माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु «

माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

पञ्चेबाजा नाच देखाउँदै महिला कलाकार काठमाडौँ, ११ पुस ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको अवसरमा आइतबार प्रज्ञाभवन परिसरमा पञ्चेबाजा नाच देखाउँदै महिला कलाकार । तस्वीर : प्रदीपराज वन्त ÷रासस


नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आइतबार काठमाडौंमा सुरु भएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।
प्रधानमन्त्री देउवाले नेपालको राजनीतिक परिवर्तनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो योगदान गरेको बताए । दाहालकै अगुवाइमा संविधानसभाको चुनाव भएको र संविधान बनेको उनको भनाइ थियो । उनले सत्ता गठबन्धन कसैका विरुद्धमा नपाएको पनि स्पष्ट पारे । संसद् बचाउनकै लागि गठबन्धन सरकार बनेको प्रधानमन्त्री देउवाको तर्क थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले इतिहास अघि बढिसकेको भन्दै अब पछाडि फर्कने कुनै सम्भावना नरहेको प्रस्ट पारे । शुभकामना मन्तव्य व्यक्त गर्दै उनले अब मुलुकमा कुनै व्यक्ति वा वंशको तानाशाही स्वीकार्य हुन नसक्ने बताए । नयाँ नेपाल निर्माण गर्ने मान्यता र विचार के हुन् भन्नेबारेमा दलहरु बीच छलफल गर्न जरुरी रहेको उनले औँल्याए । राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना, संघीयता, धर्मनिरपेक्षतालाई जोगाउन दलहरू एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।
एमाले महासचिव शंखर पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको टिप्पणी गरे । पोखरेलले कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताएका हुन् । उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए । उनले आफूलाई यो एकता जोगाउन नसकेकोमा पछुतो रहेको भन्दै अब कसरी अघि बढ्ने हो त्यसमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताए । अब एमालेले आफ्नो हठ त्यागेर संसदको अवरोध हटाउँदै सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए । जसपा अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन गर्नुपर्ने बताए । जसपा अध्यक्ष यादवले संघीय गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने बताए ।
उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा, नेकपा (एमाले)का महासचिव पोखरेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलसहितका नेताहरु उपस्थित भएका थिए ।

पदाधिकारीको संख्या बढाउन प्रस्ताव
नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकले १५ जनाको पदाधिकारी संख्या बनाउने प्रस्ताव गरेको छ ।
महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या १५ जना बनाउने प्रस्ताव गरेको हो । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले केन्द्रीय कमिटीको फर्मेशन क्लष्टर अनुसार नै गर्ने निर्णय गरिएको पनि बताए ।
आइतबारदेखि सुरु भएको महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भए पनि ५ दिनसम्म जानसक्ने प्रवक्ता महराले बताए । महाधिवेशनमा देशभरबाट करिव १ हजार ६०० प्रतिनिधिहरु सहभागी भएका छन् । ५ दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरिने करिब निश्चिित भए पनि महासचिवसहित अन्य पदमा भने प्रतिस्र्धा हुने देखिएको छ । सहमति नभए निर्वाचनमा जानु पर्नेमा युवा नेताहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्