सर्लाहीमा निषेधाज्ञा «

सर्लाहीमा निषेधाज्ञा

उता सवारी दुर्घटनाको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै मंगलबार दिउँसो ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो । निषेधित क्षेत्रमा हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा तथा गतिविधि गर्न रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म निषेधाज्ञा लागू हुनेछ ।
इलाका प्रहरी कार्यालय केशरगंजको गस्ती टोलीको ना १ झ ८६९ नम्बरको गाडीले आइतबार राति ईश्वरपुर नगरपालिका–५ का व्यापारी रामकुमार महतोलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले सोमबार प्रहरीको ना. १ झ ७४८२ नम्बरको गाडी जलाएका थिए । प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत घटना बढेकाले सर्वसाधारणको सुरक्षा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्