राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरुपयोग गरे

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरूले खेलाडीहरूलाई दुरुपयोग गर्नेगरेको बताए ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरूले बुथ कब्जा गर्न खेलाडीहरूलाई दुरुपयोग गरेको भन्दै अब त्यसो हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अव खेलाडीहरूलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनका रूपमा प्रयोग हुन नदिने बताए । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरूलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताए । उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ–संस्थाहरूलाई आह्वान पनि गरे । उनले भने, ‘हामी त यो तरिकाले बिग्रियौं कि देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौं । आफ्नो देशको मौलिकता बिर्सन्छौं । म राजावादी भएको होइन । पञ्चायती व्यवस्था जोगाउन खेलाडीहरूको दुरुपयोग गरे पनि । हिजो पञ्चायतका कालमा व्यवस्थाको रक्षाका निम्ति खेलाडीहरूलाई प्रयोग गरियो भने बहुदल कालमा भोट मेसिनको रुपमा प्रयोग गर्न खोजियो । अब गणतन्त्रमा चाहिँ खेल कुनै दलको भोट प्राप्त गर्ने भोटिङ मेसिन हुँदैन । राष्ट्रको, राष्ट्रियताको र राष्ट्रिय गौरवको, राष्ट्रिय आत्माविश्वासको र राष्ट्र निर्माणको निम्ति यो खेल जगतलाई प्रयोग गर्नुपर्छ । खेल क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्सी कारखानामा पनि सहयोग गर्नुपर्ने हुन्छ ।’
त्यस अवसरमा बास्कोटाले खेलाडीहरूको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गरे । उनले खेलाडीहरूलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरूले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।