एमसीसीसंसद्मा पेश गर्न साइत हेर्नुपर्दैन : गृहमन्त्री खाण «

एमसीसीसंसद्मा पेश गर्न साइत हेर्नुपर्दैन : गृहमन्त्री खाण

गोरखा– गृहमन्त्री बालकृष्ण खाणले एमसीसी प्रस्ताव संसद्मा पेश गर्नका लागि साइत हेरिरहनु नपर्ने बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको साधारणसभा उद्घाटन गर्न शनिवार गोरखा आएका मन्त्री खाणले पत्रकारहरुसँग कुरा गर्दै एमसीसीका बारेमा सत्तागठवन्धनका दलहरुविच साझा धारणा बनाउन पहल भैरहेको पनि जानकारी दिए ।
‘नेपालको प्रस्ताव अनुसार यो अनुदान दिने भनिएको हो,’ उनले भने, ‘यहाँको गरिबी निवारण, सडक, विद्युत, रोजगारी लगायतका क्षेत्रमा विकासका लागि यो अनुदान हो । ऋण होईन फिर्ता गर्नुपर्दैन ।त्यसैले संसद्बाट उक्त प्रस्ताव पारित गर्न सरकार छलफलमा छ ।’यो कुनै सैन्य गठवन्धन नभएको दावी गर्दै उनले भने ‘अमेरिकी नागरिकले तिरेको करबाट यो अनुदान दिईने हो । यसको सही सदुपयोग होस् भन्ने मात्र उनिहरुको चाहना हो, त्यो स्वभाविक पनि छ ।’ फरक प्रसंगमा मन्त्री खाँडले सबै तहको निर्वाचन एकै चरणमा पर्ने गरि आयोगले प्रस्ताव गरेमा सुरक्षा लगायतका ब्यवस्थापनका काममा सरकार सक्षम रहेको बताए ।
गोरखा उद्योग वाणिज्य संघको ४६ औं बार्षिक साधारण सभा तथा १६ औं अधिबेसनको उद्घाटन गर्दै उनले चौबिसै घन्टा होटल सञ्चालनको अनुमति दिने तयारी भैरहेको जानकारी दिए । सम्बन्धित मन्त्रालय मार्फत कार्यदल गठन गरी यस विषयमा छलफल अघि बढेको उनको भनाई छ ।नागरिकको जिवनमा खलल नपुग्ने गरी होटल सञ्चालनको अनुमति दिने उनले बताए । रुग्ण रहेको गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मा निजि क्षेत्रलाई दिन पनि सम्बन्धित विभागिय मन्त्रीसँग छलफल गर्ने उनले आश्वासन दिए । तल्लो तहका सुरक्षाकर्मीको वृत्ति विकासका लागि नियमावली संसोधन गर्न लागेको उनले जानकारी दिए ।कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सन् २०२२ लाई भ्रमण बर्षको रुपमा मनाउने निर्णय गर्न माग गरे ।
सोही अबसरमा संस्थाका पुर्व अध्यक्ष भगतबाबु श्रेष्ठलाई मरणोपरान्त, गोरखा नगरपालिका १२ स्थित गोरखा रेलिङ तथा ब्लक उद्योगकी सञ्चालकसावित्रा गर्तौला र शहिद लखन गाउँपालिका ७ स्थित मदन किराना पसलका सञ्चालक मदन लम्साललाई दोसल्ला सहित सम्मान पत्रका साथ सम्मान गरिएको छ ।
संघको अधिबेसन अन्तरगत अध्यक्षमा कृष्णकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के, उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा तथा वस्तुगत सदस्यमा पर्वबहादुर विक र महिला सदस्यमा रीता रेग्मी अर्याल निर्विरोध चयन भएका छन् । महासचिव र सचिवमा २÷२ जनाको उम्मेदवारी परेको छ । ७ सदस्य पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यक्रम आइतबार हुने गोरखा उद्योग वाणिज्य संघले जनाएको छ ।
यसैबीच, गोरखा उद्योग वाणिज्य संघले गोरखकाली रबर उद्योग यथासक्य सञ्चालन गर्न माग गरेको छ । गोरखामा रहेको नेपालकै प्रतिष्ठासँग गाँसिएकोे गोरखकाली रबर उद्योग सञ्चालन गर्न संघले सरकारसँग माग गरेको हो । संघका जिल्ला अध्यक्ष जिवनव्योती श्रेष्ठले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउदैं सो उद्योग निजि क्षेत्रलाई जिम्मा दिएर वा सरकार आफैंले लिएर सञ्चालन गर्नुपर्ने माग गरे ।गोरखा बजार क्षेत्रको अर्थतन्त्र सुधार तथा पर्यटन प्रबद्र्धनका लागि मनास्लु पदमार्ग जाने पदयात्रीलाई जिल्ला सदरमुकाम हुँदै जाने ब्यबस्था मिलाउन पनि उनले माग गरे । यस्तै, गोरखा आबुँखैरेनी सडक खण्डलाई सहायक राजमार्गको रुपमा भएको निर्णय कार्यान्वयन गर्न, प्यान बाट कारोबार गर्न पाउने थ्रेसहोल्डको रकम ३० लाखबाट बढाएर १ करोडसम्म पु-याउन, बैंकको ब्याजदरमा १ अंकको भन्दा बढि ब्याजदर हुन नदिन, उद्योग वाणिज्य संघको मर्यादाक्रम तय गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
मेला महोत्सव सञ्चालनमा संघको सिफारिसबाट मात्र सञ्चालन अनुमति दिने ब्यबस्था गर्न, प्यान भ्याट, सरकारी कर, सवारी कर सम्बन्धित जिल्लाको राजस्व कार्यालयमा सहज रुपमा बुझाउने ब्यबस्था मिलाउन पनि माग गरिएको छ ।यस्तै, आर्थिक क्रियाकलाप चलायमान बनाउनका लागि राष्ट्रसेवक कर्मचारी, शिक्षक लगायत सबै खालका कर्मचारीको तलब एक महिनाभित्रै भुक्तानी दिने ब्यबस्था मिलाउन पनि संघले माग गरेको छ । संघले जिल्लाको आर्थिक विकासका लागि फलफूल तथा तरकारी खेतीमा ब्यबसायीकरण, शिक्षा, स्वास्थ्य, दिगो पर्यटन विकास, निर्यातमुखी जडिबुटी खेती, ब्यबसायिक पशुपंक्षीपालन, उद्योग ब्यबसायलाई चयन गरेको कार्यक्रममा जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्