उड्डयन प्राधिकरणको आम्दानी घट्दो «

उड्डयन प्राधिकरणको आम्दानी घट्दो


कोभिड–१९ कारण उड्डयन क्षेत्रमा पारेको असरका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानीमा कमी आएको छ ।
आर्थिक वर्ष २०७६-०७७ को तुलनामा २०७७-०७८ मा प्राधिकरणको आम्दानी ६७ प्रतिशतले घटेको छ । आव २०७६-०७७ मा ६ अर्ब ३७ करोड ४९ लाख आम्दानी गरेको प्राधिकरणले २०७७-०७८ मा दुई अर्ब ९५ करोड ७३ लाख रुपैयाँमात्र आम्दानी गर्न सकेको छ । आव २०७५-०७६ मा भने प्राधिरणले ९ अर्ब १ करोड १८ लाख कमाएको थियो ।
शुक्रबार प्राधिकरणको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले कोरोना महामारीका कारण उडान बन्द हुँदा प्राधिकरणको आम्दानी घटेको बताए । उनले भने, “कोभिड–१९ का कारण प्राधिकरणको आयमा कमी आएको छ । अबका दिनमा भने विमानस्थलको आयमा सुधार हुने अपेक्षा गरेका छौं ।” प्राधिकरणले आर्थिक वर्ष २०७७-०७८ का लागि विमानस्थल विकास शुल्कबाहेक दुई अर्ब सात करोड ३२ लाख आम्दानी प्रक्षेपण गरेकोमा ७ करोड ४५ लाख रुपैयाँ अर्थात् २७.७१ प्रतिशतले बढ्न गई दुई अर्ब ६४ करोड ७७ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ ।
त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ ६० करोड २८ लाख रुपैयाँ प्रक्षेपण गरिएकोमा २९ करोड ३२ लाख अर्थात् ४८.६४ प्रतिशतले घट्न गई ३० करोड ९६ लाख रुपैयाँ आम्दानी भएको महानिर्देशक क्षेत्रीले बताए ।
चालू आर्थिक वर्ष २०७८-०७९ का लागि पुँजीगत खर्चतर्फ ३२ अर्ब तीन करोड ५५ लाख र कार्यसञ्चालनतर्फ चार अर्ब १० करोड ८४ लाख गरी जम्मा ३६ अर्ब १४ करोड ३९ लाख छुट्याइएको छ । चालू आर्थिक वर्ष २०७८-०७९ को स्रोततर्फ नियमित आम्दानी पाँच अर्ब ५९ करोड २९ लाख रुपैयाँ विमानस्थल विकास शुल्क ७९ करोड रुपैयाँ एवं ऋण, सेयर तथा अनुदानबाट २१ अर्ब ३४ करोड ३५ लाख गरी जम्मा २७ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ हुने प्राधिकरणको अनुमान छ ।
े चालू अर्थिक वर्षका लागि ४३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पुंजीगत खर्चमा ३८ अर्ब र सञ्चालन खर्चका लागि करिब ४ अर्ब विनियोजन गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष प्राधिकरणले कुल ४१ अर्ब ११ करोड तीन लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति ९८.७६ सम्पन्न भएको र यही जनवरीभित्र क्यालिब्रेसन फ्लाइट गरेर वैशाखदेखि व्यावसायिक उडान सुरु गर्ने योजना रहेको महाप्रबन्धक क्षेत्रीले बताए । अर्काे निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ८९ प्रतिशत कार्य सम्पन्न भएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्