ट्यांकरको गुणस्तर परीक्षण नेपालमै गरिने

इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन (गुणस्तर परीक्षण) नेपालमै गरिने भएको छ । पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट इन्धन चुहावट हुने क्रम बढेपछि गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेसन (गुणस्तर परीक्षण) गर्ने भौतिक पूर्वाधारसहितको युनिट खडा गरेको हो ।
लिब्रेसन गर्ने युनिट निर्माण कार्य सम्पन्न भएकाले आगामी छठपछि ट्यांकरको क्यालिब्रेसन सुरु गरिने विभागले जानकारी दिएको छ ।अत्याधुनिक प्रविधिसहितको सुविधा नेपालमा नहुँदा नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले गर्ने क्यालिब्रेसनलाई मान्यता दिँदै आएको छ । भारतले गर्ने क्यालिब्रेसनका कारण समय–समयमा कम परिमाणमा इन्धन हुने समस्या आउने गरेको छ । भारतमा सञ्चालन हुने ट्यांकरमा भारत र नेपालमा सञ्चालन हुने ट्यांकर निगमका डिपोमार्फत क्यालिब्रेसन गरिँदै आएको छ ।
विभागका महानिर्देशक विश्ववावु पुडासैनीले ट्यांकरमा क्यालिब्रेसन गर्न हेटौंडामा युनिट निर्माण कार्य सम्पन्न भएकाले केही दिनमै सञ्चालनमा आउने जानकारी दिए । “४५ लाख रुपैयाँको लागतमा क्यालिब्रेसन टावर निर्माण सम्पन्न भएको छ,” महानिर्देशक पुडासैनीले भने, “पानी र विजुली बत्ति जडानगरेसँगै छठपछि सञ्चालनमा ल्याउँछौं ।”
नेपालमा हालसम्म यो क्षमताको अत्याधुनिक सुविधासहितको क्यालिब्रेसन युनिट छैन । “यो युनिटको सहयोगमा इन्धन ट्यांकरको क्यालिब्रेसन गर्नुका साथै फ्लो मिटर र वाटर मिटरको पनि परीक्षण गर्न अब नेपालमै सम्भव हुन्छ,” महानिर्देशक पुडासैनीले भने, “मुलुकमै परीक्षण हुन थालेपछि व्यवसायीले गर्ने बदमासी कम हुने छ ।”
ट्यांकरमा क्यालिब्रेसन गर्न वीरगन्ज र केन्द्रीय कार्यालयबाट प्राविधिक पठाइने विभागले जानकारी दिएको छ ।नेपालका आयल निगमका प्रवक्ता वीरेन्द गोइतले नेपालमा क्यालिब्रेसन गर्नु अति राम्रो भएको बताए । यसले गर्दा इन्धनको तौलमा हुने कमीको समस्या स्वतः नियन्त्रण हुँदै जाने उनको भनाई छ । इन्धन बोक्ने ट्यांकरको प्रत्येक वर्ष क्यालिब्रेसन गर्ने व्यवस्था भए पनि नेपालमा भने कडाइका साथ कार्यान्वयनमा नल्याइँदा इन्धन बिक्रेतासमेत समय समयमा ठगिँदै आएका छन् ।
विभागका अनुसार अहिले नेपालमा ट्यांकरको क्यालिबे्रसन नगन्य मात्रामा हुँदै आएको छ । यो युनिट सञ्चालनमा आएपछि खाली ट्यांकरका साथै भारतबाट इन्धन बोकेर आउने ट्यांकरको समेत क्यालिब्रेसन गरिनेछ । निगमसँग अनुमति लिएर हाल एक हजार पाँच सय ट्यांकर सञ्चालनमा छन् । ट्यांकर सञ्चालकले वर्सेनि पाँच हजार रुपैयाँ तिरेर अनिवार्य रूपमा एकपटक क्यालिबे्रसन गर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ ।
निगम स्रोतका अनुसार आईओसीको क्यालिब्रेसनका आधारमा इन्धन ल्याउँदा हरेक ट्यांकरमा २० देखि ४७ लिटर कम परिमाणमा इन्धन भेटिने गरेको पाइएको छ । “आईओसीले नेपाली क्यालिब्रेसनलाई नमान्दा उसले दिएको परिमाणलाई नै मान्नुपर्ने हाम्रो बाध्यता छ,” निगमका एक उच्च अधिकारीले भने ।
उनका अनुसार निगमले आफूखुसी भारतीय क्यालिब्रेसनलाई मान्यता दिएर तोकिएको परिमाणभन्दा बढी तेल नोक्सानी देखाउने गरेको छ ।
इन्धन चुहावटलाई नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आपूर्ति मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधि सम्मिलित एक समितिले करिब दुई वर्षअघि गुणस्तर तथा नापतौल विभागबाट ट्यांकरको क्यालिब्रेसन गर्न निर्देशन दिएको थियो ।