Logo

उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका हुन् । उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको दाबी गरे । अध्यक्ष नेपालले दलाल पुँजीको दबदबा बढीरहेकाले देशमा मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताए । उनले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताए । उनले पार्टीले पनि आफ्ना कार्यकर्ताहरूले कसरी काम गरिहरेका छन् भनेर अनुगमन गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘उद्यमी युवाहरू देखा पर्न थालेका छन्, चाहे महको पालन गरेर होस्, माछा पालन, तरकारी खेती, फलफूल खेती, वा अनेक उत्पादनको कामहरूमा मासुको उत्पादनमा होस् वा अन्यमा युवा उद्यमीहरू देखा पर्न थालेका छन्, यसलाई राज्यले प्रोत्साहन दिनुपर्छ । राज्यको नीतिमा सुधार गर्नुपर्ने आवश्यक्ता छ । उद्यमशीलताको विकास गर्नुपर्ने छ । र उद्यमशीलताको विकास नगरेको हुनाले, उतपदनको क्षमता नबढाएको हुनाले मानिसहरूमा आत्मविश्वास बढ्न सकेको छैन । दलाल पूँजीको दबदबा बढिरहेको छ । मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्तिहरू हुर्किरहेका छन् । रातारात अर्बपति बन्ने चाहना जागिरहेको छ । अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको छ । कि अरुलाई कि देशलाई लुट्ने । देशलाई लुट्ने, जनतालाई लुट्ने, दुवैलाई लुट्ने । जहाँ सकिन्छ त्यहीँ लुट्ने । यो प्रवृत्तिलाई समाप्त पार्नुपर्दछ । त्यसका निम्ति शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्छ । सुशासनको प्रत्याभूति दिनुपर्छ । र कसरी ती नियमनको निरिक्षण गर्न सकिन्छ, तदनुरुपको संरचाना निर्माण गर्नुपर्छ । पालिका पालिकामा अर्बौं रपैयाँको बजेट गएको छ, त्यसको सदुपयोग भएको छ कि छैन ? त्यसको कुनै अनुगमन गर्ने काम हामीले गर्न सकिरहेका छौँ ? पार्टीले पनि गरेको छैन, सरकारले पनि गरेको छैन । पार्टीमा पनि आफ्नो कार्यकर्ताले कस्तो काम गरिरहेका छन् त्यसको अनुगमन गर्नुपर्छ । केन्द्रीय सरकारले प्रादेशकि, प्रदेशले स्थानीय सरकारको कामको अनुगमन गर्नुपर्छ ।’
अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरू सरकारभन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताए । अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैँ अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताए । उनले वंशानुगत तानाशाही प्रवृत्ति सकिसके पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताए ।
अध्यक्ष नेपालले भने, ‘इमान्दारिता, निष्ठा र समर्पण नै प्रमुख कुरा हो । यी कुरा छन् भने तपाईले जनताको मन जित्न सक्नुहुनेछ, मान्छे निष्ठाबाट विचलित हुने गर्दछ । त्यो मान्छेमा इमान्दारिता हराएर जाँदो रहेछ । त्यही मानिसमा समर्पित हुने भावना समाप्त हुँदो रहेछ । उ व्यक्तिवादको शिकार हुन्छ । म भन्ने घमण्ड आउँछ, मबाट कहाँ आउँछ ?बा भन्ने आउँछ । त्यो म नै बा हो । हामी त्यस्ता प्रवृत्तिका बिरोधी हौँ । यस अर्थमा इमान्दारिता, निष्ठा र समर्पणको भावना अघि सारौँ । अगाडि बढ्ने हो भने । त्यसको निम्ति सही दिशा लिएर अघि बढ्ने हो भने । जनचाहना के हो भन्ने कुरालाई बुझ्ने हो भने, समाजलाई परिवर्तन गर्ने कुन बाटो सही हुन्छ भन्ने कुरालाई ठम्याउन सक्ने हो भने, तपाई सही ढंगले अघि बढ्न सक्नुहुन्छ । त्यसपछि तपाईमा राम्रो संस्कार हुनुपर्छ, जनतालाई माया गर्ने, जनताको पीडालाई आफ्नो पीडा ठान्ने, मैले हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेको थिएँ, हामी अरु सरकारभन्दा फरक हुनपर्छ । देश विकासका लागि के प्राथमिकता राख्ने र के नीति बनाउने त्यसमा विज्ञहरूको सुझाव लिनुस् भनेर प्रधानमन्त्रीलाई भनेको थिएँ । मलाई तपाई अघि सर्नु न भन्नुभयो । ठीक छ म त अघि सर्छु नै किनभने म टुलुटुलु हेरेर बस्ने मान्छे होइन । समस्या छन् भने भाग्ने पनि होइन । समस्याको समाधान गर्दा धेरै विचार पु¥याउन आवश्यक छ । अहिले हाम्रो समाजलाई परिवर्तन गर्न जरुरी छ । समाजवादको दिशामा लैजानु पर्नेछ । समाज परिवर्तन गर्नका लागि एउटा काम हामीले गरेका छौँ । जनतालाई अधिकार सम्पन्न गराउने सन्दर्भमा राजनीतिक सत्ता जनताको हातमा ल्याउनको लागि राजकीय क्रान्ति सम्पन्न गरेका छौँ । त्यति मात्रैले पुग्दैन राजनीतिक सत्तामा अझै पनि निरंकुश प्रवृत्तिहरू हाबी हुने गरेका छन् । एउटा समय थियो वंशीय, एउटा वंशगत शासनको निरंकुशता, फेरि व्यक्तिको निरंकुशता देखा पर्न थाल्यो । हामी दुवै कुराबाट मुक्त हुन चाहन्छौँ । वंशको निरंकुशता राणा शासनको अन्त्यसँगै सकिएको छ तर व्यक्तिको निरंकुशता जुन व्यक्तिको कारणले तानाशाह जन्मिन्छ । यी तानाशाह जन्मिसकेपछि प्राप्त सबै उपलब्धि समाप्त हुने खतरा हुने गर्दछ । त्यसको निम्ति, यो पार्टी, त्इो पार्टी, यो विचार त्यो विचार हुँदो रहेनछ । विचारको भ¥याङ चढेर, पार्टीको भ¥याङ चढेर माथि उक्लँदा रहेछन् । र त्यो पार्टी र विचारलाई लत्याइदिँदा रहेछन् । त्यस्ता प्रवृत्तिका बिरुद्ध जुध्न तयार हुनुपर्दछ । समाजवादकै झन्डा बोकेर हिटलर उदाएका होइनन् ? तर उनी संसारकै क्रुर तानाशाहको रुपमा देखा परे । अरु त के हुनु । आँट गर्नुपर्छ ।’
अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताए । उनले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रुपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गरे । अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्