ट्रम्प नेतृत्वको एक वर्ष

सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनी सम्भवतः सबैभन्दा धेरै विवादित बन्न पुगे ।
अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुवीकरणलाई उनी राष्ट्रपति बनेको एक वर्ष पुग्दा पनि साम्य पार्न सकेका छैनन् । अर्थात् अमेरिकीहरू अझै पनि राष्ट्रपति ट्रम्पलाई राष्ट्रप्रमुखमा निर्विवाद रूपमा मान्न आनाकानी गर्दैछन् ।
कर कटौती विधेयकका विषयमा वर्तमान राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा हस्ताक्षर गरी कानुनको कार्यान्वयनका लागि पठाइएको छ । यसलाई लिएर उनको प्रशंसा तथा आलोचना दुवै बराबर देखिएको छ । करसम्बन्धी कानुन ठूला व्यापारिक प्रतिष्ठान तथा धनीलाई उपहारका रूपमा रहेको बताइन्छ । यसले औसत अमेरिकीलाई भने थोरै मात्र प्रभाव पार्ने अनुमान गरिएको छ ।
अमेरिकी सहर सन् फ्रान्सिस्कोस्थित एक बैंकमा कार्यरत मुन ट्रोउङले भने, “करसुधारसम्बन्धी कानुनले वित्तीय संस्थालाई सहयोग पुगेको छ । कानुन कार्यान्वयनमा आएसँगै बैंकले म र मजस्ता कामदारलाई थप १ हजार अमेरिकी डलर बोनस दिएको छ ।” कानुनले अमेरिकी अर्थतन्त्रलाई बलियो बनाउनेमा शंका छैन ।
कर सुधार नीतिअन्तर्गत कर्पोरेट करदरलाई ३५ प्रतिशतबाट घटाएर सन् २०१८ देखि २१ प्रतिशतमा झारिएको छ ।
ट्रम्पको नीतिले अमेरिकी धितोपत्र बजारमा तीव्र वृद्धि भएको र बेरोजगार दर घटेर गएको न्युयोर्कका वित्तीय परामर्शदाता सान्डन के साफियरले बताए । ट्रम्पको कार्यकालमा अमेरिकीबीच अर्थतन्त्र बलियो बनेर जाने आशा पलाएको उनी बताउँछन् ।
ट्रम्पका सहयोगीले उनले निर्वाचनका समय गरेका प्रतिबद्धताप्रति राष्ट्रपति सचेत रहेको बताएका छन् ।