एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने : प्रधानमन्त्री देउवा «

एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताए ।
आइतबार नेकपा (माओवादी केन्द्र) को ८आँं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका हुन् ।
उनले एमसीसी राष्ट्रघाती नभएको र सित्तैमा आउने पैसा लिन्न भन्न नमिल्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आफू पनि प्रजातन्त्रको लागि लडेको व्यक्ति भएकोले राष्ट्रियताविरुद्ध नजाने बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘मैले एउटा कुरा बोल्नै पर्ने भयो, म अरु कुरा गर्न आएको थिएँ, एमसीसी राष्ट्रघाती भनिदिए । राष्ट्रघाती भन्ने पढेको छ कि छैन त्यो पनि थाहा छैन मलाई त । पहिला पढ्नुपर्छ । मैले देखेकै छैन । म पनि नेपालको प्रधानमन्त्री हुँ, म नेपालको राष्ट्रको खिलाफमा जाउँला ? म पनि प्रजातन्त्रको लागि लडेको मान्छे हो । राष्ट्रघाती सन्धि किन गरुँला ? एमसीसी नेपालको हीतमा छ । सित्तै आएको पैसा हो यो । यसमा व्यापक छलफल गरेर सहमति भएर हामी पास गराउने छौँ ।’
प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार पूरा समयसम्म चल्ने दाबी गरे । उनले गठबन्धन कसैको बिरुद्धमा नबनाइएको भन्दै संसद र संविधान बचाउने भनेकै गठबन्धन भएको बताए ।
प्रधानमन्त्री देउवाले आफूले निर्वाचनभन्दा अघिसम्म पनि गठबन्धन जानुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको बेलामा जो हाम्रो गठबन्धन बनेको छ, यो कसैको बिरुद्धमा होइन, तर के छ भने अहिलेको संविधानबाट जो, संसद पूरा चलोस्, बीचमा संसद भंग नहोस्, मनपरी भंग नहोस्, भनेर संविधान बनाइएको जस्तो लाग्छ । म पनि संविधानसभाको सदस्य थिएँ । यो संविधानको आधारमा फेरि हामीले अदालतमा गएर बनाएको गठबन्धन छ,यो कसैको खिलाफको गठबन्धन होइन । संविधानका साथै संसद बचाउने गठबन्धन हो । गठबन्धन पूरा समयसम्म चल्नेछ । यसमा कसैले शंका नगरे हुन्छ ।
म त अझ अगाडि पनि गठबन्धन जाओस् भन्ने चाहन्छु, ओलीजीहरुलाई नलागोस् कि हाम्रो खिलाफमा गठबन्धन गरे, आफूले त मिल्न पाइन्छ नि ।’
प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकै अगुवाइमा संविधानसभाको चुनाव भएको स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्