सिंहदरबार वैद्यखानाले पतञ्जलीबाट सिक्नुपर्ने पाठ «
Logo

सयौँ वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानाले समयसापेक्ष आफूलाई परिवर्तन गर्न वा परिमार्जन गर्न नसकेको कटु तर वास्तविकता छ

सिंहदरबार वैद्यखानाले पतञ्जलीबाट सिक्नुपर्ने पाठ


पतञ्जलीका गैरनाफामूलक गतिविधिलाई नेपाल सरकारले पूर्ण सहयोग गर्ने प्रधानमन्त्री देउवाले हालै बताएका छन् । पतञ्जली योगपीठ नेपालले नेपाल सरकारको नीति, नियम–कानुनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त गरेपछि मात्र टिभी सञ्चालनमा ल्याउने बताएको छ । पतञ्जलीको प्रेस विज्ञप्ति जारी गरेर अनुमति प्राप्त गरेपछि मात्र ‘पतञ्जली नेपाल टिभी’ र ‘आस्था नेपाल टिभी’ सञ्चालनमा ल्याइने बताएका हुन् ।
त्यस्तै पतञ्जली योगपीठअन्तर्गत सञ्चालन हुन गइरहेरको उक्त टिभीका सन्दर्भमा विभिन्न सञ्चारमाध्यमले स्पष्ट जानकारीको अभावमा भ्रामक सूचना प्रकाशन गरेकोमा दुःख व्यक्तसमेत गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८/०८/०३ गते सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा विश्वविख्यात स्वामी रामदेवजी र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीको समुपस्थितिको महŒवपूर्ण अवसरमा शुभ साइतका लागि टिभी भवनको उद्घाटन गरिएको हो, तर प्रसारण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको बेहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति, नियम–कानुनको अधीनमा रही नियमानुसार अनुमति प्राप्त भएपश्चात् मात्र टिभी सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ ।’
नेपालमा सिंहदरबार वैद्यखाना आयुर्वेद औषधि उत्पादन गर्ने एकमात्र सरकारी निकाय हो । आयुर्वेदिक औषधि उत्पादन गर्नुका साथै यो वैद्यखानाले आयुर्वेदिक उपचारसम्बन्धी सल्लाह पनि दिने गरेको छ । वि.सं. २०५२ देखि विकास समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग १ सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो ।
राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो । शाहकालमा यो वैद्यखाना हनुमानढोका दरबारमा थियो ।
राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको यो वैद्यखानालाई पछि चन्द्रशमशेरले सिंह दरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनियो । २०५२ मा विकास समितिबाट यो वैद्यखाना सञ्चालित छ । नेपाल सरकारको आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्था हो, सिंहदरबार वैद्यखाना । सयौँ वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानाले समयसापेक्ष आफूलाई परिवर्तन गर्न वा परिमार्जन गर्न नसकेको कटु तर वास्तविकता छ ।
चल्नकै लागि चल्नुबाहेक अहिले वैद्यखानाको प्रगति छैन । आयुर्वेदिक औषधिको उत्पादन र बिक्री–वितरण गर्ने, नयाँ औषधिको अध्ययन र उत्पादन गर्ने कार्य सुस्त गतिमा छ ।
कहिले नेतृत्वको विवाद र कहिले अपुग बजेटको मारमा पर्दै आएको छ वैद्यखाना । कुनै समय वैद्यखानाले उत्पादन गर्ने औषधिको विश्वसनीय र गुणस्तरबारे सर्वत्र चर्चा हुन्थ्यो । तर अहिले वैद्यखानालाई नयाँ कम्पनीहरूले विस्थापित गर्न थालिसकेका छन् । आमनागरिकले वैद्यखानालाई बिर्सन लागेको अवस्था छ ।
१ सय २० थरीका औषधि उत्पादन गर्ने वैद्यखानाले औषधि उत्पादन क्षमता घटाउँदै लग्यो । समयअनुसार बढाउनुपर्ने उत्पादन घटाउनु र नयाँ प्रविधि र उपकरणसहित आफूलाई रूपान्तरण नगर्दा वैद्यखानाको साख घटेको बताइन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार औषधि उत्पादन गर्ने वर्षौंदेखिको लक्ष्य वैद्यखानाले अझै भेट्टाउन सकेको छैन । कुशल उत्पादन प्रक्रिया अर्थात् गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) मा जान लामो समयदेखि गरेको पहल छिट्टै पूरा हुने देखिँदैन ।
