‘कठपुतली’ पहिलो सो «

‘कठपुतली’ पहिलो सो

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कठपुतली’ ले दर्शकको राम्रो साथ पाएको छ । प्रदर्शनको पहिलो दिन राजधानीका मल्टीप्लेक्सहरूमा फिल्मले ८० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको वितरक कम्पनीले जानकारी दिएको छ । शुक्रबारको ओपनिङ सुखद भएपछि काठमाडौंका मल्टीप्लेक्सहरूले शनिबारका लागि फिल्मको शोमा भारी वृद्धि गरेका छन् ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि १४ शो दिएको थियो । शुक्रवारको व्यापार राम्रो भएपछि शनिबारका लागि २२ शो उपलब्ध गराएको छ । राजधानीका अन्य मेजर मल्टीप्लेक्सहरूले पनि शनिबारलाई शो बढाएका छन् । सिंगल थिएटरमा पनि फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद रहेको जानकारी प्राप्त छ ।
शुक्रवार राजधानीका विभिन्न हलमा पुग्दा फिल्म हेरेका दर्शकहरूले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । पहिलो पटक स्तरीय नेपाली हरर फिल्म हेर्न पाएको बताउँदै दर्शकहरूले कलाकारहरूको अभिनय, कथावस्तु, निर्देशन, छायांकन, ब्याकग्राउन्ड स्कोर लगायतको प्रशंसा गरेका थिए । हलमा विशेषगरी तन्नेरी पुस्ताहरूको उपस्थिति बाक्लो देखिन्थ्यो ।
फिल्मका निर्माता पृथ्वी रानामगरले चिसोको प्रवाह नगरी फिल्म हेर्न विहानैदेखि हलमा दर्शकको उत्साहजनक उपस्थिति भएको देख्दा खुसी लागेको बताए । उनले भने, ‘फिल्म राम्रो बनेको छ भने दर्शकको साथ पाइन्छ भन्नेमा म विश्वस्त थिएँ । ‘कठपुतली’ ले यो कुरा प्रमाणित गरेको छ । माउथ पब्लिसिटी अत्यन्त बलियो भएकाले शनिवारबाट दर्शकको चाप झन् बढ्नेमा म विश्वस्त छु ।’
भीमसेन थापाले निर्देशन गरेको फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको छ । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूम खिचेको फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । सम्पदा मल्लले लेखेको फिल्मले राजाहरूको शासन कालको कथा भन्छ । फिल्म हरर जनरामा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्