मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ सेवा

मेगा बैंक नेपालले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा आफ्नो वेब साइटमार्फत समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।
डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोवाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचरलगायतका सुविधा थप गरेको छ । साथै, बैंकले समानरुपमा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ मोबाइल एपको पनि स्तरोन्नति गरेको छ ।
मोवाइल भौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, मोवाइल क्यासको माध्यमबाट प्रयोगकर्ताले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन तथा लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्यूआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषता रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।
मेगा स्मार्ट बैंकिङ मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकले बैंकका सेवाहरु सम्बन्धि जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दति खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्यूआर कोडमार्फत् भुक्तानी गर्न, अनलाईन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरुको लाभ मोबाइल बैंकिङ एप र वेबको माध्यमबाट उठाउन सक्नेछन् ।
त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले आफैं रजिष्टर गरी अनलाइनबाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरुको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् । अब बैंकका ग्राहकले बैंकमा नगई मोवाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।