मालढुंगा–बेनी जोड्ने सडक दैनिक पाँच घण्टा बन्द हुने «

मालढुंगा–बेनी जोड्ने सडक दैनिक पाँच घण्टा बन्द हुने

हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाको बैठकले मालढुंगा–बेनी सडक निर्माणको कामलाई सहज रूपमा गति दिन १५ पुस गतेदेखि १४ माघ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले १५ पुसदेखि १४ माघ गतेसम्म प्रत्येक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म मालढुंगा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय ब्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए । १३ किलोमिटर दुरिको सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भीष्म मल्ललगायत सरोकारवाला र सुरक्षा अधिकारीको उपस्थितिमा बैठक बसेको थियो ।
बैठकले सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र ब्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजिकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने भएको छ ।
मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकूल मौसम भएको समयमा सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हँुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
मालढुंगा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तरगत पर्छ । २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बिभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।
हाल पिच सहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रबिधीको कालोपत्रे गर्न लागिएको हो ।
वि.सं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् ।
बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरिङका हरि आचार्यले बताए । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुंगा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

प्रतिक्रिया दिनुहोस्