चिया बेचेरै सन्तानलाई उच्च शिक्षा
![](https://www.karobardaily.com/wp-content/uploads/2019/03/1551842602.jpg)
रुपन्देही-व्यापार–व्यवसाय गरेर घरजग्गा जोड्ने, बैंकमा पैसा राख्ने, सवारीसाधन खरिद गर्ने तथा विलासी जीवन बिताउने प्रशस्तै हुन्छन् । तर, रुपन्देहीको मायादेवी गाउँपालिकाका ४७ वर्षीय सुखराम प्रजापतिले भने चिया बेचेर धनसम्पत्ति जोडेनन्, बरु पैसा बचाउँदै छोराहरूलाई इन्जिनियरिङ र चार्टर्ड एकाउन्टेन्ट (सीए) सम्म पढाएका छन् ।
भैरहवा–लुम्बिनी सडक खण्डको बनगाई चोक नपुग्दै सडक छेउमा उनले चिया बनाएर बेच्न लागेको २५ वर्ष भएको छ । एक मोहर (५० पैसा)बाट एक गिलास चिया बेच्न सुरु गरेका सुखराम चिया बेचेरै खुसी छन् । “अहिले चियाको मूल्य १५ रुपैयाँ पुगेको छ । चियाको कमाइबाटै जेठो छोराले गोरखपुरको बुद्ध इन्जिनियरिङ कलेजबाट पढाइ पूरा ग¥यो । माइलो छोरा प्रदीप प्रजापति अहिले दिल्लीमा सीए पढ्दैछ,” सुखरामले भने ।
कान्छा छोरा भने भैरहवामै प्लस टुमा अध्ययनरत छन् । छोरी सानै छन् । तीन कक्षाका पढ्छिन् । उनी पनि पढाइमा अब्बल छिन् ।
“मैले चिया बेचेको पैसा जम्मा गरेर छोराहरूलाई राम्रो शिक्षा दिएँ । चिया बेचेर पनि सकिँदो रहेछ । पेशा सानो–ठूलो हुँदैन । त्यसैले कसैले पनि घमण्ड गर्नु हुँदैन,” प्रजापति भन्छन्, “म अहिले धेरै खुसी छु । मेहनत गरेअनुसार प्रतिफल पाएको छु । मासिक २०–२५ हजारको लागि विदेश श्रम गर्न जानु बेकार छ, त्यति रकम त आफ्नै देशमा कमाउन सकिन्छ ।”
एक मोहरको चियासँगै एक सुकाको गोलो पाउरोटी र एक सुकामै समोसा बेचेको स्मरण गर्दै उनले भने, “यही अगाडि सानो खरको झोपडीबाट व्यवसाय सुरु गरेको हो । यसैले सबै थोक दियो । अहिले दैनिक कम्तिमा पनि ६० लिटर दूधको चिया बनाउने गरेको छु । चिया बनाएर खुवाउँदा आनन्द लाग्छ । चियाले धेरै खुसी दियो, यो व्यवसाय छोड्न मन छैन । तर, छोराहरूले चाहिँ पेशा परिवर्तन गर्ने हो कि भन्ने सुझाव दिएका छन् ।”
अहिले उनको चिया पसल रहेको ठाउँ गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाको कार्यालयले अधिग्रहण गरिसकेको छ । “अब कहिले भत्कन्छ, थाहा छैन । त्यसैले पनि छोराहरूले पेशा परिवर्तन गर्न सुझाव दिएका छन् तर मलाई यो पेशा छोड्न भने मन छैन,” प्रजापतिले भने, “चियाले मलाई खुसीमात्र होइन, धेरै साथीसंगी, मित्रता पनि दियो ।”
अहिले पनि भैरहवा–लुम्बिनी, भैरहवा–मर्चवार गर्नेहरू आफ्नो सवारीसाधन रोकेर चिया खान आउने उनले जनाए । सर्वसाधारण, कर्मचारी, नेता कार्यकर्ता, पत्रकार, उद्योगी–व्यवसायीसमेत चिया खान आउने गरेको उनले सुनाए । “चियाको मिठासले गर्दा धेरै आउनुहुन्छ, त्यसैले गुणस्तर खस्काउनु पनि भएन । अहिले चिया पसल भएको घर अधिग्रहणमा परिसकेको छ । भविष्यमा के गर्ने भन्ने अझै निधो छैन,” उनले भने, “यो घर नभत्काउँदासम्म चिया व्यवसायमा नै रहन्छु । त्यसपछि के गर्ने थाहा छैन ।”