सहकारीमार्फत चामल बिक्री हुँदा सहज «

सहकारीमार्फत चामल बिक्री हुँदा सहज


खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुम पश्चिमले जिल्लामा सहकारीमार्फत ६ वटै पालिकामा खाद्यान्न बिक्री वितरणको व्यवस्था गरेपछि स्थानीयलाई सहज भएको छ ।
यसअघि कार्यालय परिसरबाट मात्र चामल बिक्रीवितरण भइरहेकोमा हाल गाउँ गाउँका सहकारीमार्फत चामल बिक्री वितरण हुन थालेपछि सदरमुकाम बाहिरका नागरिकलाई सहजता भएको हो । रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाले तीन महिनाको अवधिमा तीनसय क्विन्टल चामल बिक्री गरेको छ । खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्य प्रणालीमा चामल उपलब्ध गराएपछि १ असोदेखि मंसिर अन्तिमसम्म तीन सय क्विन्टल चामल बिक्री गरेको हो ।
शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार प्रतिक्विन्टल चारहजार ६ सयसम्म मूल्य पर्ने चामल सर्वसाधारणका लागि सहुलियत मूल्यमा प्रतिक्विन्टल पाँचसय छुटमा बिक्री गरिएको छ । कम्पनीले जिरा मसिना, अरुवा सोना मन्सुलीलगायत चार प्रकारको चामल सर्वसाधारणलाई बिक्री गरेको बताएको छ । रुकुम पश्चिम शाखाको लागि तोकिएर आएको कोटा सकिएसँगै खाद्य व्यवस्था कम्पनिले पुस महिना सुरु भएसँगै साविककै मूल्यमा चामल बिक्री भइरहेको जनाएको छ ।
त्यस्तै खाद्य व्यवस्था कम्पनीले जिल्लाका सहकारीमार्फत ६ वटै पालिकामा खाद्यान्न बिक्री वितरणको व्यवस्थासमेत गर्दै आएको छ ।
यसअघि कार्यालयबाट मात्र चामल बिक्रीवितरण भइरहेकोमा हाल गाउँगाउँका सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल बिक्री हुन थालेपछि स्थानीयलाई सहज भएको छ । कम्पनीमा हाल पाँच सय क्विन्टल चामल मौज्दात रहेको छ । मागको आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रदेश तथा केन्द्रीय कार्यालयबाट चामल ढुवानी हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्