उड्डयन प्राधिकरणको बजेट पाँच महिनापछि पास «

उड्डयन प्राधिकरणको बजेट पाँच महिनापछि पास

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७८-०७९ का लागि ४३ अर्ब ६७ करोड रुपैयाँको बजेट पास गरेको छ । आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले बजेट पास गरेको हो ।
प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न १ अर्ब र डोटी विमाननस्थलको स्तरोन्नति गर्न १८ करोड ६१ लाख बजेट छुट्याइएको छ । यसैगरी साँफेबगर र कमलबजार विमानस्थलको लागि ३-३ करोड छुट्याइएको छ । प्राधिकरणले बैतडी, दार्चुला, बझाङ, बाजुरा र डडेलधुरामा विमानस्थल बनाउन बजेट विनियोजन गरेको छ ।
साथै प्राधिकरणले पोखरा, भैरहवा र निजगढ विमानस्थललाई करिब साढे १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । मूलतः निर्माणाधीन विमानस्थललाई सञ्चालनमा ल्याउने गरी बजेटमा विनियोजनन भएको प्राधिकरणले जनाएको छ । पुँजी गत बजेट ३८ अर्ब र सञ्चालन बजेट करिब ४ अर्ब विनियोजन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको बजेट विगतमा साउनमा नै बोर्डले पास गर्ने गरेको भए भए पनि चालु आर्थिक वर्षमा भने ५ महिनापछि पास भएको हो ।
प्राधिकरणले यान्त्रिक उपकरणमा १ अर्ब ८३ करोड, जग्गा प्राप्तिका लागि ४ अर्ब ५६ करोड, पूर्वाधार निर्माणमा १७ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले १० अर्ब ५४ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा ५ अर्ब ९६ करोड आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा ५ अर्ब ६० करोड आम्दानी हुने प्रक्षेपण प्राधिकरणले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्