बेनी–जोमसोम–कोरला सडक
मुस्ताङमा कालोपत्रे, म्याग्दी खण्डको काम सुस्त

म्याग्दी-बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दी खण्डको काम सुस्त गतिमा अघि बढेको छ । मुस्ताङ खण्डमा कालोपत्रे र ग्राभेलको काम धमाधम भई रहँदा म्याग्दी खण्डमा भने निर्माण व्यवसायीले आलटाल गरिरहेका छन् । मुस्ताङ खण्डमा कैकु खोलादेखि खन्तीसम्मको २० किलोमिटर सडक अधिकाँश कालोपत्रे गरिएको छ । यो खण्डको सडक कालोपत्रेका लागि शर्मा गजुरमुखी जेभीसँंग ५४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर ग्राभेल सडकलाई समेत कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ । मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नगन्य छ । बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक जम्मा ६५ प्रतिशत प्रगति हुँदा जोमसोमदेखि–कोरलासम्मको १ सय १० किलोमिटर लामो सडक खण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए ।
बेनी–जोमसोम खण्डका चार वटा प्याकेजमध्ये मस्ुताङमा पर्ने कैकुखोलादेखि खन्तीसम्मको प्रगति सन्तोषजनक छ । खन्तीदेखि जोमसोमसम्मको सडकको जिम्मा लिएको कोसी पप्पु गौरी पार्वती एण्ड न्यौपाने जेभीलाई काम सक्न ताकेता गरिएको आयोजनाले जनाएको छ । खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको जेभिलाई काम नगरेपछि चार करोड बैंक धरौटी जफत गर्न ताकेता गरिएको आयोजनाले जनाएको छ । खन्तीदेखि जोमसोमसम्मको १८ किलोमिटर स्तरोन्नति र कालोपत्रेको जिम्मा कोसी एण्ड न्यौपानले ६२ करोड २ लाखमा ठेक्का लिएको थियो । न्यौपानेले विगत दुई वर्षदेखि काम गरेको छैन । यस खण्डअन्तर्गत म्याग्दी क्षेत्रमा पर्ने सडकको काम कुन पनि सन्तोषजनक छैन । आगामी चैतसम्म म्याद थप भए पनि यस खण्डमा निर्माण कम्पनीहृले उल्लेख्य मात्रामा जनशक्ति र मेसिन उपकरण परिचालन गर्न सकेका छैनन् ।
म्याग्दीको गलेश्वरदेखि मुस्ताङको जोमसोमसम्मको ७५ किलोमिटर सडक कालोपत्रेसहित स्तरोन्नतिका लागि ठेक्का लगाइएको थियो । “म्याग्दी खण्डमा काम गर्न निकै चुनौतीपूर्ण भयो, रुप्सेखोलादेखि लेतेसम्म, गलेश्वर, बेगखोला, तातोपानीलगायतका क्षेत्रमा बाढी, पहिरो र नदी कटानले निर्माण कार्यमा प्रत्यक्ष प्रभाव पारेको छ, निर्माण कम्पनीहरूको ढिलासुस्ती पनि समयमै काम नहुुनुको मुख्य कारणहरू हुन्,” आयोजना प्रमुख प्रजापतिले भने । हिउँदयाममा समेत म्याग्दी खण्डको काममा पर्याप्त मजदुर र मेसिन उपकरण कार्यक्षेत्रमा परिचालन हुन सकेको छैन । गलेश्वरदेखि–नारच्याङ पुलसम्मको २० किलोमिटर सडकको जिम्मा लिएको शर्मा युनाइटेड जेभीले ६५ प्रतिशतमात्रै भौतिक प्रगति गरेको छ । उसले गरेको यो प्रगतिमा गत वर्षातमा बाढी पहिरोले क्षति पु¥याएको छ । तर अहिले पनि कम्पनीले कामलाई तीव्रता दिन सकेको छैन । नारच्याङ पुलदेखि मुस्ताङको घाँसास्थित कैकुखोलासम्मको १७ किलोमिटर सडकको ठेक्का लिएको शर्मा गजुरमुखीले अहिलेसम्म ६० प्रतिशतमात्रै काम गरेको छ ।
यस खण्डमा पर्ने अक्करे पहाड ‘काभ्रेभीर’ मा विष्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार गर्नुपर्नेछ । यस खण्डमा अहिले पूर्ण रूपमा काम बन्द छ । २०७४ जेठमा ६३ करोड ५२ लाखमा २०७६ मंसिरमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको यस कम्पनीको म्याद आगामी चैतसम्म मात्रै थप भएको छ । काभ्रेभीरमा विष्फोटक पदार्थको प्रयोग गरी सडक विस्तारका लागि सब कन्ट्याक्टर कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी गरिएको शर्मा गजुरमुखीका प्रतिनिधि नरेन्द्र न्यौपानले जानकारी दिए । तत्काल मेसिनहरू साइटमा पठाएका छांै, काभ्रेभीरमा चार महिनामा काम सक्ने गरी साइट कन्याट्रयाक कम्पनीसंँग सम्झौता गरेका छौँ, अन्य कामलाई चैतसम्म सम्पन्न गर्ने हाम्रो जोडबल छ । गलेश्वरदेखि नारच्याङ पुलसम्मको सडकमा समेत न्यून जनशक्ति परिचालन भएका छन् । तातोपानी र बेगखोला क्षेत्रमा थोरै जनशक्ति र मेसिन परिचालन गरेर काम सुरु भए पनि हिउँद याममा हुनुपर्ने तयारीका साथ निर्माण कम्पनीले काम अघि बढाएको छैन ।
म्याग्दी खण्डको काममा भएको ढिलासुस्तीबारे पटकपटक आयोजना र निर्माण कम्पनीहरूलाई ताकेता गरिए पनि उल्लेख्य मात्रामा कामलाई तीव्रता दिन नसकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । बेनीदेखि जोमसोम खण्डको काम सम्पन्न नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिंगो मुस्ताङ जिल्लाबासी र यस क्षेत्रको भ्रमणमा आउने पर्यटकले समेत सास्ती बेहोर्दै आएका छन् । जोमसोमको पुथा एयरपोट गाउँका पूर्वगाउँमुखिमा रहेका शेरबहादुर गुरुङले बेनी–जोमसोम–कोरला सडक आयोजना समयमै सम्पन्न नहुँदा बर्खायाममा सास्ती बेहोर्नुपरेको गुनासो गरे । “मुस्ताङी जनताले मात्रै होइन यस क्षेत्रको भ्रमणमा आउने पर्यटक र मुक्तिनाथको दर्शन गर्न आउने हजारौँ भक्तजनले सास्ती बेहोर्नुपरेको छ, ठेकेदार कम्पनीलाई आयोजना र नेपाल सरकारले समेत आवश्यकता ठानेर कामलाई गति दिनतर्फ ध्यान दिनुपर्ने देखिएको छ,” उनले भने । भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण बेनी–जोमसोम सडकका निर्माण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समय सीमा दिएको छ ।