एमाले जिल्ला अधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुने «

एमाले जिल्ला अधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुने

लमजुङ – नेकपा एमाले लमजुङको आसन्न जिल्ला अधिवेशनका लागि करिब ६ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन् ।आगामी २३ गते हुने आठौं जिल्ला अधिवेशनमा जिल्ला भरिबाट प्रतिनिधित्व गर्दै करिब ६ सय प्रतिनिधिहरूले सहभागिता जनाउने भएका हुन् ।
नेकपा एमाले लमजुङका अनुसार अधिवेशनको बन्दसत्रमा जिल्लाका ७५ वटा वडाबाट मात्रै करिब चार सय प्रतिनिधि सहभागी हुने छन् । वडाबाट वडा कमीटी अध्यक्षसहित अधिवेशनका लागि छनौट भएका प्रतिनिधिहरू सहभागी हुने नेकपा एमाले जिल्ला संगठन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
अधिवेशनका लागि प्रत्येक वडाबाट कम्तीमा चार जना प्रतिनिधि छनौट भएका छन् । नेकपा एमालेका अनुसार प्रत्येक वडामा ५० जना संगठित सदस्यबाट दुई जना खुला, एक महिला र एक जना दलित सदस्य प्रतिनिधिले सहभागिता जनाउने छन् । ५० देखि ७५ जना संगठित सदस्य भएका वडाहरूबाट थप एक जना खुला सदस्यसहित पाँच जनाप्रतिनिधि छनौट भएका छन् भने १ सय जनासम्म संगठित सदस्य भएको वडाबाट थप एक-एक जना खुला र महिलासहित ७ जना प्रतिनिधि छनौट भएका छन् ।
जिल्ला अधिवेशनका लागि वडाबाहेक जिल्ला कमिटीका ६५ जना, सल्लाहकार परिषद्बाट ४० जना, जनवर्गीय संगठनबाट करिब ५० जना र प्रत्येक पालिकाबाट पदाधिकारीहरूसहित ३२ जनाले सहभागिता जनाउने छन् । सो बाहेक जिल्ला कमिटी बैठकले भुगोल र अल्प संख्यक प्रतिनिधित्वका लागि थप पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहेको जिल्ला संगठन अध्यक्ष अधिकारीले बताए । जिल्ला अधिवेशनका लागि अनिवार्य ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान राखेको नेकपा एमाले जिल्ला कमिटी लमजुङले जनाएको छ ।
नेकपा एमाले लमजुङले आगामी २३ गते आठौं जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । अधिवेशनको उद्घाटन सत्र सुन्दर बजारमा गर्ने तयारी गरेको एमाले लमजुङले बन्दसत्र काकार्यक्रम भने सदरमुकाम बेंसीसहरमा गर्ने भएको छ । अधिवेशनको उद्घाटन सत्रमा जिल्लाभरबाट १० हजार कार्यकर्ता सहभागी हुने एमालेको तयारी छ ।
अधिवेशनको तयारी स्वरुप नेकपा एमालेले तयारी पनि तीव्र बनाएको छ । विभिन्न उपसमिति गठन गरी जिम्मेबारी दिएर अधिवेशनको तयारी तीव्र बनाएको एमाले लमजुङले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । जिल्ला अधिवेशनका क्रममा नयाँ नेतृत्वका लागि एमाले जिल्ला नेताहरू आन्तरिक तयारीमा समेत लागि परेका छन् ।
यसअघि नेकपा एमाले लमजुङले जिल्लाका सवै वडा र स्थानीयतहहरूमा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरिसकेको छ । जिल्ला अधिवेशनको उद्घाटन भने नेकपा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम समेत तय भएको नेकपाएमाले लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्