बाँके र बर्दियामा पाँच रणनीतिक सडक निर्माण हुँदै

बाँके र बर्दियामा पाँचवटा निर्वाचन क्षेत्र रणनीतिक सडक बन्ने भएका छन् । तीमध्ये दुईवटा सडकको टेण्डर भएर सम्झौताको तयारीमा छन् भने बाँकी तीनवटा सडक प्रकृयामा छन् । केपी ओली नेतृत्वको सरकारले गत वर्ष शिलान्यास गरेका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने बहुवर्षीय सडकको बल्ल निर्माण प्रकृया थालिएको हो ।
निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअन्तर्गत बाँके र बर्दियामा १ अर्ब ५५ करोड बजेटमा ती बहुवर्षीय सडक निर्माण हुने भएका हुन् । आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोडने रणनीतिक सडक निर्माण गर्ने योजनाबमोजिम निर्माण प्रकृया थालिएको सडक डिभिजन नेपालगन्जले जनाएको छ ।
योजनाअन्तर्गत बाँके क्षेत्र नं. १ को अगैयादेखि नरैनापुर जोड्ने १६ किलोमिटर सडकखण्डको १० किलोमिटर पक्कि सडक निर्माण हुनेछ । त्यस्तै क्षेत्र नं. २ मा डुडुवादेखि राँझा एयरपोर्ट जोड्ने १० किलोमिटर सडक र क्षेत्र नं. ३ को गणेशमानचोक–गौघाट–परसपुर १० किलोमिटर सडक निर्माण हुन थालेका हुन् । यी तीनवटै सडक खण्डका लागि २५÷२५ करोड बजेट सीमा तोकिएको छ । त्यसैगरी बर्दियाको क्षेत्र नं. १ मा पञ्चबजार–फुटाहा–जमुनी सडक र क्षेत्र नम्बर २ मा घोरपिट्टा–बनियाभार सडक निर्माण हुने भएका छन् । यी दुवै सडकका लागि ४०÷४० करोड बजेट सीमा रहेको छ ।
कार्यालयका अनुसार पाँचवटा सडकमध्ये बाँके क्षेत्र नं. ३ को गणेशमान चोक–गौघाट–परसपुर सडक र बर्दिया २ को घोरपिट्टा–बनियाभार सडकको टेण्डर भएर सम्झौताको तयारीमा छन् । सम्झौता हुन बाँकी रहेको बाँके क्षेत्र नं. ३ को सडक २८ महिना र बर्दिया क्षेत्र नं. २ को सडक ३३ महिनाभित्र बनाइसक्ने लक्ष्य राखिएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए । उक्त दुवै सडक खण्ड नालीसहित १२ मिटरको बन्नेछन् । जसमा प्रिमिक्स कालोपत्रे सात मिटरको हुनेछ । “बाँकी ३ वटा सडकको डीपीआर भएर स्टिमेटको प्रकृयामा रहेका छन्,” उनले भने, “स्टिमेट भइसकेपछि ती सडकको पनि टेण्डर प्रकृया सुरु हुनेछ ।”
निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण तथा सञ्चालन मापदण्ड २०७७ अनुसार बढीमा तीन वर्षभित्र सम्पन्न हुनेगरी एउटा निर्वाचन क्षेत्रमात्रै भएको जिल्लामा प्रतियोजना ६० करोड, दुई वटा क्षेत्र भएको जिल्लामा ४० करोड र तीन वटा क्षेत्र भएका जिल्लामा प्रतियोजना २५ करोडको लागतमा सडक निर्माण हुनेछन् । सोही मापदण्डअनुसार बाँकेका तीनवटा सडकका लागि २५÷२५ करोड र बर्दियाका २ वटा सडकमा ४०÷४० करोडका रणनैतिक सडक निर्माण हुने कार्यालयको भनाइ छ ।
सडक निर्माण प्रकृया थालेपछि स्थानीय खुसी भएका छन् । उनीहरूले समयमै गुणस्तरीय ढंगले निर्माणकार्य सम्पन्न हुनुपर्ने माग गरेका छन् । जानकी गाउँपालिका–३ का स्थानीय मोहन खटिकले आफ्नो घर अगाडिको बाटो पक्कि हुने हल्ला सुनेपछि खुसी लागेको बताए । “घर अगाडि सधै धुँवा धुलो हुने गर्दथ्यो, पक्की सडक बन्ने कुरा सुन्दा खुसी लागेको छ,” उनले भने, “सडक निर्माण कार्य समयमै गुणस्तरीय हुनुपर्दछ ।”