चोरी भएको आकाश भैरवको मूर्ति खोज्न माग «

चोरी भएको आकाश भैरवको मूर्ति खोज्न माग

नार्गजुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेकाछन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्पदा संरक्षण महाअभियानले चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।
कार्यक्रममा बोल्दै सम्पदा संरक्षण महाअभियान अभियन्ता यादवलाल कायस्थले काठमाडौं जस्तो सहरमा दिनदाहाडै मूर्ति चोरी हुनु हास्यास्पद रहेको बताए । उनले देशकै असाधारण सम्पत्ति चोरी हुँदासमेत सरोकारवाला निकाय चुप लागेर बस्न नहुने बताए । भगवानको मूर्ति चोरलाई पनि कारबाही नभएपछि झन् चोर्न सजिलो भएको भएको भन्दै उनले भने, “हामीले पूजा गर्ने भगवानकै मूर्ति चोर्दा त कसैलाई पक्राउ गर्न नसक्ने सरकारले अरु चोरलाई के गर्न सक्छ ? समाजमा यस्ता अपराध कति बढ्दै जाला ।” नेपालबाट चोरेको मुर्तिहरु अमेरिका र लन्डन पुग्ने गरेको उनको भनाइ थियो । “एक बट्टा अचार समातिने विमानस्थलमा ठूला–ठूला मूर्ति कसरी छिरे ?” उनले प्रश्न गरे । त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको मूर्तिको अवस्था आजका दिनसम्म कु्नै जानकारी नभएको उनले बताए । मूर्ति खोज्ने क्रममा छैटौ शताब्दीमा निर्माण भएको ब्रह्मा भगवानको मूर्ति गौशाला प्रहरी कार्यालयमा फेला परेको उनले बताए । उनले भने, “प्रहरी कार्यालयमा फोहोर राख्ने ठाउँमा अत्यन्तै दयनीय अवस्थामा ब्रह्माको मूर्ति फालिएको छ, ब्रह्रमाको मूर्ति पुनःस्थापना गरियोस् ।”

प्रतिक्रिया दिनुहोस्