अबको दिशा नयाँ विचारसहितको क्रान्तिकारी पार्टी «

अबको दिशा नयाँ विचारसहितको क्रान्तिकारी पार्टी

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आजदेखि राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको थियो । तर पुस १० गते (हिजो) बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरी महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशन (आज) ११ पुसबाट सुरु हुँदै छ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी विचार निर्माणका लागि भन्दै नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भनेको थियो तर अन्तिम समयमा आएर महाधिवेशन गर्ने निर्णयमा पुगेको हो । नेकपा फुटेर अलग–अलग भएपछि पहिलो पटक नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसले पनि महाधिवेशन सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएपछि राजनीतिक वृत्तमा एउटा अध्यायको परिवर्तन भएको छ । त्यस्तै नेपाली कांग्रेसमा पुस्तान्तरण हुनुपर्ने बहस हुँदै गर्दा विद्रोही खेमाबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माहरूले जित हासिल गरे । जनयुद्धको जगबाट स्थापित भएको नेकपा माओवादी केन्द्रमा लामो समयसम्म एउटै व्यक्तिको नेतृत्वमा निरन्तरताले पार्टी बलियो भएन भन्दै केही प्रभावशाली नेताहरू एकता र विघटनपश्चात् नेकपा एमालेमा लागेका छन् । नेकपा माओवादीमा नवप्रवेशीहरूले गर्दा पार्टीमा पुराना नेता–कार्यकर्ताहरू पाखा लगाइए भनेर जनयुद्धकालीन माओवादी नेताहरू केही असन्तुष्ट पनि भएका छन् । माओवादीको एउटा समूह एमालेमा गएपछि माओवादी पार्टी कमजोर भयो भन्नेहरू पनि छन् । तथापि माओवादी अध्यक्ष प्रचण्डले भने अब नेकपा माओवादी पार्टी एक नम्बरको पार्टी हुने दाबी गरेका छन् । नेतृत्वमा प्रचण्ड निर्विकल्प देखिए पनि अन्य पदाधिकारीमा भने आकांक्षीहरू धेरै देखिएका छन् । महाधिवेशनमा नेतृत्वभन्दा विचार र नीतिलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनपछि नेकपा माओवादी केन्द्र कस्तो पार्टी बन्नुपर्छ ? कस्तो बन्ला ? भन्ने विषयमा नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेतासँग कारोबारकर्मी नीरज पिठाकोटेले गरेको कुराकानीको सार :

क्रान्तिकारी पार्टी बनाउनुपर्छ
उमेशकुमार यादव
अध्यक्ष
नेकपा माओवादी केन्द्र, सप्तरी

