प्रदेश–१ सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक «

प्रदेश–१ सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर-प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले ५ दलीय गठबन्धनको सरकार सञ्चालनमा न्यूनतम साझा कार्यक्रम सरकारको मार्गदर्शनमा रुपमा रहने जानकारी दिए । मुख्यमन्त्री राईले न्यूनतम साझा कार्यक्रमलाई सरकारले आवश्यकताका आधारमा परिमार्जन गर्दै लैजाने पनि बताए ।
उनका अनुसार न्यूनतम साझा कार्यक्रममा सरकारको समयसीमा, स्रोतसाधनको अवस्था, पुराना योजनाको कार्यान्वयनको अवस्था, कोरोना नियन्त्रण, खोप अभियान चैतसम्ममा सम्पन्न गर्ने न्यूनतम साझा कार्याक्रममा समेटिएको छ । यस्तै दैवी विपत्तीका घटनामा राहत, उद्धार, असाध्य रोग लागेकाहरूलाई सहयोग गर्ने, राजस्वको स्रोत बढाउने, प्राप्त स्रोतसाधनको उचित उपयोग गर्ने, कृषिलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम न्यूनतम साझा कार्यक्रममा समेटिएको राईले जानकारी दिए । न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री राजेन्द्र राई, भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । कार्यक्रममा विभिन्न पार्टीका नेताहरू, कर्मचारी र पत्रकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्