मन्त्रालयले हरेक वर्ष वैद्यखानाका लागि करिब दुईदेखि तीन करोडसम्म बजेट विनियोजन गर्छ भने बाँकी बजेट विकास समितिअन्तर्गत छ ।
सिंहदरबार वैद्यखानाले के–के औषधि उत्पादन गर्छ भन्ने जानकारी भने जनतालाई समय–समयमा गर्नुपर्छ । न त यसको बजार प्रवद्र्धन नै छ । अर्कातर्फ पतञ्जलीको एमएनसीलाई समेत पछाडि पार्ने बजारीकरणको शैली छ ।
सातै प्रदेशमा वैद्यखानाका शाखा खोल्ने तयारी, सबै प्रदेशमा शाखा भएपछि त्यहींको वातावरणनुकूलका औषधि उत्पादन गर्न सकिन्छ । तर, यसका लागि के–के तयारी छ ? कुन प्रदेशमा कस्तो खालका वनस्पति, जडिबुटी पाइन्छ, कस्ता औषधि उत्पादन गर्न सकिन्छ भन्ने कुनै अध्ययन पनि भएको छैन ।
हरेक प्रदेशमा शाखा खोल्दा बजेट, जनशक्ति, औषधि उत्पादनका लागि भौतिक संरचनाबारेमा तयारी वैद्यखानाबाट हुनुपर्छ ।
नेपालमा आममानिसको विश्वास र बजारमा माग भए पनि आयुर्वेदिक औषधि उत्पादन गर्ने एकमात्र सरकारी उद्योगको उत्पादन प्रक्रिया आधुनिक छैन, उत्पादन पनि न्यून छ ।
सिंहदरबार वैद्यखानाले बाजिकर, अविपत्तिकर चूर्ण, मिनियाँलगायत धेरै माग हुने औषधि बजारमा पठाउन सकेको छैन । आर्थिक वर्ष २०७१÷०७२ देखि २०७४÷०७५ को अवधिमा त ४० प्रकारका औषधि मात्रै उत्पादन भए ।
सिंहदरबार वैद्यखानामा औषधि उत्पादन गर्ने प्रायः उपकरण पनि पुराना छन् । हाल वैद्यखानाले पर्याप्त औषधि उत्पादन गरिरहेको छैन, उत्पादित औषधि पनि अन्तर्राष्ट्रिय मापदण्ड ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ अनुसार छैनन् । जीएमपी प्रमाणपत्र प्राप्त गर्न औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपकरण र प्रक्रियाअनुसार उत्पादन गर्नुपर्ने हुन्छ ।
नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक तथा आयुर्वेदिक उपचारसम्बन्धी ‘कन्सल्ट्यान्ट’ सेवा प्रदान गर्ने सिंहदरबार वैद्यखाना विकास समिति धराशायी बनेको देखिन्छ । २०७५ असारमा मन्त्रिपरिषद्को बैठकको निर्णय गरेसँगै वैद्यखानालाई कच्चापदार्थ खरिद, औषधि उत्पादन र बिक्री कार्यमा अवरोध भएको थियो ।

व्यापारमा ठूलो गिरावट
नेपाल सरकारको स्वामित्वमा रहेका धेरै समिति र कम्पनीमध्ये सिंहदरबार वैद्यखाना सामान्यतया नाफामा सञ्चालन हुँदै आएको संस्था थियो ।
कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका थिए । तर, यस्तो बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना विकास समितिले आयुर्वेदिक औषधि उत्पादन नगर्दा अभाव भएको अनुभूति गरे ।
नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा शरीरलाई तागत दिने र रोगप्रतिरोधी क्षमता बढाउने शिलाजित, पीडाहर, आसव अरिष्टजस्ता महŒवपूर्ण आयुर्वेदिक औषधि उत्पादन बन्द हुँदा अभाव भएको हो ।
साइड असर नगर्ने हुँदा आयुर्वेदिक औषधि प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको र यस्तो अवस्थामा ठूलो मात्रामा व्यापार गर्न सक्ने अवसर प्राप्त भए पनि सिंहदरबार वैद्यखानामा भण्डारण गरिएका अधिकांश आयुर्वेदिक औषधि सकिएका मात्र छैनन्, उत्पादन पनि ठप्पै भएको छ । यसको प्रत्यक्ष फाइदा निजी आयुर्वेदिक औषधि उत्पादक कम्पनीहरूले लिइरहेका छन् । आयुर्वेदिक औषधि उत्पादन गरेर फाइदा लिन सक्ने अवसर प्राप्त भए पनि सरकारले उत्पादनमा खासै चासो देखाएको छैन । सरकारी कम्पनीले आयुर्वेदिक औषधि उत्पादन नगरेपछि निजी क्षेत्रले चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन औषधि बिक्री गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।