राष्ट्रिय सम्मेलनले हाम्रो नयाँ विचारसहितको नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्ने मूल नारा अगाडि सारेको कुरामा स्पष्ट छु, जनताको आशा र भरोसाको केन्द्रबिन्दुको पार्टी बनाउने । हामी अरू बुर्जुवा पार्टीहरूभन्दा फरक छौं र फरक हुनुपर्छ भन्ने ध्येयका साथ नयाँ ढंगको पार्टी बनाउने र त्यो पार्टीले माक्र्सवाद, लेनिनवाद, माओवाददेखि महान् जनयुद्धको क्रममा विकसित विचारसहित अहिलेसम्म भएका घटनाक्रमको क्रममा भएका विचारहरूको संश्लेषणसहित वैचारिक ढंगले पार्टीलाई माथि उठाउने अर्थात् अहिले जुन समस्याहरू देखा परेका छन्, पुँजीवादीले एकतर्फी हमला गरिरहेको र समाजवादीहरू रक्षात्मक स्थिति बन्दै गइरहेको, विश्वासमा मुठ्ठीभरका व्यक्तिहरूले प्राकृतिक स्रोत–सम्पदाहरू हड्पिरहेको भनिसकेपछि यो सामान्य खालको समस्या होइन । यसलाई हल गर्नका लागि विचार नै हामीले अप नगरी यसलाई क्रस गर्न सकिँदैन । मंसिर २५ गते अध्यक्ष प्रचण्डले जे विषयवस्तुहरू उठान गर्नुभएको छ, हाम्रा आधारस्तम्भहरू त्यही हुन्छन् । त्यसमाथि विचारहरूको विकास गर्दै नयाँ ढंगकै क्रान्तिकारी पार्टी, जसरी जनताले ०५२ देखि ०६४ सम्म एक खालको वैकल्पिक राजनीतिक शक्ति मात्रै होइन, नयाँ ढंगको नयाँ समाज निर्माण गर्ने, नयाँ राष्ट्र निर्माण गर्ने, जनताका समस्याहरूको हल गर्दै नयाँ उचाइमा पु-याउने जुन उद्देश्य छ, त्यसको लायक पार्टी बनाउने— यस्तो पार्टी बनाउनका लागि जुन नेतृत्वको विषयमा कुरा उठिरहेको छ, मुख्य कुरो प्रचण्ड भनेको व्यक्ति एउटा होइन, प्रचण्ड भनेको पुष्पकमल दाहाल व्यक्ति होइन, प्रचण्ड भनेको संस्था हो, विचार हो, आन्दोलन हो । अभियान हो । त्यसैले अध्यक्ष कमरेड प्रचण्डको सन्दर्भमा कुरा गर्दा अरू पार्टीका अरूहरूले जस्तो बा–बा भन्छन् नि ! हामी त्यस्तो बा–बा होइन । हाम्रो विचारकै नेतृत्व गरेर प्रचण्ड आउनुभएको छ । यहाँसम्म नेतृत्व गरेर प्रचण्ड नै आउनुभएको छ । त्यसैले उहाँले नेतृत्वलाई र उहाँले सार्नुभएको विचारलाई कसैले पनि सार्न सकिरहेको छैन । न त्यो पार्टीभित्र होस् या पार्टीबाहिर— त्यो कोणबाट हेर्ने हो भने प्रचण्ड भनेको माओवादीको मात्रै नेता होइन, समग्र राष्ट्रकै नेता हुन् । रियल्ली कुरा त्यही नै हो । प्रचण्डलाई मान्नेहरूले पनि नमान्नेहरूले पनि यो कुरो स्वीकार गरिराखेकै छन् । स्वीकार्नु पनि पर्छ । यसलाई यसरी हेर्छु । अन्य नेताहरू सबै एकसेएक छन् । जनयुद्ध र जनआन्दोलनबाट खारिएर आएका नेताहरू नै छन् । उहाँहरूप्रति पनि सम्मान नै छ । मलाई लाग्दैन, बाहिर चर्चा भएजस्तो वा बाहिर उचाल्ने, थचार्ने कामबाट हाम्रा नेताहरू पनि मुक्त हुनुहुन्छ । अब प्रचण्डकै नेतृत्वमा विचारलाई लागू गर्ने, विकास गर्ने, कार्यान्वयन गर्ने र हाम्रो आन्दोलन र देशलाई नयाँ उचाइमा पु¥याउने नेतृत्व नै बन्छ भन्ने अपेक्षा राखेका छौं ।

सम्मेलन वैचारिक हिसाबले केन्द्रित हुन्छ
राजन पौडेल
