अमेरिका विश्वकै ठूलो तेल उत्पादक «

अमेरिका विश्वकै ठूलो तेल उत्पादक

आगामी १२ महिनाको अवधिमा विश्वकै ठूलो तेल उत्पादकमा अमेरिकाले साउदी अरेबिया र रूसलाई उछिन्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनले देखाएको छ ।
यो वर्ष तेल उत्पादनको मामिलामा अमेरिकाका लागि ऐतिहासिक हुने आईईएले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
“यो वर्षको उत्पादनमा हुने निर्वाध वृद्धिले अमेरिकाको उत्पादन प्रतिदिन १ करोड ब्यारेल पुग्नेछ । यो उत्पादनसहित यो वर्षको उत्पादनमा साउदी अरेबिया र रूसलाई उछिन्नेछ,” पेरिसस्थित संस्थाले जनाएको छ ।
सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७०.३७ डलरको उच्च अवस्थामा पुगेको थियो ।
तेलको मूल्यमा हाल भएको वृद्धिले अमेरिकामा आगामी महिनाहरूमा तेलको उत्पादनमा नयाँ तरंग आउने आईईएका तेल उद्योग र बजार विभागका प्रमुख निल अटकिन्सनले बताए ।
मूल्य उकालो लाग्नुमा तेल उत्पादक समूह ओपक र रूसको आपूर्ति कटौतीको मुख्य भूमिका रहेको छ । यी मुलुकहरूले गत वर्षको जनवरीमा उत्पादन कटौती गरेका थिए । ओपेक र अन्य १० गठबन्धनका उत्पादकहरूले मूल्य बढाउनका लागि यो वर्षभरि नै आपूर्ति सीमित पार्ने निर्णय गरेका थिए ।
यो कटौतीबाट लाभ लिनेमा मुख्य प्रतिस्पर्धी अमेरिकी सेल आयल छ । अमेरिकी कच्चा तेलको उत्पादन प्रतिदिन ९९ लाख ब्यारेल कायम भएको आईईएले जनाएको छ । यो देशका लागि झन्डै ५० वर्षकै उच्च तह हो ।

प्रतिक्रिया दिनुहोस्