Logo

चिसोबाट वृद्ध तथा बालबालिका जोगाऔं

नेपालमा प्रत्येक वर्ष हिउँद तथा जाडो मौसममा चिसोले कठ्याङ्ग्रिएर मजदुर र विपन्न वर्गको अवस्था दयनीय हुनुका साथै कतिपय मानिसले चिसोका कारण आफ्नो ज्यान गुमाएको पनि हामीले खबरहरू सुन्ने गरेका छौं ।
यतिबेला उपत्यकामा पनि दिन–प्रतिदिन चिसो बढ्दै गएको छ । यसका साथै पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लामा बढ्दै गरेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
यतिबेला मौसम बद्ली तथा बढिरहेको चिसोका कारण प्रायः मानिसहरूलाई रुघाखोकी तथा भाइरल ज्वरोको समस्या देखिएको छ । चिसो बढेसँगै देशभरका अस्पताल, स्वास्थ्यचौकीहरूमा बिरामीको चाप पनि बढ्ने गरेको छ । अझै यसले बढी प्रभावित बालबालिका तथा वृद्धहरूका साथै विपन्न वर्गका मानिसहरूलाई बढी पिरोल्ने गर्छ ।
बालबालिकाहरू विद्यालय जाने क्रममा खानपिन नमिल्ने तथा एक बच्चा बिरामी भएमा उक्त बच्चा सबै बालबालिकाहरूको सम्पर्कमा आउनाले एकबाट अर्को बच्चा संक्रमित हुनाले पनि यति बेला बालबालिकालाई जोगाउन निकै नै महŒवपूर्ण छ । यतिका समयसम्म घर परिवेशमै बसेका कारण र सम्पूर्ण विद्यालयहरू सञ्चालनमा आएका कारण पनि बच्चाहरू बढी बिरामी पर्ने गर्छन् । किनकि स्वयम् मेरो बच्चा पनि यतिका समयसम्म घरमै बस्दा प्रायः बिरामी परेको थिएन, तर विद्यालय सञ्चालनपश्चात् र बढ्दै गएको चिसोका कारण बारम्बार रुघाखोकी लाग्ने, कान दुख्ने, घाँटी दुख्ने र ज्वरो आउने समस्याले पिरोलिरहेको छ ।
डाक्टरको परामर्शअनुसार बच्चाहरूलाई खानपिन, बढिरहेको चिसो र धूवाँधूलोको एलर्जीका कारण उक्त समस्या बारम्बार देखिएको हो भन्ने उहाँको भनाइ रहेको छ । यसरी बारम्बार रुघाखोकीको समस्याबाट जोगिन तथा कोरोना संक्रमणबाट बच्ने हिसाबले तथा कोरोना भइहालेमा पनि खासै प्रभाव नपार्ने हेतुले फ्लुको भ्याक्सिन लगाउन परामर्श दिनुभएको कारणले केही हप्ताअघि मात्र भ्याक्सिन दिएका छौं । यस प्रकारको भ्याक्सिन सबै उमेर समूहका मानिसहरूले लगाएमा कोरोना भइहालेमा पनि स्वास्थ्यमा खासै असर नपर्ने भनाइ रहेको छ ।
विपन्न वर्गहरूमा आवश्यक मात्रामा लत्ताकपडा नहुनुका साथै पौष्टिक आहारसमेत सेवन गर्न नपाउनुले उनीहरूलाई अन्यको दाँजोमा शीघ्र रूपमा भाइरल रोगले सताउने गर्छ ।
वृद्धहरूमा पनि श्वासप्रश्वास तथा रुघाखोकी, दम, निमोनियाँ, कोल्ड डायरिया र भाइरल ज्वरोले सताउने गर्छ । किनकि प्रायः दीर्घरोगी तथा अत्यधिक मानिसहरू यथावत् रूपमा बिहानीमा हिँडडुल गर्ने, व्यायाम गर्ने गर्छन् ।
तर, केही दिनयता चिसो ह्वात्तै बढेका कारण साँझ–बिहान एकदम चिसो छ । त्यसैले व्यायाम गर्ने क्रममा साँझ–बिहान घरबाट निक्लिँदा चिसोको कारण रुघाखोकी लाग्ने गर्छ । त्यसैले चिसोको मौसममा वृद्ध समूहका व्यक्तिहरूले आफूलाई पायक पर्ने स्थान तथा घरमै बसी कसरत तथा योगहरू गर्न जरुरी छ ।
जाडोयाममा कोरोना भाइरससहित विभिन्न किसिमका संक्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने हुन्छ । नेपालमा अहिले कोरोना भाइरस संक्रमण दर निकै कम भएको देखिए पनि चिसो मौसममा कोरोना भाइरससँगै इन्फ्लुएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन् ।
चिसोबाट बच्ने उपायहरू :
–बाक्लो तथा न्यानो लुगा लगाउने,
–शिशुलाई आमाको दूध प्रशस्त खुवाउने,
–पोसिलो खानेकुरा खाने,
–ताजा फलफूल र सागपात खाने,
–दूध, मह, सुप प्रशस्त सेवन गर्ने,
–मनतातो पानी पिउने,
–रुम हिटर, हट वाटर ब्यागको प्रयोग गर्ने,
–धूलोधूवाँबाट बच्ने ।
नेपालमा निमोनियाँलगायतका छातीको संक्रमणले बालमृत्युदरको सबभन्दा बढी हिस्सा ओगट्नुका साथै निमोनियाँका कारण हरेक वर्ष पाँच वर्षमुनिका ५ हजार ६ सय बालबालिकाको ज्यान जाने गरेको छ । त्यसैले रुघाखोकीबाट जोगाउन ६ महिना पूरा भइसकेका बालबालिकालाई इन्फ्लुएन्जा भ्याक्सिन र निमोनियाँबाट जोगाउन निमोकोकल भ्याक्सिन लगाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्