पर्यटन काजले ल्याउने सकारात्मक प्रभाव

पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुन सकेमा यसले चौतर्फी रूपमा नै सकारात्मक प्रभावहरू सिर्जना गर्न सक्ने अवस्था रहन्छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ को बजेटमार्फत निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई पर्यटन काज उपलब्ध गराउने घोषणा गरेको थियो । तत्कालीन समयमा उक्त घोषणासँगै यो विषयले निकै चर्चा बटुलेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु-याउँदै कर्मचारीहरूको काम र जीवनबीचको सन्तुलनमा सहजतामार्फत सार्वजनिक प्रशासनको उत्पादकत्वसमेत अभिवृद्धि गर्ने अभीष्टले सरकारले यो कार्यक्रम अघि सारेको थियो । तर, चालू आर्थिक वर्षको आधाउधि समय बित्न लाग्दासमेत पर्यटन काजसम्बन्धी कार्यक्रम कार्यान्वयनमा आउन नसकी अलमलमा परिरहेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक खर्चसहित बिदा वा काजमा पठाइनुपर्ने माग र आवाज उठ्न थालेको निकै वर्ष बितिसकेको छ । कर्मचारी क्षेत्रका ट्रेड युनियनहरूलगायत पर्यटन व्यवसायीहरूसमेतले यो विषयलाई कार्यान्वयनमा ल्याउन निकै समयदेखि सरकारलाई अनुरोध गरिरहेका छन् । केही सार्वजनिक संस्थान र निजी संस्थाहरूले आफ्ना कर्मचारीलाई बर्सेनि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था लागू गर्दै आएको र आन्तरिक पर्यटनको प्रवद्र्धन तथा कर्मचारीलाई कामप्रति उत्साह जगाउन यस प्रकारको कार्यक्रम फलदायी भइरहेको पाइएको छ ।
सरकारी तवरमा प्रदेशमा कार्यरत कर्मचारीहरूलाई समेटेर प्रदेशस्तरमा यस प्रकृतिको कार्यक्रम विगत वर्षहरूबाटै छिटपुट रूपमा सुरुवात भइरहे तापनि संघीय सरकारले भने हालसम्म यो विषयलाई सम्बोधन गरिसकेको थिएन । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने र निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोहीअनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने प्रावधानका साथ यो विषयलाई बजेटमा समावेश गरेको देखिन्छ ।
यस वर्षको बजेटमा यो कार्यक्रमलाई समावेश गरिएसँगै यस खालको सहुलियत माग गरिरहेका सरोकारवालाहरूको सम्बोधन गर्नुका साथै कोभिड–१९ को मारले शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई उकास्ने सन्दर्भमा समेत अत्यन्तै सान्दर्भिक कार्यक्रमका रूपमा लिइएको थियो । यसको कार्यान्वयनबाट मुलुकभित्रका पर्यटकीय गन्तव्यहरूको विकासमा टेवा पुग्नुका साथै नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पहिचान भई मुलुकको समग्र पर्यटन क्षेत्रलाई नै प्रवद्र्धन गर्न सकिने धारणाहरू तत्कालीन समयमा सार्वजनिक भएका थिए । तथापि, हालसम्मको अवस्था हेर्दा यो कार्यक्रमले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई स्पर्श गर्न र कार्यरूपमा उत्रन सकेको छैन । यसबीचमा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन काज कार्यविधि, २०७८ तर्जुमा गरी अघि बढाएको भए तापनि यो कार्यविधि स्वीकृत हुन र यसका लागि आवश्यक बजेटको सुनिश्चितता हुन सकेको छैन ।
