निर्माण नसकिँदै तटबन्ध भत्किन थाल्यो «

निर्माण नसकिँदै तटबन्ध भत्किन थाल्यो

राप्तीनदीको कटान र बाढीबाट बर्सेनि पीडित सो क्षेत्रका जनतालाई जोगाउन राप्तीनदीमा निर्माण भइरहेको तटबन्धको काम नसकिँदै भत्किन सुरु भएको छ ।
राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडिया र गेदवा गाउँलगायतका क्षेत्रलाई डुबान र बाढीबाट जोगाउन ती गाउँनजिकै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धको काम पूरा नहुँदै भत्किन थालेपछि स्थानीयले ठेकेदारप्रति आक्रोश ब्यक्त गर्दै कारबाहीको माग गरेका छन् ।
राप्तीनदीको बाढीबाट जोगाउन नदी छेउमा तयार भइरहेको तटबन्ध निर्माण पूरा नहुँदै भत्किएकोमा त्यस्तो गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाही गर्नु पर्ने खल्लाझगडिया गाउँका स्थानीय जीवन मौर्यले बताए । गाउँलाई जोगाउन तयार भइरहेको तटबन्ध निर्माणकार्य आधा नसकिँदै भत्किनुले यसबाट यो क्षेत्रका जनता झनै असुरक्षित भएको मौर्यले बताए ।
तटबन्धको पिँधतिरको भागमा भरेका ढुंगा मजबुतिका साथ नभरिएकाले नदीको बहाबसँगै तटबन्धको धेरै भाग बगेको छ । पिँधमा कच्चा ढुंगाको प्रयोग गरिएको समेत पाइएको छ । काम पूरा नहुँदै तटबन्ध बग्न थालेपछि स्थानीयले सो बारेमा छानबिन गरेर ठेकेदार र सरकारी कर्मचारी दुवैलाई कारबाही गर्न मागसमेत गरेका छन् ।
गेदवा गाउँका स्थानीय जगतराम काँदुले यस्तो गुणस्तरहीन तटबन्धले गाउँ र यस क्षेत्रका खेतबारीलाई डुबान र बाढीबाट जोगाउला भन्ने विश्वास गर्न नसकिने बताए । तटबन्ध निर्माणमा जनताको तटबन्ध कार्यक्रमले राम्रो रकम खर्च गरे पनि ठेकेदारको लापरबाही र बेवास्ताका कारण गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ । ठेकेदारको कामलाई अनुगमन गर्ने निकायले समेत अनुगमनमा बेवास्ता गरेकाले यस्तो गुणस्तरहीन काम भएको खल्ला झगडीयाका पुरुषोत्तम दीक्षितले बताए ।
गतवर्ष पूरा गर्नुपर्ने सो तटबन्ध निर्माणको काम समयमा रकम नआउँदा आधामात्रै भएको थियो । त्यो पनि भत्किन थालेपछि स्थानीयको चिन्ता र चासो बढेको हो । सो तटबन्ध निर्माणका लागि आयोजनाले ३० करोड रुपैयाँ माग गरे पनि सरकारले १० करोडमात्रै निकासी गर्दा काम पूरा हुन नसकेको सो आयोजनाले जनाएको छ ।
तटबन्धको काम समयमै पूरा नहुँदा गत साउनको अन्तिममा आएको बाढीले तटबन्धको केही भाग क्षति भएको थियो भने हाल आएर आफैं तटबन्ध भत्किन थालेको छ । आयोजनाले रकम नआएको जनाउँदै भुक्तानी रोकेपछि तटबन्ध निर्माणको जिम्मेवारी लिएको कुमार श्रेष्ठ निर्माण सेवाले जेठ महिनादेखि नै तटबन्धको काम रोकेको छ । आयोजनाले रकम नदिएपछि बाध्य भएर काम रोक्नु परेको निर्माण ठेकेदार नविन श्रेष्ठले बताएका छन् । रकम अभावले तटबन्धमा प्रयोग हुने सामग्रीसमेत खरिद गर्न नसकेपछि काम रोक्नु परेको ठेकेदार श्रेष्ठले बताए ।
जलउत्पन्न प्रकोप नियन्त्रण विभागअन्तर्गतको जनताको तटबन्ध कार्यक्रमले १७ करोडको लागतमा सो तटबन्ध निर्माणको काम सुरु गरेको थियो । काम सुरु गर्न निर्माण सेवालाई ३ करोड भुक्तानी दिइए पनि अरु रकम नदिंदा काम अगाडि नबढाइएको आयोजनाले जनाएको छ ।
राप्तीनदी छेउमा ३५ मिटर चौडा र ९ मिटर उचाइसहितको जाली र ढुंगाको तटबन्ध निर्माणको काम गत मंसिरमा सुरु गरिए पनि हालसम्म ५० प्रतिशत पनि काम हुन नसक्दा स्थानीय चिन्तित छन् ।

 

प्रतिक्रिया दिनुहोस्