श्रम अर्थतन्त्रलाई नोबेल पुरस्कार

एक वर्ष थप अध्ययन गर्दा व्यक्तिको आय बढ्छ कि बढ्दैन भनेर छुट्ट्याउन परेमा एक वर्ष धेरै पढेकाहरूको आयलाई नपढेकाहरूको आयसँग तुलना गर्न सकिन्छ ।
यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले प्राप्त गरेका छन् । रोयल एकेडेमी अफ साइन्सले जनाएअनुसार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका अर्थशास्त्रीहरूलाई सो पुरस्कार दिने घोषणा गरिएको हो । पुरस्कार क्यानेडेली अर्थशास्त्री डेभिड कार्ड, अमेरिकी अर्थशास्त्री जोसुआ डी एङ्ग्रिस्ट र नेदरल्यान्ड्सका गुइडो डब्लू इम्बेन्सलाई दिइएको हो ।
यस वर्ष अर्थशास्त्रमा श्रम अर्थतन्त्रबारे अनुसन्धान गर्ने अर्थशास्त्रीहरूलाई विश्वप्रसिद्ध नोबेल पुरस्कार प्रदान गरिएको छ । प्रत्येक वर्ष डिसेम्वर १० का दिन यो पुरस्कार वितरण गरिने भएका कारण सन् २०२१ का लागि नोबेल पुरस्कार छनोट समितिले छनोट गरेका विभिन्न मुलुकका १३ जना व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिएको छ । नर्वेली वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा विभिन्न विधामा स्थापित विश्वप्रसिद्ध गौरवशाली पुरस्कार प्राप्त गर्ने यस वर्षका भाग्यमानी व्यक्तिहरूमा साहित्यतर्फ तान्जानियाका उपन्यासकार अब्दुल रजाक गुरनाह, चिकित्सामा डेभिड जुलियस र आर्डेम पटापौटियन, रसायन विज्ञानमा बेन्जामिन लिस्ट र डेभिड म्याकमिलन, भौतिकशास्त्रमा अमेरिकी जापानी नागरिक स्युकुरो मानावे, जर्मनी क्लाउस हस्सेलम्यान र इटलीका जर्जिओ पारिसी र शान्तिमा फिलिपिन्सका पत्रकार मारिया रेसा र रूसी पत्रकार दिमित्री मुरातोभ रहेका छन् ।
यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीले प्राप्त गरेका छन् । रोयल एकेडेमी अफ साइन्सले जनाएअनुसार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका अर्थशास्त्रीहरूलाई सो पुरस्कार दिने घोषणा गरिएको हो । पुरस्कार क्यानेडेली अर्थशास्त्री डेभिड कार्ड, अमेरिकी अर्थशास्त्री जोसुआ डी एङ्ग्रिस्ट र नेदरल्यान्ड्सका गुइडो डब्लू इम्बेन्सलाई दिइएको हो ।
अर्थशास्त्री कार्डलाई श्रम अर्थतन्त्रका बारेमा गरेको अनुभवजन्य योगदानका लागि उक्त पुरस्कार दिइएको हो । त्यस्तै एङ्ग्रिस्ट र इम्बेन्सलाई कारक सम्बन्धको विश्लेषण गरेबापत उक्त पुरस्कार दिइएको हो । उक्त पुरस्कार एक करोड स्वीडिस क्रोनर राशिको रहेको र कार्डले उक्त पुरस्कार राशिको आधा रकम प्राप्त गरेका छन् भने बाँकी राशि एङ्ग्रिष्ट र इम्बेन्सले आधा प्राप्त गरेका छन् ।
