनाइ छ । चढ्नको लागि अनिवार्य २ वटा सेफ्टि सिलिङ, हेलमेट, हार्नेस र हातमा पञ्जा लगाउनु अनिवार्य हुन्छ । केही मिटरको दूरीमा एंकर राखिएको छ । एंकरमा पुगेलगत्तै दुई वटा क्यारिबिना मध्ये एउटा क्यारिबिना सार्ने लक गर्ने र बल्ल अर्को क्यारिबिना सार्ने लक गर्ने गर्दै अगाडी बढ्ने गर्नुपर्छ । क्लाइबिङ गर्दा साइडमा राखिएको सेफ्टी फलामको तारमा अनिवार्य समात्ने र राम्रोसँग रडमा टेक्नुपदर्छ ।

प्रतिक्रिया दिनुहोस्