प्रतिवद्धता धेरै, वैदेशिक लगानी कम «

प्रतिवद्धता धेरै, वैदेशिक लगानी कम

नेपालमा विदेशी लगानीको प्रतिबद्धता हरेक वर्ष धेरै आएको देखिए पनि वास्तविक लगानी भने प्रतिबद्धताको करिब एक तिहाइमात्रै आएको देखिन्छ । सरकारले नीतिगत सुधारमा ध्यान नदिएका कारण पनि प्रतिबद्धताअनुरुप नेपालमा लगानी नभित्रिएको निजी क्षेत्रको अनुमान छ ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा मुलुकमा सम्भावनाको तुलनामा वैदेशिक लगानी न्यूनमात्र भित्रिरहेको बताउँछिन् । नेपालमा सानादेखि ठूला सबैखाले लगानीकर्ताका लागि अवसर रहेको उल्लेख गर्दै राणाले नेपालले वैदेशिक लगानीका लागि नीतिगत सुधार भने निरन्तर गरिरहेको बताइन् । तर, उनी भन्छिन्, “हामीले नियमकानुनमा सुधार गरेर मात्र हुँदैन, लगानीका लागि आन्तरिकसँगै बाह्य वातावरण पनि अनुकूल हुनुपर्ने देखिन्छ ।” नेपालले वैदेशिक लगानी प्रोत्साहनका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ भने औद्योगिक व्यवसाय ऐन पनि कार्यान्वयनमा रहेको छ । तर, प्रशासनिक झन्झट, विभिन्न राजनीतिक दलले लगानीलाई हेर्ने दृष्टिकोण तथा बेला बेलामा हुने नीतिगत अस्थिरताका कारण पनि प्रतिबद्धता अनुरुप लगानी ल्याउन नसकिएको वैदेशिक लगानीकर्ताहरुको गुनासो छ ।
उद्योग विभागका अनुसार कूल लगानी प्रतिवद्धताका हिसाबले नेपालमा चीन अगाडि छ । चीनको लगानी प्रतिबद्धता करिब पौने २ खर्ब पुगेको भन्दै उद्योग विभागले चिनियाँ लगानी प्रतिवद्धताको हिस्सा भारतीय लगानीको तुलनामा दोब्बर रहेको पनि जनाएको छ । विभागले सार्वजनिक गरेको औद्योगिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ सम्ममा नेपालमा १ खर्ब ७३ अर्ब २० करोड रुपैयाँ बराबरको चिनियाँ लगानी प्रतिवद्धता आएको छ भने सोही अवधिमा भारतीय लगानी प्रतिबद्धता भने ९८ अर्ब ६० करोड मात्र रहेको छ ।
तर, नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७÷०७८ मा मात्रै कुल प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोडमात्र प्राप्त गरेको छ भने गत आवसम्ममा भारतबाट कुल ६२ अर्ब ४५ करोड र चीनबाट ३० अर्ब ९७ करोड कुल प्रत्यक्ष वैदेशिक लगानी प्राप्त भएको छ ।
विभागका अनुसार चिनियाँ लगानीका उद्योगको संख्यासमेत भारतीयभन्दा दोब्बरले बढी छ । गत आवसम्ममा १ हजार ८ सय ७६ वटा चिनियाँ लगानीका उद्योग स्थापना हुँदा भारतीय लगानीका उद्योगको संख्या ८ सय ७ वटा छ ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुली पछिल्लो दशकमा चिनियाँ लगानीका उद्योग–व्यवसाय दर्ता हुने क्रम बढेको बताउँछन् । उनका अनुसार कोभिडका कारण पछिल्ला दुई वर्षमा उद्योग–व्यवसाय दर्तामा केही सुस्तता देखिए पनि निराशाजनक अवस्था भने छैन । लगानीको परिमाण र परियोजनाको संख्यामा दुई मुलुकको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बीच धेरै अन्तर देखिए पनि रोजगारी सिर्जनाका हिसाबले भने दुवै मुलुक हाराहारीमा रहेका छन् । चिनियाँ लगानीका उद्योगबाट ८७ हजार २ सय ५५ जनाले रोजगारी सिर्जना हुने प्रतिवद्धता जनाइएको छ भने भारतीय लगानीका उद्योगबाट ७३ हजार ६ सय ४० रोजगारी सिर्जना हुने उल्लेख छ । यद्यपि, उद्योग दर्ता हुने, लगानी प्रतिवद्धता जनाउने र रोजगारी सिर्जनाको लक्ष्य व्यवहारमा भने कार्यान्वयनमा आउन नसकेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
चीन र भारतपछि नेपालमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता जनाउने मुलुक अमेरिका हो । आव २०७७÷०७८ सम्ममा अमेरिकाबाट ४ सय २४ परियोजनाका लागि १५ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ, जसबाट १८ हजार ९ सय ५८ रोजगारी सिर्जनाको लक्ष्य रहेको छ । यस्तै, चौथो स्थानमा रहेको कोरियाबाट ३ सय ६१ परियोजनाका लागि १२ अर्ब ६१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको र यसबाट १२ हजार ७८ जनाका लागि रोजगारी सिर्जना हुने उल्लेख छ ।
नेपालमा बढी विदेशी लगानी गर्ने अन्य मुलुकमा ब्रिटिस भर्जिन आइल्याण्ड, बेलायत, सिंगापुर, जापान, क्यानडा र स्वीट्जरल्याण्ड रहेका छन् । गत आवसम्ममा नेपालमा ३ हजार ६ सय ४५ परियोजनाका लागि ५ खर्ब २३ अर्ब ४० करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रहेको विभागले सार्वजनिक गरेको औद्योगिक तथ्यांकमा उल्लेख छ । ब्रिटिस भर्जिन आइल्याण्ड लगायतका मुलुकबाट भित्रिने लगानीको भने स्रोत नखुल्ने लगायतका समस्याका कारण विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्