मोरङका व्यवसायी र श्रीलंकाली राजदूतबीच छलफल «

मोरङका व्यवसायी र श्रीलंकाली राजदूतबीच छलफल

उद्योग संगठन मोरङको टोलीले नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणतिलकासित भेटघाट तथा छलफल गरेको छ ।
द्विपक्षीय व्यावसायिक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि आपसी अनुभव तथा सीप, ज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य र साझेदारीका लागि संगठनले राजदूत अरुणतिलकासित भेटघाट गरेको हो ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले श्रीलंका र नेपालबीच सिधा हवाई उडान प्रारम्भ भइसकेकाले पर्यटनका क्षेत्रमा दुवै देशबीच व्यावसायिक सम्बन्धको विकास हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्याकुरेलले चिया, गार्मेन्ट्स क्षेत्रमा दवै मुलुकले सहकार्य गर्न सक्ने उल्लेख गर्दै नेपाल र श्रीलंकाका उद्योगीबीच सम्बन्ध विस्तारका लागि भूमिका गरिदिन राजदूत अरुणतिलकासमक्ष अनुरोध गरे ।
राजदूत अरुणतिलकाले श्रीलंका र नेपालबीच उत्पादनमूलक उद्योग, निर्माण, पर्यटन लगायतका धेरै क्षेत्रमा सहकार्यको प्रचुर सम्भावना भएको बताइन् । उनले दुई मुलकका औद्योगिक तथा व्यवसायीबीच राजदूतावासले निरन्तर सहजीकरण गर्न तत्पर रहेको स्पष्ट पारिन् ।
उनले संगठनको टोलीलाई श्रीलंकाको भ्रमणका लागि आमन्त्रण गरिन् ।
दूतावास कै पहलमा उद्योग संगठन मोरङ र सिलोन नेशनल चेम्बर अफ इण्डस्ट्रिजबीच संस्थागत सहकार्यकालागि आगामी जनवरीमा मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयु) मा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्