पोखरा सडक महोत्सव सुरू «

पोखरा सडक महोत्सव सुरू

गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराको फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
गृहमन्त्री खाँणले बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै फेवातालसहितका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । रेष्टुरेण्ट एण्ड बार एसोसिएन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३औं सडक महोत्सव सुरु भएको छ ।
गृहमन्त्री खाँणले लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा सरकार रहेको भन्दै देशका विभिन्न भू–भागहरुमा २४ घण्टा नै रेष्टुरेण्ट खुलोस् भन्ने चाहना रहेको बताए । “पोखराको सुन्दरता र पोखराको फेवा लगायतका तालहरुको संरक्षणमा सरकार प्रतिवद्ध छ” उनले भने, “देशका विभिन्न भू–भागहरुमा २४ घण्टा नै रेष्टुरेण्ट खुलोस् । त्यसका लागि मलाई स्थानीय सरकारको सहयोग हुन्छ ।”
१७ पुससम्म सञ्चालन हुने महोत्सव कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै आयोजना गरिएको बताइएको छ । महोत्सवमा २५ भन्दा बढी बाजागाजासहित सांस्कृतिक समूहको सहभागिता रहेको छ । त्यस्तै महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्