बिग्रिएका सिसी क्यामराको भरमा बहुमूल्य मूर्ति «

बिग्रिएका सिसी क्यामराको भरमा बहुमूल्य मूर्ति

जुम्लाको प्रसिद्ध पर्यटकीय चन्दननाथ मन्दिरमा बहुमूल्य भगवानका मूर्तिहरू बिग्रेका सिसी क्यामराको भरमा राखिएका छन् । गत वर्ष मन्दिरमा रहेका बहुमूल्य मूर्तिहरू चोरी भएपछि, त्यसपछि मूर्ति सुरक्षाका लागि मन्दिरमा सिसी क्यामेरा जडान गरिएको थियो । मन्दिरमा जडित कुनै पनि सिसी क्यामराले काम नगरेको प्रमाणित भएपछि मूर्तिहरू असुरक्षित छन् ।
२०७३ मंसिर १० गते मन्दिरमा रहेको सबैभन्दा ठूलो १६ धार्नीको दत्तात्रयको मूर्तिसहित २७ भन्दा बढी मूर्ति चोरी भए । मूर्ति खोजीका लागि जुम्लाबासीले सडक तताएपछि सीआईबीको टोलीले मूर्ति हराएको झण्डै १० दिनपछि जुम्लाको पूर्वीक्षेत्र गोठीचौर गाउँपालिकाको देपालगाउँमा मूर्ति भेटायो । भव्य बाजागाजाका साथ मन्दिरमा मूर्ति पुनःस्थापना पनि गरियो । त्यसलगत्तै मन्दिरको सुरक्षाका लागि सिसी क्यामरा जडान गर्न नागरिक समाजले आवाज उठायो ।
नागरिकको दबाबपछि प्रशासनले मन्दिरमा ७ वटा सिसी क्यामरा जडान ग¥यो । मन्दिरको सुरक्षाका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिसी क्यामरा राख्न निर्देशन दिएका थिए । तर मन्दिरमा सिसी क्यामरा जडान गरेपछि झन् सुरक्षा चुनौती थपिएको छ । सिसी क्यामरा राखेको झण्डै डेढ वर्ष बितिसक्दा ७ वटै सिसी क्यामराका डीभीआर मेसिनले काम नगरेको प्रमाणित भएको छ । किनकि हालसम्म कुनै पनि दिनको एउटा पनि फुटेज रेकर्ड भएको छैन ।
यसले गर्दा मन्दिरको सुरक्षामा थप चुनौती देखिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद आर्चायले बताए । वर्ष दिन बित्दासमेत प्रमाण रेकर्ड नभएपछि कुनै पनि बेला पुनः चोरीको अप्रिय घटना हुनसक्ने उनको भनाइ छ । “सुरक्षाका लागि सिभिलमा दैनिक प्रहरी पनि खटाउने गरिएको छ ।” प्रहरी निरीक्षक चूडामणि पुनले भने, “सुरक्षामा खटिएका प्रहरीको आँखा छली मन्दिरबाट मूर्ति चोरी भएपछि सिसी क्यामराको सहायता लिइएको हो ।”

 

क्यामेरा जडान गर्न १२ लाख
मन्दिरमा सिसी क्यामेरा जडान गर्न १२ लाख रुपैयाँ खर्च गरिएको छ । जसमा चन्दननाथ नगरपालिकाको ५ लाख, गुठीको ३ लाख र अन्य विभिन्न निकायको सहयोगबाट ४ लाख गरी जम्मा १२ लाखको लागतमा सिसी क्यामरा खरिद गरी जडान गरिएको हो । जडित क्यामराको डीभीआर मेसिनमा खराबी आई भिडियो रेकर्ड नभएको बुझिएको छ ।
सिसी क्यामरा जडानपछि व्याक–अप व्यवस्थापनमा गुठी व्यवस्थापन समिति र प्रशासन मौन भएपछि यस्तो समस्या निम्तिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महत बताउँछन् । हाल सिसी क्यामरा बिग्रिने अवस्थामा रहेको समितिका खरिदार रत्नलाल आचार्यले बताए ।
गत वर्ष मूर्ति चोरीको आरोपमा जुम्लाकै दुईजना स्थानीय अगुवा कारागार चलान भइसकेका छन् ।(सागर परियार)

प्रतिक्रिया दिनुहोस्