प्रदेश कमिटी सदस्य, नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पहिलो राष्ट्रिय सम्मेलन गर्दै छ । नेतृत्वको हिसाबले पहिले नै आन्तरिम विधानमा एउटा निश्चित व्यवस्था गरेको कुुरा आइसकेको छ । कतिपय राजनीतिक दलका सम्मेलनमा यति वर्षका उति वर्षका आए भनेर सेलिब्रेटीजस्तो मात्रै बहस भयो भने माओवादी केन्द्रले आफ्नो विधानको धारा ३८ मा एउटा के व्यवस्था गरेको छ भन्दा प्रत्येक कमिटीमा २० प्रतिशत युवाहरू हुनुपर्ने ग्यारेन्टी गरेको छ । महिला, युवा, दलित, मुस्लिमलगायतका विभिन्न जनसंगठनमा २० प्रतिशत युवा अनिवार्य गरेको छ । त्यहीअनुसार वडा कमिटी, पालिका कमिटी र प्रदेश कमिटीहरू गठन भइसकेका छन् । यो विषयमा खास गरेर मिडियाहरूको ध्यान पुगेन कि अथवा कही मिडियाले पनि पूर्वाग्रह राख्यो कि भन्ने महसुस भएको छ । अन्य दलहरूका यति वर्षका युवायुवती निर्वाचित भए, यति वर्षको राजनीतिमा आयो भनेर प्रचार भएको छ । तर, माओवादीको वडादेखि माथिसम्म नै सेट नै देखाउनका लागि मात्रै होइन, हस्तक्षेपकारी सहभागिताको व्यवस्था भएको छ । यो महŒवपूर्ण छ । अर्को केन्द्रीय समिति पनि त्यहीअनुसार हुन्छ । महिलाहरूको सहभागिता ३५ प्रतिशत, मुस्लिमहरूको सहभागिता देशभरिमा ५ प्रतिशत र प्रदेश २ मा आउँदा १२ प्रतिशतभन्दा माथि अर्थात् जति जनसंख्या छ त्यसमा १ प्रतिशत थपेर, दलितहरूको जति जनसंख्या छ त्यसमा २ प्रतिशत थपेर सहभागी गराउने व्यवस्था गरेको छ । सबैभन्दा उत्पीडनमा परेको लिंगका हिसाबले महिला, जातिका हिसाबले दलित र धार्मिक हिसाबले उत्पीडनमा परेको मुस्लिम नेपालको सन्दर्भमा उनीहरूलाई यस प्रकारको आरक्षण तथा युवाहरूलाई आउन रोक्ने जस्ता बन्देज हटाउन युवाहरूलाई आरक्षण त्योे हिसाबले आएको छ सांगठनिक क्षेत्रमा । अब राजनीतिक क्षेत्रमा पनि नयाँ विचारका कुराहरू कमरेड प्रचण्डले प्रदेश सम्मेलनको उद्घाटनमा अर्थतन्त्रमा कस्तो हुने, विश्व अर्थतन्त्र कस्तो छ । नेपालको कस्तो हुनुपर्छ ? नेपालको समाज कस्तो बनाउने ? कस्तो हुनुपर्छ ? नेपालमा विकाससँग जोड्दा पर्यावरण र वातावरण प्रभाव कस्तो हुनुपर्छ भन्ने एउटा अनुशिक्षण कार्यक्रम जस्तोमा पनि आएको छ, त्यो लाइनमा राजनीतिक वैचारिक हिसाबले केन्द्रित हुन्छ । त्यो प्रकारको विचारधारात्मक खालको विषयवस्तुहरू माओवादीले लिएर आउँछ भन्ने विश्वास लागेको छ । प्रचण्डले मात्रै नेतृत्व लिइरह्यो भन्ने राजनीतिक पूर्वाग्रह राखेकाहरूले मात्रै आरोप लगाउने हुन् । नेपालको कम्युनिस्ट आन्दोलनमा, राजनीतिक आन्दालनमा प्रचण्डले जुन नयाँ खालका कुराहरू लिएर आएका छन्, अरूले ल्याएकै छैनन् । आज स्थानीय तह, वडा, प्रदेश, संघ, महिलाहरूको सहभागिता, समानुपातिक प्रणाली यी सबैमा प्रचण्ड नै देख्न सकिन्छ । विचारधारात्मक हिसाबले प्रचण्ड अहिले पनि युवा नै छन् । कसैले अर्को ढंगले प्राविधिक खालका कुराहरूमा लिएर गएर बहस चलाउन खोजेका हुन् । अहिले राप्रपामा रहेका युवाभन्दा विचारधारात्मक हिसाबले प्रचण्ड अझै युवा नै छन् ।