अर्थशास्त्री कार्डले अमेरिकाको न्युजर्सी राज्यमा सन् १९९० को दशकमा सुरुमा न्यूनतम तलब वृद्धिले फास्टफुड क्षेत्रमा पारेको प्रभावका बारेमा गहिरो अनुसन्धान गरेका थिए । उनी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक हुन् । यस्तो खालको न्यूनतम तलब वृद्धिले सधैँ जागिर गुम्ने अवस्था सिर्जना हुन्छ भन्ने परम्परागत अवधारणालाई उल्टो साबित गरेको थियो । यस विषयमा कार्डले प्रसिद्ध अर्थशास्त्री एलन क्रुगरसँग मिलेर काम गरेका थिए । जुन अवधारणालाई अमेरिकामा अनुभवजन्य प्रयोगका रूपमा प्रयोग गर्दै न्यूनतम तलब बढाउन प्रयोग गरिएको थियो ।
त्यस्तैगरी कार्डले बसाइँसराइले रोजगारीको क्षेत्रमा पार्ने प्रभावको पनि अध्ययन गरेका थिए । यसमा सन् १९८० मा सवा १ लाख क्युवेलीहरूलाई बसाइँ सर्ने अनुमति दिने क्युवाको अप्रत्याशित निर्णयको अध्ययन गरिएको थियो । जुन घटनाले सहरका बासिन्दाको तलब ७ प्रतिशतसम्म वृद्धि हुन पुगेको थियो । चारवटा सहरमा तलब र रोजगारीको तुलना गर्दा न्यून शिक्षा भएका मियामीका बासिन्दाहरूमा नकारात्मक प्रभाव नपरेको कार्डले पाए । बढ्दो बसाइँसराइले सो देशमा जन्मिएका मानिसहरूको आयमा सकारात्मक प्रभाव पारेको पनि अध्ययनमा पाइयो ।
एङ्ग्रिस्ट म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका र इम्बेन्स स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । यिनीहरूको योगदानका कारण वैज्ञानिक पद्धति अपनाएर अध्ययन गर्न नसकेको अवस्थामा समेत अर्थशास्त्रीहरूलाई कारण र प्रभावबारेमा ठोस निष्कर्ष निकाल्न सहयोग पुगेको देखिन्छ । जुन खालको अध्ययनमा कारण र प्रभाव छुट्ट्याउन कठिन हुने देखिन्छ । त्यसमा थुप्रै कारकहरू पनि हुन सक्छन् । जसको उनीहरूले गहन रूपमा अध्ययन गरी विश्लेषण गरेका थिए । एक वर्ष थप अध्ययन गर्दा व्यक्तिको आय बढ्छ कि बढ्दैन भनेर छुट्ट्याउन परेमा एक वर्ष धेरै पढेकाहरूको आयलाई नपढेकाहरूको आयसँग तुलना गर्न सकिन्छ । एक वा बढी अध्ययन गरेकाहरूले बढी कमाउन सक्छन् कि सक्दैनन् भन्ने निर्धारण गर्ने थुप्रै कारकहरू पनि हुन सक्छन् । त्यस्तै परिश्रमी भएर वा बढी मेहनती भएर पनि धेरै आय आर्जन गरेको हुन सक्छ ।
एङ्ग्रिस्ट र इम्बेन्सले उक्त चुनौतीहरूबाट पार पाउने र प्राकृतिक प्रयोगको कारण र प्रभाव निर्धारण गर्न तथ्याङ्कीय विधिको विकास गरेका थिए । उनीहरूको सोही कारक सम्बन्धको गहन रूपमा विश्लेषण गरेकाले उक्त योगदानको कदरस्वरूप उक्त पुरस्कार दिने निर्णय गरिएको हो । १ करोड स्वीडिस क्रोनरबराबरको उक्त पुरस्कार आधा कार्डले र बाँकी आधा एङग्रिस्ट र इम्बेन्सले प्राप्त गर्नेछन् । यी तीनै जना अर्थशास्त्रीले प्रमाणमा आधारित कामलाई पूर्ण रूपमा नयाँ आकार दिइएकाले अर्थशास्त्रमा नोबेल पुरस्कार दिइएको हो ।