लमजुङमा पहिलोपटक गोरु जुधाई प्रतियोगिता «

लमजुङमा पहिलोपटक गोरु जुधाई प्रतियोगिता

लमजुङको सुन्दरबजारमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको छ । लमजुङ फिजिकल ट्रेनिङ सेन्टर र जनशक्ति युवा क्लबको संयुक्त आयोजनामा सुन्दरबजार नगरपालिका–६, स्थित खत्रेठाँटीमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको हो ।
लमजुङ र तनहुँका गरी १२ वटा गोरु सहभागी गराइएको सो प्रतियोगितामा तनहुको भानुनगरपालिका–१०, दूधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएको गोरु धनीले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी सुन्दरबजार–२, परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो भएको छ । दोस्रो भएको गोरु धनीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
एक औपचारिक कार्यक्रमकाबीच सुन्दरबजार नगरप्रमुख जनकराज मिश्रले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीको विशेष उपस्थिति थियो ।
पछिल्लो समय कृषिमा आधुनिक उपकरणहरूको प्रयोग बढ्दै गएको र गोरु पाल्ने परम्परा हराउँदै गएकोले गोरु पाल्न उत्प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । परम्परागत कृषिप्रति कृषकहरूलाई आकर्षण गर्न र मनोरञ्जनात्मक खेलको रुपमागोरु जुधाउने प्रतियोगिता आयोजना गरेको आयोजक समितिका अध्यक्ष विष्णु खड्काले बताए ।
मेलामामनोरञ्जन प्रदानगर्ने उद्देश्यले आयोजना गरिएको गोरु जुधाई रोचक भएको स्थानीयले बताए । गोरु जुधाउने प्रतियोगिता आगामी वर्ष अझ व्यवस्थित रुपमा गरिने आयोजकले जनाएको छ । गोरु जुधाई प्रतियोगिता हेर्न सुन्दरबजारसहित तनहुँको भानु नगरपालिका अन्तर्गत विभिन्न स्थानबाट सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
युरोपीयन मुलुक स्पेनमा हुने चर्चित साँढे जुधाई प्रतियोगिताले विश्वकै ध्यानखिच्ने गरेको छ । जुन प्रतियोगिता हेर्न विश्वभरिकै मानिसहरू लाखौं खर्च गर्न तयार हुन्छन् । स्पेनमा सहित फ्रान्स, पोर्चुगल, मेक्सिको, इक्वेडरलगायत देशमा पनि बुलफाइटबाट मनोरन्जन लिने चलन छ । तर, त्यहाँगोरु–गोरुबीच नभई मान्छे र गोरुबीच भिडन्त हुन्छ । स्वरुप त्यस्तै नभए पनि त्यहाँकै साँढे जुधाईको झल्को दिने गरी नेपालको नुवाकोट जिल्लामा पनि गोरु जुधाई प्रतियोगिताको आयोजना हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्