Logo

बुढावाडामा जडिबुटी संकलन केन्द्र बन्दै


जुम्लाको आर्थिक आम्दानीको स्रोतमध्ये जडिबुटी पनि एक हो । यहाँका पाटनमा बहुमूल्य जडिबुटी, यार्सागुम्बा, गुच्ची च्याउ, वनलसुन, जटासमी, चिराइतो जस्ता थुप्रै जडिबुटी पाइन्छन् । तर संकलन केन्द्रको अभावले घामपानीमा राख्दा जडिबुटी कुहिने खेर जाने समस्या छ । जडिबुटीको भण्डारका रूपमा चिनिने तातोपानी गाउँपालिका–८ स्थित बुढावाडामा जडिबुटी संकलन केन्द्र निर्माण हुन थालेपछि त्यहाँका स्थानीय खुसी भएका छन् ।
संकलन गरेको जडिबुटी राख्ने एक सुरक्षित घर निर्माण हुन थालेपछि टिपेको जडिबुटी घाम पानी कुहिने खेर जाने समस्याबाट मुक्ति पाइने भन्दै भेरीखोला क्षेत्रका स्थानीय खुसी भएका हुन् । जडिबुटीसहित भेडाबाख्राका हिसाबले उर्भर भूमि मानिने भेरीखोला क्षेत्रको बुढावाडामा पेस नेपालले जडिबुटी संकलन केन्द्र निर्माण थालेको हो ।
सिञ्चित धान फल्ने खेतीयोग्य जमीन कमै मात्रमा भएकोले भेरीखोला क्षेत्रमा पाखो सिँचाइ नहुने जमिन धेरै छ । यो क्षेत्रमा आलु, मकै, कोदो, जौ, गहुँ, फापर, सिमिखेती बढी हुने गर्दछ । तिला गाउँपालिका–४ त्रिवेणीमा पक्की पुल निर्माण भएर भेरीखोला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि यहाँका अधिकांश गाउँबस्ती गाडी पुग्न थालेका छन् ।
अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाको १९ लाख २२ हजार लागतमा बुढाबाडामा जडिबुटी संकलन केन्द्र निर्माण गर्न थालिएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । संकलन केन्द्र निर्माणका लागि दक्ष कामदारको दुई लाख ८६ हजार ६४८ रुपैयाँ, अदक्ष कामदारको ज्याला १० लाख ६४ हजार २९५ रुपैयाँ रहेको छ भने व्यवस्थापनमा ४७ हजार ५० रुपैयाँ र निर्माण सामग्रीका लागि चार लाख १२ हजार खर्च हुनेछ ।
निर्माणाधीन जडिबुटी संकलन केन्द्र छिट्टै सम्पन्न गरी प्रयोगमा ल्याउने परियोजनाका अनुगमन तथा मूल्यांकन सहायक ललित डाँगीले बताए । उनका अनुसार भेरीखोला क्षेत्रको जडिबुटीलाई संकलन गरी स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य राखिएको छ । जडिबुटी संकलन गरी गाडीमा एकमुष्ट बजारमा लिने र किसानले घरमै जडिबुटीबाट मनग्य कमाइ गर्ने उनको भनाइ छ । संकलन केन्द्रमा यसमा केही धुपीजस्ता जडिबुटी प्रशोधन पनि गर्ने उपकरण जडान गरिने भएको छ ।
यस्तै पेस नेपालले तातोपानी गाउँपालिका–७ कयारकोटमा आलु भण्डारण (रस्टिक स्टोर) भवन पनि निर्माण गरेको छ । भेरीखोला क्षेत्रमा आलु उत्पादन पनि राम्रो हुने र संकलन केन्द्र नहुँदा कुहिने समस्या भएकाले किसानको राहतका लागि आलु संकलन केन्द्र बनाइएको हो । जडिबुटी संकलन केन्द्र सञ्चालनपछि दुर्गम बुढाबाडाका स्थानीयले जडिबुटीबाट राम्रो लाभ लिने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । सडक पुगिसकेकाले संकलन केन्द्रबाट सिधै गाडीले सबै जडिबुटी बजारमा लिने र घरमै जडिबुटीको राम्रो मूल्य पाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्