‘नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर’ «

‘नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर’


नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
दुवै देशका राज्यले सीमा क्षेत्रका जनस्तरको सामाजिक र सांस्कृतिक सम्बन्धलाई बुझ्न नसक्दा दुवै देशका सीमा क्षेत्रका जनस्तरको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल भारत सहयोग मञ्चको २५औं वर्ष पूरा भएको रजत उत्सवको अवसर तथा भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अमृतोत्सवको अवसरमा वीरगन्जमा आयोजना गरिएको कार्यक्रममा सरोकारवालाले दुवै देशका राज्य सत्ताले सीमा क्षेत्रमा नागरिकको सामाजिक, शिक्षा र स्वास्थ्यको विकासमा ध्यान नदिएको बताएका छन् ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री महिन्द्र राय यादवले दुवै देशको सीमा क्षेत्रमा केही समस्या रहेको र यसलाई दुवै देश मिलेर नै समाधान गर्नुपर्ने बताए । नेपाल र भारतका सीमावर्ती क्षेत्रमा रहेका नागरिकबीच सदयौंदेखि रहँदै आएको सामाजिक र सांस्कृति सम्बन्धलाई कुनै पनि शक्तिले तोड्न नसक्ने बताउँदै उनले यसलाई थप मजबुत बनाउन राज्यस्तरबाट पनि भूमिका खेल्नुपर्ने बताए । भारतीय लोकसभाका सांसद डा. सञ्जय जयसवालले प्राकृतिक सम्पदाको हिसाबले नेपाल विश्वमै सुन्दर मुलुक रहेकाले यहाँको पर्यटन विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए ।
पर्सा क्षेत्र नम्बर ४ का सांसद लक्ष्मणलाल कर्णले नेपाल र भारतको सीमा क्षेत्रका जनताको सामाजिक सम्बन्धलाई प्रशासनिक तहबाट नै बिगार्ने काम गरेको आरोप लगाए ।
वरिष्ठ पत्रकार चन्द्र किशोरले नेपालको उन्नति विना भारतको पनि उन्नति असम्भव रहेकाले भारतले पनि नेपालको विकासको बारेमा चिन्ता लिनुपर्नेमा जोड दिए । उनले दिल्ली र काठमाडौंको सम्बन्ध राम्रो भएर मात्रै दुवै देशको विकास नहुने बताउँदै सीमा क्षेत्रमा वर्षौदेखि विद्यमान दुवैतर्फको समस्या मिलेर हल गर्नुपर्ने बताए । उनले जनस्तरको सम्बन्ध सुधारका लागि आन्तरिक रुपमै बलियो बनाउनुपर्नेमा जोड दिए । सांगठनिक अपराधको जोखिममा दुवै देश रहेकाले सीमा क्षेत्रमा नागरिकमैत्री सीमा बनाउन दुवैतर्फबाट भूमिका खेल्नुपर्ने बताए ।
नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैदले नेपाल र भारतको विकासका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको बताए । उनले नेपाल र भारत जोड्ने एशियन हाइवेको विकासका लागि भारत सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले भारततर्फको विकासले नेपाललाई फाइदा हुने र नेपालतर्फको विकासलाई भारतलाई पनि लाभ हुनेमा द्विपक्षीय विकासको मोडेलमा जानुपर्ने बताए । नेपाल भारत सहयोग मञ्चका पूर्व अध्यक्ष एवं उद्योगपति बाबुलाल चाचानले नेपाल र भारतको सामाजिक, सास्ंकृतिक र व्यापारिक सम्बन्धलाई सुमधुर बनाउनकै लागि मञ्च गठन गरिएको र यसले दुवै देशको बहुआयामिक सम्बन्धको विषयमा समय समयमा आवाजहरु उठाउँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्