चैतभित्र भैरहवा सेजमा विद्युत् पुग्ने «

चैतभित्र भैरहवा सेजमा विद्युत् पुग्ने

विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्र विद्युत् पुराउने भएको छ ।
हाल त्यहाँ रहेको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइनमार्फत आगामी चैतसम्ममा विद्युत्लाइन पुराउन लागेको हो । तर सेजभित्र निर्माण हुनुपर्ने सबस्टेसनको निर्माणकार्य भने अझै सुरु भएको छैन ।
प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोइकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारणलाइनको निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भई प्रसारणलाइन लैजानु पर्ने भएकाले वनका कारण काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारबीच छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । “अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुरायाउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन,” उनले भने, “तर, सेजकातर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिँदैन ।”
सेजमा स्थापना हुने उद्योगका लागि विद्युत् दिन सेजले बनाउनु पर्ने ३३-११ केभीको सबस्टेसन (१० एमभीए) निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढाएको छैन । सेजले भने यसको प्रतिवेदन तयार गरेर पुनर्विचारका लागि प्राधिकरणमा पठाएको बताएको छ । सेजका अनुसार, उद्योगीहरूसँग सम्झौता भएपछि पूर्वाधार निर्माणका लागि एक वर्ष लाग्ने भएकाले त्यो अवधिभित्र सबस्टेसन निर्माण भइसक्छ, तर सबस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत भएको छैन ।
प्राधिकरणले अहिले निर्माण गरिरहेको सबस्टेसनको अनुभव हेर्दा टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्न छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात् सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्