सिंहदरबार वैद्यखानाका उत्पादनमध्ये सर्वाधिक बिक्री हुने च्यावनप्रास, शिलाजितलगायतका औषधि नपाउँदा दैनिक सयौंको संख्यामा आउने ग्राहक खाली हात फर्कन बाध्य छन् । औषधि उत्पादनका लागि करोडौंमा खरिद गरिएका उपकरणहरू पनि त्यत्तिकै थन्किएका छन् । सिंहदरबार वैद्यखानामा आयुर्वेदिक मल्हम खोज्दै दिनप्रतिदिन सयभन्दा बढी सेवाग्राही आउने गरे पनि वैद्यखानाको औषधि पसलमा पाइँदैन ।
सिंहदरबार वैद्यखानाले आफ्नो क्षमताअनुसार आवश्यक आयुर्वेदिक औषधि नियमित उत्पादन गर्ने हो भने वार्षिक १५ देखि २० करोड आम्दानी सहजै गर्न सक्छ । तर, वैद्यखानाका केही उच्च कर्मचारीको निजी उत्पादकसँगको साँठगाँठमा न्यून मात्रामा आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ । २०७६÷०७७ मा वार्षिक बजेट रु. ३ करोडबाट ६ करोड ७० लाखको आय र रु. ५ करोड ३२ लाख व्यय भएको देखिन्छ । आन्तरिक स्रोत करिब रु. ७ करोडको परिचालन भएको देखिन्छ ।
सन् २००६ मा स्थापना गरिएको पतञ्जली आयुर्वेद लिमिटेडको कारोबार अपेक्षाभन्दा धेरै रहेको छ । पतञ्जली आयुर्वेदले विविध दैनिक उपभोग्य वस्तुहरू उत्पादन गर्छ । एफएमसीजी अर्थात् फास्ट मुभिङ कन्जुमर गुड्स भन्नाले दैनिक उपभोग गरिने वस्तुहरू जो तुलनात्मक रुपमा कम मूल्यको हुन्छ र यस्ता उत्पादनको खपत पनि दैनिक रूपमा हुन्छ, जसको कारणले यसलाई फास्ट मुभिङ भनिन्छ ।
आचार्य बालकृष्ण र बाबा रामदेवद्वारा प्राचीन ज्ञान, आयुर्वेद र वर्तमान प्रविधिको संयोजित उत्पादन उपभोक्तालाई प्रदान गराउने उद्देश्यले सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना गरिएको देखिन्छ ।
पतञ्जली आयुर्वेदका उत्पादन खाडी मुलुकहरूमा समेत पुग्ने गरेको छ । कारोबारको फाइदा यी देशहरूको विकासमा उपयोग गर्न सकिने बाबा रामदेव भन्छन् ।
बहुराष्ट्रिय कम्पनीहरूलाई चुनौती दिँदै पतञ्जली आयुर्वेद लिमिटेड आफू पनि एक बहुराष्ट्रिय कम्पनीको रूपमा स्थापित हुन प्रयास गरिरहेको छ र यो कुरा पतञ्जली आयुर्वेदको बढ्दो वार्षिक कारोबारले पुष्टि गर्छ ।
उत्पादन र क्षेत्र विस्तारसहित पतञ्जली आयुर्वेद एफएमसीजी प्रदायकको रूपमा मात्र सीमित नरहेर शक्तिशाली बहुराष्ट्रिय कम्पनीको रूपमा स्थापित हुन पहिला वर्षका प्रगतिअनुरूप धेरै समय नलाग्ला ।
अहिले त नेपालमा पनि पतञ्जलीका उत्पादनहरू घरघरमा देख्न थालिसकेको छ भने गएका दशकमा टिभीमा योग सिकाउने रामदेव बाबा र आचार्य बालकृष्ण अब पुँजीपति पनि भइसकेका छन् । यति छिटो यति प्रगति गर्ने पतञ्जली अहिले विश्वका सर्वोत्तम बहुराष्ट्रिय कम्पनीहरूका लागि पनि एउटा नौलो उदाहरण भएको छ । औद्योगिक पदार्थ या उत्पादनभन्दा पनि धर्म, संयम अनि पूर्वीय सभ्यता र जीवनशैलीलाई पतञ्जलीले भजाउन सफल मानिन्छ । केही उत्पादनहरू बजारमा आउनासाथ प्रत्युत्पादक पनि नभएका हैनन्, तथापि पतञ्जलीको बढ्दो ब्रान्डका अगाडि साना कुराहरू बिलाएर गएका छन् ।
कुनै पनि ब्रान्ड ल्याउनुअघि एउटा बलियो समुदाय बनाउन जरुरी रहेको पतञ्जलीले विश्वलाई सिकाएको छ । अहिले विश्वका हरेक मार्केटिङ सिकाउने विश्वविद्यालयमा पतञ्जलीको मार्केटिङलाई नयाँ धारको बजारशास्त्रका रूपमा सिकाइन्छ अनि बाबा रामदेव पनि बाबा, व्यवसायी मात्र नभई कहिलेकाहीं गेस्ट स्पिकर भएर विश्वविद्यालयमा बजारशास्त्रमा पनि प्रवचन दिन पुग्छन् । सिंहदरबार वैद्यखाना र नेपालले बाबा रामदेवबाट धेरै सिक्नु छ भन्नुमा अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्