प्रिपेड डलर कार्डमा आकर्षण «

प्रिपेड डलर कार्डमा आकर्षण


अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ । प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजार भन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम ५ सय डलर वा सो बराबरको विदेशी मुद्राको कारोबार गर्न पाउने गरी प्रिपेड कार्ड जारी गर्न पाउने सुविधा दिएको थियो । मंसिर मसान्तसम्ममा बैंकहरुले १८ हजार १ सय ११ वटा प्रिपेड कार्ड जारी गरेको नेपाल राष्ट्र बैंक, विदेशी मुद्रा व्यवस्थापन विभागका प्रमुख रामु पौडेलले जानकारी दिए । “पिप्रेड कार्डमा राम्रो आकर्षण देखिएको छ,” उनले भने, “हालसम्म कार्डमा ३९ लाख डलर लोड भएको र त्यसमध्ये १८ लाख डलर खर्च भएको छ ।”
नेपालीले अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्दा अवैधानिक बाटोबाट भुक्तानी गर्न थालेपछि राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्ने व्यवस्था गरेको छ । कार्डमार्फत नेपालीले फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गर्न, अनलाइनबाट विभिन्न सामान खरिद गर्न तथा छोटो अवधिका कोर्ष तथा तालिम लिनका लागि शुल्क भुक्तानी गर्न समेत प्रयोग गरेका छन् । प्रिपेड कार्ड सुविधाबाट अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सहज भएको पौडेलले दाबी गरे ।
राष्ट्र बैंकको निर्देशन अनुसार कार्डबाट पुँजीगत कारोबारको लागि खर्च गर्न नपाइने र कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्ने, पीओएसलगायतका कारोबार गर्न नसकिने व्यवस्था छ । यसरी वस्तु तथा सेवा अनलाइनमार्फत खरिद गर्दा त्यसलाई कानुनले प्रतिबन्ध नगरेको हुनुपर्ने पनि प्रावधान छ । तर, अहिलेसम्म बैंकले कार्डमार्फत के कस्तो वस्तु तथा सेवाका खरिद भयो भन्नेबारे राष्ट्र बैंकलाई जानकारी भने छैन । “यसबारे हामीले प्रष्ट रुपमा निर्देशन गरेका छौं,” पौडेलले भने, “बैंकहरुले त्यसै अनुसार कारोबारलाई हेरिरहनु भएको छ ।”
बैंकहरुले कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सक्नेछन् । तर कार्ड जारी गर्नुपूर्व प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) विवरण अद्यावधिक भएको र स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
बैंकमा ग्राहकले अनुरोध गरेको दिनको विनिमय दरका आधारमा कार्डमा अमेरिकी डलर वा अन्य विदेशी मुद्रा जम्मा गर्नुपर्ने र एक्टिभ भएकोे दिनबाट कार्डको समयअवधि गणना गर्नुपर्नेछ । विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोगकर्ताले विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आम्दानी गरेको उक्त रकम पनि कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्ने र यो रकम कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा हुन सक्ने व्यवस्था समेत गर्नुपर्नेछ । तर, कार्डमा पाँच हजार डलरभन्दा बढी विदेशी मुद्रा भएमा उक्त रकम अनिवार्य रुपमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्