पर्यटन काज कार्यक्रमको कार्यान्वयनमार्फत मुलुकले थुप्रै लाभ हासिल गर्न सक्ने देखिन्छ । यसले कर्मचारीहरूलाई देशभित्रको भौगोलिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक अवस्थाबारे जानकार तुल्याउनुका साथै मुलुकको अपार पर्यटकीय सम्भावनालाई उजागर गराउन टेवा पु¥याउँछ । आन्तरिक पर्यटन प्रवद्र्धन हुने, आर्थिक क्रियाकलापमा बढोत्तरी भई रोजगारीका अवसर सिर्जना हुने, पर्यटनको विकासमा भौगोलिक हिसाबले सन्तुलन कायम हुनुका साथै ग्रामीण पर्यटनको विस्तार हुने, देशभित्रका पर्यटकीय स्थलहरूको ब्रान्डिङ तथा नयाँ गन्तव्यहरूको पहिचान हुने लगायतका लाभहरू हासिल गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनबाट एकपछि अर्को चरणबद्ध रूपमा फैलिएको महामारीका कारण विदेशी पर्यटकहरू अपेक्षित रूपमा तत्काल आउन सक्ने सम्भावना नदेखिएको सन्दर्भमा आन्तरिक पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नमा प्रत्यक्ष टेवा पुग्ने देखिन्छ ।
पर्यटन काजसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा प्रभावकारिता कायम गर्नका लागि केही पक्षहरूमा यथेष्ट ध्यान पु-याइनु आवश्यक देखिन्छ । यससम्बन्धी कार्यविधिलाई यथाशक्य चाँडो टुङ्ग्याउनुका साथै आवश्यक वजेटको व्यवस्था गरी तत्कालै यो कार्यक्रम कार्यान्वयनमा ल्याइनु आवश्यक छ । पर्यटन काजसम्बन्धी कार्यविधि तर्जुमा गरिरहँदा यो सुविधा प्राप्त गर्ने लक्षित वर्गको प्रस्ट किटान हुनुका साथै काज सुविधा प्राप्त गर्ने सन्दर्भमा लक्षित वर्गका सबै तह र श्रेणीका कर्मचारीको सहज पहुँचको सुनिश्चितता हुन आवश्यक छ । पर्यटन काज खटाइने गन्तव्य स्थलहरू निर्दिष्ट गरी निर्देशिकामा नै उल्लेख गरिनुपर्छ । गन्तव्य स्थलहरू छनोट गर्दा सरकारले अघि सारेको यो कार्यक्रमको अभीष्ट हासिल हुने तवरले सबै कोणबाट विश्लेषण गरी भौगोलिक एवं प्रादेशिक सन्तुलनसमेत कायम हुने तवरले उपयुक्त स्थानहरू चयन गर्नतर्फ पर्याप्त ध्यान पुग्नुपर्ने देखिन्छ ।
पर्यटन काजको कार्यान्वयनका क्रममा सबै कर्मचारीलाई काजमा खटाइरहँदा सम्बन्धित कार्यालयको दैनिक सेवाप्रवाहमा बाधा उत्पन्न हुन नदिनेतर्फ पनि उत्तिकै सजगता अपनाउन जरुरी छ । यसका लागि सम्बन्धित कार्यालयमा कार्यरत कर्मचारीहरूमध्ये एकपटकमा निश्चित प्रतिशत कर्मचारीलाई मात्रै काजमा खटाउन सक्ने व्यवस्था गर्न उपयुक्त देखिन्छ । काजमा खटाइने कर्मचारीको मनोनयन, काज स्वीकृति, काजको रकम दाबी गर्ने र भुक्तानीसम्बन्धी प्रक्रियालाई सरलीकृत गर्नेतर्फ पनि उत्तिकै ध्यान पु¥याइनुपर्छ । यी प्रक्रियाहरू जटिल बन्न पुगेमा कर्मचारीको मनोबल उकास्न अघि सारिएको कार्यक्रमले उल्टै मनोबल ह्रास हुने अवस्था निम्तिन सक्ने खतरा रहन्छ ।
आन्तरिक पर्यटन बलियो नभई बाह्य पर्यटनको आधारशिला मजबुत बन्न सक्दैन । यस सन्दर्भमा पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुन सकेमा यसले चौतर्फी रूपमा नै सकारात्मक प्रभावहरू सिर्जना गर्न सक्ने अवस्था रहन्छ । लाखौंको संख्याका कर्मचारीहरू देशका विभिन्न भूभागमा भ्रमण गरिरहँदा यसले देशको पर्यटन क्षेत्र र अन्तरसम्बन्धित पक्षहरूको प्रवद्र्धन त गर्छ नै; सँगसँगै, भ्रमणमा निस्किएका कर्मचारीहरूलाई पुनर्ताजगी भई सार्वजनिक सेवाप्रवाहमा समेत त्यसको सकारात्मक प्रभाव पर्ने स्थिति रहन्छ । अतः आम कर्मचारी, पर्यटन व्यवसायीलगायत सबै सरोकारवालाहरूले कर्तव्य र दायित्वबोधसहित यस किसिमको स्वागतयोग्य कार्यक्रमलाई समयमै सही रूपमा कार्यान्वयनमा ल्याउनेतर्फ यथेष्ट पहल गर्नुपर्ने देखिन्छ ।