भिजिट भिसामा कडाइ गर्न माग

भिजिट भिसामा कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् ।
प्रतिनिधिसभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीले दुःख पाउने गरेको भन्दै कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद रामेश्वरराय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरुले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताए । विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरु बढेको भन्दै उनले विदेश जान नै सहज बनाउनुपर्ने बताए । नेपाली कामदारलाई आफूले गर्ने कामको बारेमा पूर्ण जानकारी हुनुपर्ने र दक्ष कामदार मात्र पठाउनुपर्नेमा उनले जोड दिए ।
“विभिन्न चोर बाटोबाट जाने गरेको यो भिजिट भिसाको नाममा वा अन्य भिसाको नाममा जाने र कानूनी व्यवस्थापन राम्रोसँग नभएको कारणबाट नेपाली कामदारले दुःख पाउने गरेका छन्” उनले भने, “नेपाली कामदार कुन काममा जाने हो, त्यसको पूर्ण जानकारी हुनुपर्ने र त्यो विषयमा पोख्त तालिमको व्यवस्थापन गरेर स्किल मेनपावरको रुपमा मात्रै पठाउने व्यवस्था गरौं ।”
सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने बताइन् । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उनको भनाइ छ । विदेश पुगेका नेपाली कामदार दूतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उनले सहज रुपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताइन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताए । स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने उनले बताए । व्यावसायिक कामदारलाई विदेश पठाउन सक्नुपर्ने उनले बताए । मन्त्रालयले सातै प्रदेशमा ट्रेनिङ सेन्टर सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए । “क्षमतावान कामदार पठाउन नसक्दा हाम्रो वैदेशिक रोजगार व्यवसाय धरासयी भयो” उनले भने, “विप्रेषण धेरै घटिरहेको छ । हामीले स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारीलाई नै हामीले प्रश्रय दिनुपर्छ ।”
सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यससँग सम्बन्धित सरकारी निकायहरु गृह मन्त्रालय, अध्यागमन, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालय लगायतका उच्च पदाधिकारीहरु बसेर देखिएका विकृति र विसंगति हटाउनुपर्ने बताए ।