नेकपा माओवादी अझ गतिशील ढंगबाट अगाडि बढ्छ
बालकृष्ण श्रेष्ठ
युवा नेता
नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र निश्चित रूपमा परिमार्जित भएर आउनुपर्छ भन्ने हो । एकल नेतृत्व रहिरहँदा जनतामा केही अविश्वासका कुराहरू पनि आइरहेका छन् । युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने जोडदार माग पनि हो । फेरि युवाको युवाले नै खुट्टा तान्ने जोडदार प्रतिस्पर्धा पनि छ । युवा नेतृत्वले पार्टी हाँक्नुपर्छ भन्ने बुझाइ पनि हो । तर, नेपालको राजनीति हिजो १० वर्षे जनयुद्धको कमान्डिङ गरेर आएको सर्वोच्च कमान्डर प्रचण्ड र प्रचण्डकै नेतृत्वमा शान्ति प्रक्रिया पनि टुंगिँदै गरेको अवस्था तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपबाट पनि प्रचण्डको नेतृत्वलाई नै ध्यान दिइरहेको अवस्था र देश अहिले माओवादीकै एजेन्डामा चलिरहेको हुँदा प्रचण्डको उत्तराधिकारीको रूपमा कोही पनि आउन सक्ने अवस्था र सम्भावना त छैन । फेरि पनि अन्य पदाधिकारीहरूमा युवा नेतृत्वले दाबी गरिरहनुभएको मिडियाहरूबाट थाहा पाएका छौं । अब राष्ट्रिय सम्मेलन सहमतीय प्रणालीमा नै जान्छ वा चुनावमा जान्छ, सम्भवतः सहमतिमै जान्छ । तर, असम्भव भन्ने कुरा त केही छैन । मचाहिँ असम्भव भन्ने शब्द मूर्खको डायरीमा मात्रै हुन्छ भन्ने मान्यताको मान्छे । राष्ट्रिय सम्मेलनमा भने चुनावी प्रक्रियामा गइहाल्ला जस्तो भने लाग्दैन । सहमतिको विकल्प छैन जस्तो नै लाग्छ । तलदेखि माथिसम्म पार्टीमा प्रवेश गर्ने र उनीहरूमा महŒवाकांक्षा छिटो–छिटो जाग्ने, ठूलो–ठूलो पद चाहिने जस्ता कुराले नेतृत्वमा केही समस्या आइरहेको छ । नभए पार्टीको सर्कुलरअनुसार कार्यकर्ताहरू नगएको भने छैन । फेरि पनि केही अराजक व्यक्तिका कारणले गर्दा, केही अवसरवादी व्यक्तिका कारणले माओवादीको एजेन्डामा चलेको देशमा माओवादी पार्टी आफैंचाहिँ एजेन्डामा चलेन भनेर प्रश्न गर्नेहरूलाई भने सुविधा दिएको छ । अब राष्ट्रिय सम्मेलनमा श्रद्धेय अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने प्रस्ताव र त्यसको अनुमोदनपछि पार्टी अझ गतिशील ढंगबाट अगाडि बढ्छ भन्ने विश्वास छ । यसले मात्रै पार्टीले लिएको लक्ष्यमा पुग्न सकिन्छ । अब पुराना-नयाँ सबै सच्चिनुपर्छ ।

पार्टी समाजवादतर्फ जान खोजिरहेको छ
अमिताभबच्चन दास
युव नेता
नेकपा माओवादी केन्द्र

