आगामी निर्वाचनसम्मै संसद अवरुद्ध हुन्छ : ओली «

आगामी निर्वाचनसम्मै संसद अवरुद्ध हुन्छ : ओली

विराटनगर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अवरोध चुनावसम्म कायम रहने बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले संसद अवरोध आगामी निर्वाचनसम्म कायम रहने र चुनावमा सबैलाई धोवीमार्ट लगाउने जिकिर गरे । “एमालेले कारबाही गरेका माधवकुमार नेपाललगायतलाई संसदमा प्रवेश दिएसम्म संसदमा अवरोध कायम नै रहन्छ” उनले भने, “अवरोध आगामी चुनावसम्म पनि रहन सक्छ ।”
ओलीले आफूहरूले निकालेका मानिस राखेर सर्वदलीय बैठक नहुने र त्यस्तो बैठकमा सहभागी नहुने स्पष्ट पारे । एमालेले कारबाही गरेर निकालेका व्यक्तिहरूलाई सर्वदलीय बैठकमा सहभागी गराएसम्म उपस्थिति नहुने उनको भनाइ थियो । त्यस्तै उनले एमसीसी संसदबाट पास हुने वा नहुने विषय सरकारमा निर्भर रहेको उल्लेख गरे । ओलीले सरकारले एमसीसीको विषयमा धारणा र नीति ल्याएपछि मात्रै प्रतिपक्ष दलले आफ्नो धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।
माओवादीसँग सम्झौता भएपछि पूर्वराजा ज्ञानेन्द्रको देशव्यापी अभिनन्दनका कार्यक्रम भएको ओलीले दाबी गरे । “माओवादीसँग शान्ति सम्झौता भएपछि तत्कालीन राजा ज्ञानेन्द्रलाई रोल्पा, रुकुममा समेत अभिनन्दनको वातावरण बनाएको हो,” ओलीले थपे, “अब तपाईंहरू आफैं बुझ्नुहोस् कसरी त्यो सम्भव भयो ।” ओलीले राजासँगको सम्झौताका विषयमा मस्यौदा तयार पार्नेहरूले भनिररहेकाले आफूले पुष्टि गर्न कागजात खोज्नु नपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्