धौलीगाड खानेपानी आयोजनालाई बजेट जुट्यो «

धौलीगाड खानेपानी आयोजनालाई बजेट जुट्यो


राष्ट्यि गौरवको आयोजनाका रुपमा रहेको जुम्लाको बृहत्त धौलिघाट खानेपानी आयोजनाको निर्माण प्रक्रिया करिब डेढ दशकपछि अघि बढेको छ । दुर्गम जुम्लाको घरघरमा शुद्द खानेपानी पहुँच विस्तार गर्ने लक्ष्यका साथ अघि बढाइएको आयोजना आर्थिक अभावले डेढ दशकदेखि अलपत्र थियो । डीपीआर तयार भए पनि बजेट नजुट्दा आयोजना निर्माण अस्तव्यस्त थियो ।
तर संघीय अर्थ मन्त्रालयले गएको मंसिर २७ गतेको मन्त्रीस्तरको निर्णयले एक अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ लागतको जुम्लास्थित धौलिघाट खानेपानी आयोजना निर्माणको बहुवर्षीय ठेक्का आह्वानका लागि सहमति दिएपछि निर्माणको बाटो खुलेको हो ।
धौलीगाड बृहत् खानेपानी आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि लेखिएको विषय पेस हुँदा राष्ट्रिय योजना आयोगको निर्णयअनुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउने गरी मन्त्रीस्तरीय निर्णय भएको अर्थ मन्त्रालयको पत्रमा उल्लेख छ । धौलिघाट आयोजनालाई कर्णालीकै मेलम्चीका रूपमा हेरिएको छ । आयोजना निर्माणपछि खानेपानी अभाव खेपिरहेका जुम्ला सदरमुकाम, चन्दननाथ नगरपालिका गुठीचौर र तातोपानी गाउँपालिका गरी ३ वटा स्थानीय तहका घरघरमा धारा पु¥याइने छ भने, तीन स्थानीय तहमा ९ हजार १ सय ८ घरधुरीका ४४ हजार १ सय ६३ जनसंख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ । साथै उक्त आयोजनाबाट तीन स्थानीय तह तथा सदरमुकाममा गरी १० हजार धारा निर्माण हुनेछन् ।
आयोजनाको कुल लागतको १ प्रतिशत श्रमदान गर्ने नीतिअनुसार लाभान्वित तीन वटा स्थानीय तहले एक करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेका छन् । जसमा चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट बैंक धरौटी राखिसकेका छन् । यसैगरी तीनवटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीयस्तरमा आवश्यक अपनत्व लिएका छन् । यो आयोजना २०६६ सालबाट सुरु भएको थियो । स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समिति क्रियाशील छ । आयोजना करिब चार हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्