सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी गरेको छ ।
आर्थिक सरोकार मञ्च सुदूरपश्चिमले शनिबार धनगढीमा आयोजना गरेको मौद्रिक तरलता र यसको प्रभावबारेको अन्तरक्रियामा बैंकका निर्देशक विनोदराज लेखकले सुदूरपश्चिममा तरलता अभाव नरहेको दावी गरे । यद्दपि, उनले पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक खर्ब नौं अर्ब २४ करोड ९७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन भएकोमा एक खर्ब २७ अर्ब २८ करोड ८५ लाख ८० हजार रुपैयाँ ऋण लगानी भएको तथ्यांक प्रस्तुत गरेका छन् । तथ्यांक अनुसार सुदूरपश्चिममा निक्षेत्र भन्दा १८ अर्ब तीन करोड ८८ लाख १० हजार रुपैयाँ बढी ऋण लगानी भएको छ ।
निर्देशक लेखकले सरकारी पुँजीगत खर्च हुन नसकेकाले मौद्रिक मुभमेन्ट हुन नसकेको बताउँदै सरकारले पुँजीगत खर्च बढाएमा बैंकमा तरलता अभाव नहुने बताए । सरकारको पुँजीगत खर्च भएपछि बजारमा रहेका निर्माण सामग्री बिक्री हुने र श्रमशक्तिले पनि आर्जन गर्ने गरेको र सो रकम बैंकमा आउने गरेको उनले बताए । उनले सरकारको पुँजीगत खर्च हुन नसकेको कारणले गर्दा पैसा जति सरकारी ढुकुटीमा रोकिएको बताए ।
निर्देशक लेखकले बैंकहरुले लाइसन्स लिँदा दिएको विजनेश प्लान कार्यान्वयन गर्न नसकेको कारणले पनि तरलता अभाव सिर्जना भएको बताए । “लाइसन्स लिनका लागि दिएको विजनेश प्लान कार्यान्वयन गर्न नसक्ने बैंकहरुले अहिले आफ्नो कार्यालयमा तरलता समेत व्यवस्थापन गर्न सकिरहेका छैनन्” उनले भने, “राष्ट्र बैंकले तरलता अभावको निकास दिन नसकेको भन्ने कुरा गलत हो । यो कुरा बैंकहरुले नै व्यवस्थापन गर्नुपर्छ । सुदूरपश्चिममा तरलता अभाव छदै छैन ।”
सुदूरपश्चिम विश्वविद्यालयका डीन प्राध्यापक डा. पदमराज जोशीले राष्ट्र बैंकले अर्थशास्त्रको नियम विपरित व्याजदर १० प्रतिशत तोक्दा तरलता अभाव सिर्जना भएको बताए । उनले नियम अनुसार निक्षेप बढी भएको बेला व्याजदर कम र कम भएको बेला व्याज दर बढी हुनुपर्ने बताए । उनले बैंकहरुले ठूला निक्षेपकर्तालाई प्राथमिकतामा राखेर साना निक्षेपकर्ताको मासलाई बेवास्ता गरेकोले पनि तरलता अभाव भएको बताए । “बैंकहरुले ठूला निक्षेपकर्तालाई मात्रै ध्यान दिए” उनले भने, “ठूलो निक्षेपकर्ता एकै विजनेश तलमाथि हुने वित्तिकै बैंकको निक्षेप ठूलो परिणाममा घट्छ । तर साना निक्षेपकर्ताको मास भए निक्षेपकर्ता आउँदै जाँदै गर्छन् । बैंकलाई तरलता अभाव हुँदैन ।”
कार्यक्रममा सहभागी सरोकारवालाले रेमिट्यान्स भित्रिने क्रम घट्नु, आयात बढ्नु र स्वदेशी उत्पादन नहुनुले गर्दा पनि तरलता अभाव भएको बताएका छन् । उनीहरुले आयातलाई प्रतिस्थापन गर्नका लागि स्वदेशी उत्पादन बढाउनुपर्ने बताएका छन् । उनीहरुले सरकारले तत्काल पुँजीगत खर्च बढाउने कार्ययोजना ल्याउनुपर्ने माग गरेका छन् ।
बैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले सुदूरपश्चिममा व्यापारमा मात्रै लगानी रहेको हुनाले आयात अत्यधिक रहेकाले तरलता सिर्जना भएको बताए । उनले हरेक वर्ष दोस्रो चौमासिकमा तरलता अभाव सिर्जना हुने गरेको बताउँदै औद्योगिक क्षेत्रमा लगानी बढाउनुपर्ने र तीनै तहका सरकारले पहिलो चौमासिकमै योजनालाई कार्यान्वयन गरेर तरलता अभाव हुन नदिनुपर्ने बताए ।
वनजीवन सहकारी संस्थाका उपाध्यक्ष डा. गोविन्दराज जोशीले बैंकमा निक्षेप कम हुन नदिनका लागि स्थानीय स्रोतको अधिकतम उपयोग गरी रोजगारी सिर्जना, उद्योग धन्दा सञ्चालन लगायतमा जोड दिनुपर्ने बताए ।