Logo

एपीएफ र एनआरटीको नाटकीय बराबरी

Football.

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पुरानो क्लब न्युरोड टिम (एनआरटी)सँग बराबरी खेल्दै विभागीय क्लब एपीएफले अंक खोसेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोसेको हो । रेलिगशेन क्षेत्रबाट माथि उठ्नका लागि जित्नै पर्ने दबाबमा रहेको एपिएफले दबाब दिएर खेले पनि रणनैतिक रूपमा सफल हुन सकेन । यस्तै एनआरटीको पनि बराबरीले तालिकाको वरियता सुधार गर्ने मौका गुमाएको छ ।
खेलको ६९ औं मिनेट सम्म लिएको ३–१ को अग्रता कायम राख्न नसक्दा एनआरटीले एपीएफसँग अंक बाँड्न बाध्य भयो । ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । दर्शनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गर्दा पाँच मिनेट पछि एपिएफले बराबरी गोल फर्काएको थियो । त्यसपछि खेल पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा एनआरटीले आक्रामक खेललाई निरन्तरता दियो । ४८ औं मिनेटमा दर्शनले व्यक्ति दोस्रो तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाएका थिए । ६१औं मिनेटमा एनआरटीले तेस्रो गोल गर्न सक्यो । खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३–१ ले अघि रह्यो । अशोक थापाको पासलाई स्टेफेन बिनोङको वान टच पासमा मेसुकेले वान भर्सेज वानमा गोल गरे । तर, ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए । नविन लामाको फ्री–किकमा दिपेशले उत्कृष्ट हेडर गोल गरे । त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउँदै एपीएफलाई हारबाट जोगाए ।
यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । खेलको म्यान अफ दि म्याच एनआरटीका दर्शन गुरुङ चुनिए । एपीएफका दिपेश धिमाल इमर्जिङ प्लेयर घोषित भए ।

प्रतिक्रिया दिनुहोस्