अहिले भइरहेको राष्ट्रिय सम्मेलनले दुईवटा कुरामा केन्द्रित भइरहेको छ । एउटा क्रान्तिकारी विचार हुनुप-यो र अर्को क्रान्तिकारी पार्टी निर्माण भनेर नारामा नै लेखेको छ । क्रान्तिकारी पार्टी बनाउनका लागि क्रान्तिकारी विचार हुनुपर्छ । पार्टीले दस्तावेजमा क्रान्तिकारी विचार हुनुप-यो, क्रान्तिकारी संगठन बनाउनुप¥यो भन्दा क्रान्तिकारी विचार के हुन सक्लाभन्दा समाजवाद कसरी ल्याउन सकिन्छ ? हाम्रो देशमा पुँजीवादीहरूको चलखेल बढी छ । यसलाई परास्त गरेर हामीले समाजवादतिर देशलाई लानका लागि एउटा प्रण गर्नुप-यो भनेर नै राष्ट्रिय सम्मेलनले क्रान्तिकारी विचारको लाइन पास गर्छ जस्तो लाग्छ । समाजवाद के हो त भन्दा व्यक्तिमा मात्रै आर्थिक, सामाजिक कुराहरू केन्द्रित भयो भने त्योचाहिँ पुँजीवादतिर जाने भयो । हरेक साधनस्रोतको बाँडफाँड सामूहिकतामा भयो भने त्यो समाजवादतिर जाने भयो । यो आफैंमा एउटा ठूलो निर्णय गर्नुपर्ने देखिन्छ । सामूहिकतामा कसरी बाँच्ने ? सामूहिकतामा स्वास्थ्य, शिक्षा, संस्कृति कस्तो हुने ? यी सबै कुरा सामूहिकतामा लानका लागि एउटा निर्णय गर्नुपर्नेछ र यो निर्णय भएर लागू भयो भने हामी समाजवादतिर जान्छौं । त्यो नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले गर्छ । त्यो कुरा नै कार्यकर्ता र पार्टीले आफैंले आफैंमा व्यावहारिक रूपमा लागू गर्छ र त्यसपछि समाजमा लिएर जान्छ । विचारको हिसाबले यो हो । संगठनको हिसाबले पनि त्यहीअनुसार अगाडि बढ्छ । हाम्रो पार्टी समाजवादतर्फ जान खोजिरहेको छ । कतै न कतै यो देशलाई पुँजीवादमा धकेल्न खोजिरहेका छन् । यो अवस्थामा विचारको हिसाबले क्रान्तिकारी बनाइहाल्ने र समाजवादतिर लाने, समाजवादतिर लानका लागि पार्टी निर्माण गर्ने हो । पार्टी निर्माणपछि कार्यान्वयन गर्ने त व्यक्ति हुन्छ । यो आफैंमा जटिलता हो । मानवीय स्वभाव हामी सबैलाई थाहा छ । हाम्रा श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले हिजो राजतन्त्र हटाउनका लागि जनयुद्धमा लानुभयो । त्यो जनयुद्ध आफंैमा जोखिमपूर्ण थियो । त्यो विचार नै क्रान्तिकारी थियो । त्यसलाई व्यवहारमा लागू गर्न पनि उहाँको नेतृत्वले सम्भव बनायो र बन्यो । जसका कारण आज यो देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिताजस्ता उपलब्धिहरू प्राप्त गरेका छौं । यी कुराहरूलाई जोडदार ढंगले लागू गर्नकै लागि समाजवादतिर अगाडि बढ्नुपर्नेछ । त्यसका लागि यही नेतृत्वबाट मात्रै सम्भव छ । अरू कसैले टपक्क टिपेर अथवा कसैको जोडबल र व्यक्तिले लागू गर्न सक्ने अवस्था छैन । त्यसैले प्रचण्डको विचार र नेतृत्व हिजो सफल भएको छ । फेरि पनि क्रान्तिकारी विचार ल्याउनका लागि दस्तावेज लेखिसक्नुभएको छ । यो राष्ट्रिय सम्मेलनले त्यो पारित गरेपछि समाजवादमा अझ अगाडि बढ्छ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस्