निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति «

निर्यात बढ्दा पनि सुध्रेन वैदेशिक व्यापारको स्थिति

धेरै वर्ष अगाडिदेखि सरकारले वर्षमा एक खर्ब निर्यात गर्ने लक्ष्य राखेकोमा बल्लतल्ल सरकारले उक्त लक्ष्य भेट्न थालेको थियो । वास्तवमा अघिल्लो सरकारले त एक खर्ब निर्यात पुगेकोमा त्यसलाई आफ्नो उपलब्धि नै मानेको पनि थियो ।
तर, चालू आर्थिक वर्षमा पाँचै महिनामा एक खर्ब निर्यात नाघेको छ । अर्थात् आधा आर्थिक वर्ष सकिनु अगावै एक खर्ब निर्यात हुनुले चालु आर्थिक वर्षमा नेपालको निर्यात दुई खर्ब नाघ्ने स्पष्ट देखिन्छ । यो खुसीको कुरा पनि हो र उपलब्धि पनि हो । नेपालले आफ्नो निर्यात बढाउन सक्नु वैदेशिक व्यापारमा सुधार आउन सक्ने संकेत हो ।
तर, निर्यातभन्दा बढ्दो गतिमा आयातको अंक बढ्दै गएका कारण निर्यात बढेको खुसियाली मनाउनेभन्दा पनि व्यापार घाटा कसरी नियन्त्रणमा राख्नु सरकारको लागि सबैभन्दा ठूलो चुनौती भएको छ । किनकि चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा नेपालले एक खर्बभन्दा बढीको निर्यात गर्दा ८ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्यांकले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्ममा आयात तथा निर्यात दुवै बढेको देखाएका कारण निर्यात बढेको खुसी क्षणिक मात्र भएको छ ।
कारण– आयात ५९ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब ४० करोडभन्दा बढी हुँदा चालु आर्थिक वर्षको पाँच महिनासम्ममा १ खर्ब २ अर्ब ९२ करोडको वस्तु नेपालले निर्यात गरेको छ । यसरी चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोडभन्दा धेरै भएको छ, जुन गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ६३.५५ प्रतिशतले धेरै हो ।
किनकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालको वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोड थियो । तर, आयात ह्वात्तै बढ्दा व्यापार घाटा चुलिन थालेको छ । एक त आयात बढ्दा वैदेशिक मुद्रा सञ्चितीमा नकारात्मक असर पारेका कारण केन्द्रीय बंैकले आयातमा विभिन्न शर्त थपेर कडाइ गर्नुपरेको छ भने अर्कोतिर आयात बढेकै कारण रेमिट्यान्स आय पनि घटेको छ ।
सरकारको आँकलन अनुसार आयातको बिल तिर्न नेपाल आउने रेमिट्यान्सको प्रयोग भइरहेको छ । रेमिट्यान्स आय घट्दा नेपालका बैंक तथा वित्तीय संस्थाका तरलतामा दबाब पर्नेदेखि क्रयशक्तिमा पनि असर पर्ने देखिन्छ । रेमिट्यान्सकै कारण नेपालीहरु गरिबीको दुश्चक्रबाट माथि उठेकोमा, रेमिट्यान्स घट्दा गरिबी पनि बढ्ने अनुमान छ ।
तसर्थ, चालु आर्थिक वर्षको पाँच महिनामा निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा थप चुलिँदै जानु अर्थतन्त्रको लागि सहज तथा खुसीको कुरा होइन । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोडभन्दा बढी पुग्नु भनेको वर्षान्तमा १५ खर्बभन्दा बढी व्यापार घाटा हुनु हो ।
नेपालको वैदेशिक व्यापारमा पनि मुख्य व्यापार घाटा भारत तथा चीनसँग छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा भारतसँग ४ खर्ब १५ अर्ब ८८ करोडभन्दा धेरैको व्यापार घाटा छ भने चीनसँग १ अर्ब २१ अर्ब ८१ करोडभन्दा धेरै व्यापार घाटा छ । पछिल्ला आर्थिक वर्षहरुमा चीनसँगको व्यापार घाटा पनि तीव्र रूपमा बढ्दै जानु अर्को चिन्ताको विषय हो ।
त्यसैले सरकारले नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीलाई कसरी घटाउने र निर्यात प्रवद्र्धनमा कसरी जोड दिने विषयमा गम्भिरतापूर्वक गृहकार्य गर्नु आवश्यक छ ।
अन्यथा रेमिट्यासको भरमा विस्तारित हुँदै गएको आयातमुखी अर्थतन्त्र भोलि दुर्घटनामा पर्ने खतरा छ । कृषिप्रधान मुलुक नेपालमा पाँच महिनामा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न आयात हुनु सरकारको नीतिगत असफलता पनि हो । तसर्थ पनि सरकारले तत्काल आयात प्रतिस्थापन गर्न सक्ने कृषिजन्य वस्तु उत्पादनमा केन्द्रित भई आयात घटाउन सके मुलुकको वैदेशिक व्यापार सुधार्न सकिन्छ । समयमा नै यसतर्फ ध्यान दिऊँ ।

प्रतिक्रिया दिनुहोस्