फोहोर व्यवस्थापनमा जुट्दै चन्दननाथ «

फोहोर व्यवस्थापनमा जुट्दै चन्दननाथ


फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै विगतदेखि चन्दननाथ नगरपालिका गुनासो खेप्दै आएको छ । स्मार्ट सिटी बनाउने योजनासहित निर्वाचनमा होमिएर जितेकी मेयर कान्तिका सेजुवाल, सुन्दर हरियाली नगर बनाउने एजेण्डासहित उपमेयरमा जितेकी अप्सरादेवी न्यौपानेलगायतका चन्दननाथका जनप्रतिनिधिले बितेको चार वर्षमा पनि फोहोरमैला व्यवस्थापन उचित रुपमा गर्न सकेनन् ।
मेयर उपमेयरको विवाद, कर्मचारी नटिक्ने, नागरिकको असहयोग लगायतका कारण फोहोर व्यवस्थापनका विभिन्न प्रयास पनि असफल भए । तर अहिले भने चन्दननाथ नगरपालिका सुन्दर नगर बनाउने योजनासहित फोहोर व्यवस्थापनमा जुटेको छ ।
“फोहोर व्यवस्थापनलाई पहिलो प्रथामिकता दिएर हामी अघि बढीरहेका छौं” प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भने, “विगतका के कारण फोहोर व्यवस्थापनदेखि अन्य काम लक्ष्य अनुसार भएन् त्यो विषयमा समीक्षा गरौंला । अब आम नागरिकका गुनासालाई मध्यनजर गर्दै करिब ४० वर्षसम्म प्रयोग हुने डम्पिङ साइटसहित फोहोर व्यवस्थापनमा जुटेका छांै ।”
कम्तीमा १५ वर्षसम्म फोहोर व्यवस्थापन हुन गरी चन्दनाथ नगरपालिका २ भण्डारीबाडाको (दुनादुनी) मा डम्पिङ साइटको व्यवस्थापन भएको छ ।
चन्दननाथका वातावरण तथा विपद व्यवस्थापन उपशाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपाने स्थानीयले सहमति दिएपछि (दुनादुनी)मा डम्पिङ साइटको व्यवस्थापन गरी फोहोर फाल्न सहज भएको बताए । “जग्गाको उत्पादन बराबरको क्षतिपूर्ति दिनुपर्ने, ल्याण्डफिल्ड साइटसम्म जाने सडक स्तरवृद्धि गर्नुपर्ने स्थानीयको माग यथावत छ” उनले भने, “नगरपालिकाले टुक्रे योजना भन्दा क्रमागत योजनाका रुपमा डम्पिङ साइट जाने सडक निर्माण गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्