महाधिवेशनमा प्रचण्डको सात बुँदे राजनीतिक प्रतिवेदन «

महाधिवेशनमा प्रचण्डको सात बुँदे राजनीतिक प्रतिवेदन


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सुरु भएको बन्दसत्रमा उनले वैचारिक एवं राजनीतिक दस्तावेज प्रस्तुत गरेका हुन् । अध्यक्षको प्रतिवेदनलगत्तै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गरेका थिए । बन्दसत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बैठकले नेता महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न समूह विभाजन गरी छलफल सुरु गरिने कार्यक्रम छ ।
ल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् । निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पंक्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने विषय दस्तावेजनमा छ ।
बन्दसत्रमा एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।
अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ । ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ । त्यस्तै, दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ । त्यसमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ । यस्तै ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ गरिएको छ ।
राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ । चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा गरिएको छ ।
त्यसैगरीे पाँचौँ बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ । छैठौँ बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ ।
सातौँ बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्