धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने «

धनगढी–पोखरा उडान सेवा सञ्चालन हुने

मोरङ,६ कात्तिक कात्तिक १ र २ गते आएको अबिरल वर्षाका कारण अबरुद्ध विराटनगर विमानस्थलमा हवाई सेवा शनिबारबाट सुचारू भएपछि यात्रुहरु विमान चडदै । ।तस्बिरःमनोज दाहाल–रासस


धनगढी विमानस्थलबाट पोखरा हवाइजहाज उडान हुने भएको छ ।
करिब दुई दशकपछि पुनः पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु हुने भएको हो । बुद्ध एयरले धनगढी–पोखरा उडान सेवा सुरु गर्न लागेको हो । बुद्ध एयरले एक सूचना प्रकाशन गरी छिट्टै धनगढी–पोखरा र पोखरा–नेपालगञ्ज उडान गरिने जानकारी गराएको छ ।
धनगढी–पोखरा उडान भर्ने भनिएपनि कहिलेदेखि गर्ने भन्ने मिति तय भइनसकेको जनाइएको छ । तर २०२२ को जनवरी महिनाबाटै सो सेवा सुरु गर्ने जनाइएको छ । बुद्ध एयरले धनगढी–पोखरा हप्तामा तीन उडान भर्ने जनाएको छ । “धनगढी–पोखरा उडान भर्ने तयारी भइरहेको छ” बुद्ध एयर धनगढीका बुद्धराम चौधरीले भने, “जनवरीभित्रमै उडान भर्ने हाम्रो लक्ष्य छ ।”
सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटकीय व्यवसायीहरुले धनगढी–पोखरा हवाईजहाज उडान भए प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने भन्दै विमान सञ्चालकलाई उडानका लागि अनुरोध गरिरहेका छन् । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) का सचिव पदम विक्रम सिंहले धेरै अनुरोधपछि बुद्धले पोखरा–धनगढी उडान भर्न लागेको भन्दा खुशी व्यक्त गरे ।
“सुदूरपश्चिम प्रदेश पर्यटनका लागि भर्जिन ल्याण्ड मानिएको छ” उनले भने, “अहिलेसम्म काठमाडौं आउने पर्यटकहरु पोखरासम्म मात्र घुम्दै फर्कने गरेका छन् । धनगढी–पोखरा उडान भए त्यहाँ आएका पर्यटकलाई यहाँ आकर्षण गर्न सकिन्छ ।”
सुदूरपश्चिमका मानिसलाई पोखरा घुमाउन पोखराका होटल व्यवसायीहरुले विभिन्न चरणमा अन्तर प्रदेश भ्रमण कार्यक्रम गर्दै आएका छन् । “यहाँका मानिस रारा घुम्न जाने रहर व्यक्त गरेपनि सडक सञ्जालका कारण जाने आँट गर्दैनन्” उनले भने, “विमान उडान भएपछि पोखराका मानिसलाई सुदूरपश्चिम र यहाँकालाई पोखराका पर्यटकीय क्षेत्रमा आउने जाने क्रम बढ्ने छ ।”
धनगढी विमानस्थलबाट अहिले धनगढी–काठमाडौं र प्रदेशको अछाम, डोटी, बाजुरा र बझाङमा विमान उडान हुँदै आएको छ । विमानमा धनगढी पुगेका मानिसले चार जिल्लामा अवस्थित खप्तड राष्ट्रिय निकुञ्ज, बाजुराको बडिमालिका, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका प्रदेशका विभिन्न पर्यटकीय स्थलमा जाने गरेका छन् ।
सडक तथा पूर्वाधार विकास नहुँदा सुदूरपश्चिममा पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय गन्तव्यहरु ओझेलमा परिरहेका छन् । धनगढीदेखि पहाडका चार जिल्लामा विमान उडान भइरहेकाले धनगढीबाट ती पर्यटकीय क्षेत्रमा पर्यटकलाई पुग्न सहज हुने पर्यटन व्यवसायीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्