अस्तव्यस्त अर्थतन्त्र र सरकारको दृष्टि «

अस्तव्यस्त अर्थतन्त्र र सरकारको दृष्टि


संविधान निर्माणपश्चात् पनि राजनीतिक अस्थिरता कायम रहेको, अस्थिर सरकारले पुष्टि गरिरहँदा, कोरोना कहरको प्रभाव अझै नसकिएको यस अवस्थामा अर्थतन्त्रका महŒवपूर्ण सूचकहरूमा सुधारपूर्ण स्थिति नदेखिँदा वर्तमान अर्थतन्त्र एक निराशपूर्ण अवस्थामा पुगेको स्पष्ट देख्न सकिन्छ ।
शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चिति वा विप्रेषणमा कमी आउनु, बैंकहरूमा १ खर्ब माथिको तरलता अभाव भएकै कारण ऋण प्रवाह गर्न नसक्नु, आयातको मात्रा तीव्र गतिमा बढ्नु र दृश्यमा नदेखिने गरी पुँजी पलायन भइरहनुले नेपालको वर्तमान आर्थिक अवस्था सिर्जना भएको भन्दा गलत हुनेछैन ।
डलरको मूल्य महँगो भएर सीमा नाघेको देखिन्छ । एकातर्फ स्वदेशभित्र बेरोजगारीको समस्या अनि अर्कातर्फ रोजगार आमसर्वसाधारण पनि उच्च मात्रामा करको दायरामा रही महँगीको सिकार हुनुले हाम्रो आर्थिक हैसियत प्रमाणितसमेत गरेको बुझिन्छ । हो, एकातर्फ विलासी वस्तुको खरिद–बिक्री उच्च मात्रामा भइरहेको छ भने अर्कातर्फ दुई छाक खान कठिनसमेत भइरहँदा धनी झन् धनी र गरिब झन् गरिब हुँदै गएको हो कि जस्तो पनि देखिन्छ ।
मोटरसाइकल चलाउनका निमित्त प्रयोग हुने इन्धन होस् या कराईमा तरकारी पकाउनका निमित्त प्रयोग हुने खाने तेल होस्— प्रयोग गर्नुअघि मन झसङ्ग हुने अवस्था आउन सुरु भइसकेको छ । महँगीले अर्को उचाइ लिइरहँदा कात्तिक महिनाकै मात्र मूल्य वृद्धि ५.३२ प्रतिशत रहेको देखाउँछ । नेप्से परिसूचक विगत केही महिनाभित्र नै करिब १ हजार अंक तल आइसक्दा सेयर बजारको वास्तविक अवस्थासमेत त्यहींबाट झल्किएझैँ देखिन्छ ।
गणतन्त्रपश्चात् स्वीजरल्यान्ड बनाउँछु भन्ने नेतृत्वले आज गणतन्त्र प्राप्तिको डेढ दशक बितिसक्दा स्वीजरल्यान्डको कुन छेउ पुग्यो भन्ने हिसाब गरेकै होलान् । नीति–नियम आकर्षक बनाएझैँ देखिने, मीठा गफले सुधारउन्मुख छ कि झैँ लाग्ने नेपाली अर्थतन्त्रमा वास्तविकता हेर्न कुनै साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर त्यहाँ भएको दृश्य हेरे मात्र पनि पुग्छ ।
दक्षिण एसियाकै तुलना गर्दा पनि प्रतिव्यक्ति आय राम्रै देखिए तापनि जीवनस्तर सोहीअनुरूपको हुन सक्या छैन । यहाँ विवाह गर्न, उपचार गर्नदेखि कर तिर्नकै निमित्त बैंकबाट ऋण लिनुपर्ने अवस्था छ ।
एउटा अधिकृतको तलबले सहरमा बसेर जीवनयापन गर्न, छोराछोरी पढाउन कठिनपूर्ण अवस्था छ । वर्तमान अर्थतन्त्रको अवस्थाका निमित्त कुनै एक पक्षमात्र दोषी होइनन्, त्यहाँ विभिन्न पक्षहरू आबद्ध रहेका छन् । कुनै एक कारणले यो अवस्था सिर्जित भएको अवश्य हैन, यसको पछाडि विभिन्न पक्षहरू रहेका छन्, जसले यस्तो अवस्था निम्त्याएका हुन् । सर्वप्रथम त नेपाली नेतृत्वको आर्थिक दृष्टिकोणको अभावले गर्दा नै नेपाल आज यो आर्थिक अवस्थामा पुगेको छ ।
हिजो पढेलेखेको व्यक्ति पनि आए, आज सैनिक कमान्डर सम्हालेका व्यक्ति पनि छन्; राजनीतिक आस्था अलग, विचारधारा फरक अनि व्यक्तित्व फरकले गर्दा उनीहरूले हेर्ने दृष्टिकोण फरक नै रहिरह्यो । कसैले सैद्धान्तिक पक्षलाई यथार्थमा रूपान्तरण गर्न व्यस्त भए र नतिजा शून्य भयो, कसैले लोकप्रियताको निमित्त सक्दो बल प्रयोग गरे ।
