बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण बर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्वप्रमुख चाल्र्स पुज्डमोनले आफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन् ।
क्याटलोनियालाई स्पेनबाट छुट्ट्याउने र स्वतन्त्र राज्यको घोषणा गर्ने अभियानको नेतृत्व गरेको भनी पुज्डमोनलगायतका तत्कालीन सरकारका केही मन्त्रीलाई स्पेनले अक्टोबर २७ मा बर्खास्त गरी कारबाही गरेको थियो । बर्खास्तीसँगै उनीलगायतका केही नेता बेल्जियममा स्वघोषित निर्वासनमा रहँदै आएका छन् ।
पुज्डमोनलाई उद्धृत गर्दै क्याटलोनिया रेडियोले भनेको छ, “क्याटलोनियाबारे मेरा दुई विकल्प छन् । पहिलो विकल्प भनेको स्पेन फर्किने र राज्यविद्रोह, कानुनको उल्लंघन र सार्वजनिक कोषको दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्ने हो । जेलमा रहँदा मैले जनतालाई सम्बोधन गर्न, लेख्न वा भेट्न पाउँदिनँ ।”
त्यसैले अर्को विकल्प भनेको, “आफू स्वतन्त्र र सुरक्षित रहेर क्याटलोनियाको नेतृत्व सञ्चालन गर्ने हो ।”
“हिजोआज ठूला व्यवसाय, शैक्षिक तथा अनुसन्धानका गतिविधिलाई टाढै बसेर पनि नयाँ प्रविधिको प्रयोग गरी अध्ययन गर्न सकिन्छ,” उनले विदेशमा रहेर पनि नेतृत्व सम्हाल्न सकिने तर्क प्रस्तुत गर्दै भने ।
पुज्डमोनको यो भनाइ नयाँ नेतृत्वका लागि क्याटलोनियाको नयाँ संसद्का सभामुख तथा स्वतन्त्रता पक्षधर ईआरसी पार्टीका रोगर टोरेन्टले पार्टीका नवनिर्वाचित सदस्यसँग क्षेत्रीय प्रमुखका लागि गरेको छलफलपछि आएको हो ।
स्पेनका प्रधानमन्त्री मारियानो राखोएले बेल्जियममा निर्वासनमा रहेका क्याटलोनियाको स्वतन्त्रताको पक्षमा नेतृत्व दिएका नेता काल्र्स पुज्डमोनले विदेशबाटै क्याटलोनियामा शासन गर्न खोजे केन्द्रको प्रत्यक्ष नियन्त्रणलाई जारी राख्ने गत सोमबार बताएका थिए ।
स्पेनको राजधानी म्याड्रिडमा आफ्नो दलका नेताहरूसँगको कुराकानीमा प्रधानमन्त्री राखोएले भने, “शासन गर्न ‘पुज्डमोन भौतिक रूपमा स्वदेश उपस्थित हुनुपर्ने’ यदि पुज्डमोन स्वदेश नआइकनै राज गर्ने दाउ गरेमा केन्द्र सरकारले गत अक्टोबरदेखि क्याटलोनियामा चलाएको प्रत्यक्ष शासनलाई जारी राख्नेछ ।”
स्पेनी कानुनअनुसार क्षेत्रीय नेता वा प्रमुखमा निर्वाचित हुन उनले सिद्धान्ततः संसद्को अधिवेशन वा नयाँ नेतृत्व चयन प्रक्रियास्थलमा भौतिक रूपमा उपस्थित हुनुपर्छ । तर, पुज्डमोनले आफूले प्रत्यक्ष भिडियोमार्फत वा मन्तव्य लेखेर यसलाई आफ्ना कुनै प्रतिनिधिको सहयोगमा संसद्मा आफ्ना धारणा राख्न चाहेका हुन् ।