संक्रमणकालमा चोरको बिगबिगी «

संक्रमणकालमा चोरको बिगबिगी

विगत केही वर्षयता कोरोनाले विश्वको अर्थतन्त्रलाई नै डामाडोल पारेको अवस्थामा फेरि अर्को नयाँ भेरियन्ट ओमिक्रोन अर्थतन्त्रका साथसाथै मानिसहरूका लागि कत्तिको घातक छ भनेर हामी अनुमान सक्दैनौं । अब बिस्तारै अर्थतन्त्रले गति लिने क्रममा फेरि नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । तर, पहिलेको दाँजोमा अब नेपालीहरू यति धेरै विश्वस्त भइसकेका छन् कि कोरोना होस् या ओमिक्रोन, जस्तोसुकै नयाँ भेरियन्ट आए पनि हामी रोगसँग लड्न सक्छौं भन्ने दृढ विश्वास रहेको छ ।
सम्पूर्ण क्षेत्रमा लागेको निषेधाज्ञा खोलिसकेको हुनाले मानिसहरू अब सामान्य दैनिकीतर्फ फर्किसकेका छन । तर, कोरोनाले मानिसहरूको आर्थिक स्तरमा निकै नै नराम्रो असर तथा छाप छोडेको छ । यतिबेला कैयौं व्यवसायहरू बन्द हुनुका साथै रोजगार गुमाएको कारणले मानिसहरूलाई आफ्नो दैनिकी टार्न निकै नै गा¥हो भएको छ ।
जब मानिस अत्यावश्यक आधारभूत कुराहरू जस्तै गाँस, बाँस, कपासको उपभोग गर्न मुस्किल हुने अवस्थाको सिर्जना हुन्छ, घरमा झैझगडा हुनुका साथै समाजमा पनि चोरी–डकैती बढ्ने सम्भावना हुने गर्छ । यतिबेला रोजगारी गुमाएका मानिसहरूलाई घरपरिवार पाल्न, बालबच्चालाई विद्यालय पठाउन र विद्यालयको शुल्क तिर्न निकै नै समस्या परेको छ । त्यसमाथि अहिले बढ्दै गरेको चिसोले पनि बच्चाहरू बढी बिरामी हुनाले घर खर्च गर्न निकै नै मुस्किल भइराखेको छ । र, निरन्तर प्रयास गर्दागर्दै पनि यी सब कुराको जोहो गर्न नसकेपछि मानिसहरू बाध्यताले पनि आफ्नो अनि परिवारको पेट पाल्नको लागि गलत मार्गमा लाग्ने गर्छन् ।
केही दिनअघिको मात्र कुरा हो, ललितपुरको टीकाथलीमा दिउँसोको समयमा घरका सबै जना बिहेमा गएको अवसर पारी घर फुटाएर घरमा भएको गहना, पैसा, ल्यापटपका साथसाथै खुत्रुकेसमेत फुटाएर पैसा चोरी गरेर उक्त खुत्रुकेलाई खाली चौरमा फ्याँकेर चोर्न सफल भएर भागेका थिए । त्यसको केही दिनपछि नै फेरि मेरो घरसँगै जोडिएको घरमा रातिको ९ बजे एउटा चोर समातिएको थियो । उक्त चोर भारतबाट पनि चोरी प्रकरणबाट फरार भएर नेपाल पसेको सुन्नमा आएको छ । रातिको ९ बजे घरबेटी बा जाडोको मौसम भएका कारण घरबाहिर आगो ताप्न गएको, आमा सुतेको र नानीबाबु पढिरहेको मौका छोपी छैठौं तलामा प्रवेश गरी सामान पूरै तितरबितर पार्दै सामानहरूको खोजी गरिरहेको अवस्थामा घरबेटी बाले उक्त चोरलाई समात्नुभएको थियो । समातिसकेर हल्लाखल्ला भएपछि घरबेटी आमाले भन्नुभयो कि केही दिनअघि मात्र यसलाई मैले घरभित्र भाडामा बस्ने व्यक्तिको नाम लिएर घरभित्र प्रवेश गरेको देखेको थिए भन्नुभयो । केही साताअघि मात्र उक्त घरबाट साइकल चोरी भएको थियो । उक्त चोरी हुनु केही दिनअघि मात्र रात्रिको समयमा छतमा ठूलो–ठूलो आवाज र मान्छे हिँडेको जस्तो आवाज आउने गरेको थियो भन्नुभयो । उक्त घरको भुइँ तलामा सारीमा बुट्टा भर्ने कामदारहरू बस्नुका साथै अस्पतालको बेड बनाउने फ्याक्ट्री पनि भएको हुनाले चोरहरूलाई उक्त फ्याक्ट्रीको नाम लिएर घरभित्र प्रवेश गर्न सहज भएको र त्यसमाथि जाडोको मौसमको कारण बाक्लोे कपडा अनि मास्कको प्रयोग गर्नाले मान्छे चिन्न मुस्किल पर्ने घरबेटी तथा प्रहरीको भनाइ थियो ।
धेरै दिनअघिदेखि नै निगरानी गरिराखेको हुनाले चोरी गर्ने आँट आएको हुन सक्छ । उक्त चोरहरूको गिरोहले नै केही दिनअघि पनि चोरी गरेको हुन सक्ने प्रहरीको भनाइ रहेको थियो र थप अनुसन्धान पनि भइराखेको थियो । त्यसमाथि उक्त चोर भारतको भएको हुनाले बारम्बार ‘मेरेको फसा दिया’ भनिराखेको थियो । त्यसमाथि हामीहरू स्वयम्ले पनि सामाजिक सञ्जालमार्फत आफूहरू घरमा नभएर यस्तो ठाउँमा छौं भनेर सूचना प्रेषित गर्ने बानीको कारणले पनि चोरहरूलाई खुलेआम डकैती गर्ने मौका मिल्छ । त्यसैले आफ्नो घरको सुरक्षाको विषयमा आफंै चनाखो हुनुपर्छ । आज अरूकोमा आएको चोर हाम्रोमा आउन के बेर, हैन र ?

प्रतिक्रिया दिनुहोस्