तर, कसैले राष्ट्रिय अवस्था हेरेर राष्ट्रिय आवश्यकता के हो भनी पहिचान गर्न सकेनन् । फलस्वरूप नेपालमा एकीकृत आर्थिक नीति आउन सकेन, अनि सरकार फेरिएसँगै अर्थतन्त्र हेर्ने दृष्टिकोण फेरिरह्यो !
प्राथमिकताको पहिचान गर्न नसक्नु हाम्रो अर्थतन्त्रको अर्को समस्या हो । हाम्रो आर्थिक प्राथमिकता के भन्ने नै कसैलाई थाहा छैन, कुन क्षेत्रलाई बढी प्रोत्साहन चाहिएको छ भन्नेबारे ज्ञान कसैसँग छैन । आर्थिक विकासको निमित्त के–के मापदण्ड निर्माण गर्ने र केलाई प्राथमिकतामा राख्ने भन्ने कुनै योजना कसैसँग छैन ।
फलस्वरूप काठमाडौँ–निजगढ द्रुतमार्ग सधैं अलमलमा रहेको देखिन्छ, रेल भित्रिन्छ तर सञ्चालन हुन सक्दैन, रेलवे ट्र्याक निर्माण कार्य सरकार परिवर्तनसँगै ओझेलमा पर्छ अनि मेलम्चीजस्ता परियोजना अन्धकारमै गुम्सन्छन् ।
नेपालमा उद्यमशीलता प्रवद्र्धन गर्न नसक्नु एउटा अर्को महŒवपूर्ण पक्ष हो । बल्लतल्ल जोहो गरेर, जोखिम लिएर यदि कसैले उद्यम सुरुवात गर्छ भने त्यसलाई प्रवद्र्धनभन्दा पनि खुट्टा तान्ने परम्परा हाबी देखिएको हाम्रो मुलुकमा उद्यमशीलता प्रवद्र्धन नहुँदा रोजगारीको अवसरदेखि लिएर राजस्व संकलनसम्ममा क्षति भइरहेको देखिन्छ ।
त्यसबाहेक अल्पज्ञानले नेपाली अर्थतन्त्रलाई झन् धरापमा लैजाँदै गरेझैँ देखिन्छ । सेयर बजारबारे बेलाबेला आइरहने राजनीतिक वाक्यहरूले त्यसको पुष्टि गरेको छ । त्यसमाथि हामीलाई नियन्त्रण गर्ने तेस्रो शक्ति रहिआएको आशंका रहँदै गर्दा हाम्रो वास्तविक यथार्थ पनि त्यही चित्रण हुन्छ ।
अर्थतन्त्र सुधारउन्मुख नहुनु पछाडि अर्को कारण ठोस योजनाको अभाव पनि हो । २०८२ सम्म मध्यपहाडी राजमार्ग सम्पन्न हुने लक्षण अझै देखिँदैन । त्यसको निमित्त बजेट छुट्ट्याइए तापनि कुनै योजना निर्माण भएको देखिँदैन, अनि आफ्नै गतिमा बिस्तारै उक्त कार्य भइरहेको छ । यहाँ सडक निर्माण हुन्छ, आकाशे पुल बनाइन्छ अनि सडक चौडा पार्ने हेतुले फेरी सोही आकाशे पुल भत्काइन्छ । सुरुमा बाटो पिच गरिन्छ, अनि ढल वा पानीको निमित्त भनेर पुनः भत्काइन्छ । तीनकुनेमा हिजो भव्य सजावट भयो, तर आज त्यहाँ अवस्थित कुनै निजी कम्पनीको घडीसमेत नचल्ने अवस्थामा छ र के गर्नेबारे कुनै योजना छैन । सरकारी खर्च गर्नुपर्छ भनिन्छ, तर कहिले कसरी कुन मात्रामा गर्ने भन्ने विवाद हुँदाहँुदै आर्थिक वर्ष समाप्तितर्फ पुगिन्छ, अनि विगतझैँ मसान्तमा अर्बौं रकम बाहिरिन्छ ।
विकासउन्मुख मुलुकमा आर्थिक अस्थिरता एक सामान्य गुण हो । तर, मुलुकको स्तरोन्नतिका निमित्त अर्थतन्त्र स्थिर हुन पनि उत्तिकै आवश्यक छ । यो कुनै एक पक्षले चाहेर हुने अवश्य हैन । हिजो राजनीतिक अस्थिरतापश्चात् एउटा सतह बनेको झैँ भएको छ । यहाँ प्रयास नभएका हैनन्— नेपाल राष्ट्र बैंकले प्रतीतपत्रलाई निरुत्साहित गर्न लगाएको बन्देजदेखि ट्रेजरी बिल सोझै खरिद गर्नेसम्मको कदम, ब्याजदरमा हस्तक्षेपदेखि विभिन्न कदम प्रयास गरेकै देखिन्छ । तर, अर्थतन्त्रको जग नबसेको हाम्रो मुलुकमा सुरुमा बलियो जगकै आवश्यकता छ, अन्यथा सम्पूर्ण कदम अस्थायी समाधान मात्र हुने हुन्छन् । जबसम्म सम्पूर्ण वित्तीय शक्ति, राजनीतिक शक्ति एक ठाउँ आएर निचोड निकाल्ने प्रतिबद्धता व्यक्त गर्दैनन्, नेपालमा स्थिर अर्थतन्त्र अझै सम्भव छैन ।

प्रतिक्रिया दिनुहोस्