कृषि अर्थतन्त्रमाथिको दुर्दशा «

कृषि अर्थतन्त्रमाथिको दुर्दशा


नेपाल एक कृषिप्रधान मुलुक हो । यहाँ ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । जग्गाजमिन खनजोत गरी बालीनाली लगाउनु कृषि हो । बाली सपार्न, उत्पादन बढाउन र दैनिक उपयोग गर्नका लागि गरिने गाईभैंसी, बाख्राभेडा, बंगुर–कुखुरा, माछा आदि पालनलाई समेत कृषिमा समेटिएको छ । कृषि मानिसको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने क्रियाकलाप हो । मानिसले दैनिक उपभोग गर्ने वस्तु कृषिकै उपज भएकाले यसको संरक्षण, विस्तार र बजारीकरण हुनु अत्यन्त आवश्यक छ । आधारभूत आवश्यकतामध्येको गाँस कृषिमा निर्भर गर्छ । पछिल्ला दिनहरूमा नेपालमा विदेशबाट कृषिजन्य वस्तुको आयात अधिक हुँदै गएको छ ।
चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा नेपालले विदेशबाट १ खर्ब ४५ अर्ब ५८ करोड मूल्य बराबरको कृषिजन्य वस्तु आयात गरेको छ भने जम्मा ५७ अर्ब ९८ करोडको कृषिजन्य वस्तु निर्यात पनि गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा ९४ अर्ब १९ करोडको कृषिजन्य वस्तुको आयात भएको थियो । यो वर्षको बढोत्तरी अघिल्लो वर्षको सोही वर्षको तुलनामा ५५ प्रतिशतले धेरै हो । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अन्न मात्र २२ अर्ब ५७ करोडको आयात भएको छ । गत वर्षको यही अवधिको तुलनामा अन्नको आयात केही घटेको हो । गत वर्षको यही अवधिमा २५ अर्ब २ करोडको अन्न आयात भएको थियो ।
यो वर्ष कात्तिकसम्ममा १६ अर्ब १० करोडको तरकारी आयात भएको छ । गत वर्षको यही अवधिमा तरकारीको आयात १२ अर्ब ९० करोड थियो । त्यसैगरी चालू आर्थिक वर्षको कात्तिकसम्ममा करिब ९ अर्ब ४४ करोडको फलफूल र काजुबदाम, ३ अर्ब ८१ करोडको चियाकफी र मसला, ५६ अर्ब २४ करोडको घिउतेल उत्पादन गर्न मिल्ने कृषिजन्य वस्तु, ३ अर्ब ७८ करोडको चिनी र चिनीजन्य वस्तु, १० अर्ब ४५ करोडको तेल बनाउन मिल्ने प्राकृतिक दाना आयात भएको छ । खासगरी, विदेशबाट भटमासको तेल, पाम आयल आदि आयात गरी सामान्य प्रशोधनमार्फत निर्यात गरेको कृषिजन्य वस्तुको आयात र निर्यात दुवै बढेको देखिएको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार कात्तिकसम्ममा नेपालले विदेशबाट ६ खर्ब ५० अर्बको वस्तु आयात गरेको छ । यो गत वर्षको यही अवधिको तुलनामा ६१.५७ प्रतिशतले धेरै हो तर, यो अवधिमा निर्यात जम्मा ८२ अर्ब १२ करोडको मात्रै छ । आयात धेरै, निर्यात कम भएपछि चालू आर्थिक वर्षको पहिलो चार महिनामै नेपालले वैदेशिक व्यापारमा ५ खर्ब ६८ अर्ब घाटा बेहोरिसकेको छ । आयात चुलिंदै गएपछि पछिल्लो समयमा नेपालको शोधनान्तर स्थिति र चालू खाता घाटामा पुगेको छ । विभागको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म आयात ६१.५१ प्रतिशतले बढेर ६ खर्ब ५० अर्बको २९ करोड पुगेको हो । अघिल्लो वर्षको सो अवधिमा ४ खर्ब २४ अर्ब ९० करोड रुपैयाँको आयात भएको थियो । यो अवधिमा निर्यात १०४ प्रतिशतले बढेर ८२ अर्ब १२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको भएको छ । अघिल्लो वर्ष ४० अर्ब २४ करोड ९० करोड १७ लाख रुपैयाँको निर्यात भएको थियो । चार महिनामा वस्तु तथा सेवा आयातबाट १ खर्ब ७२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा देखिन्छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापारघाटा बढ्दै गइरहेको हो । यो आवको चार महिनामा व्यापारघाटा ५ खर्ब ६८ अर्ब १७ करोड १८ लाख रुपैयाँको भएको छ ।
चार महिनामा सबैभन्दा धेरै इन्धन त्यसपछि खाद्यान्न, तरकारी, आइरन, सवारी साधनका पार्टपुर्जा आयात भएको छ । विभागले बताएअनुसार ८८ अर्बको इन्धन, ७८ अर्ब १० करोड ९५ लाख रुपैयाँको आइरन, २२ अर्ब ५७ करोड ७१ लाख २३ हजार रुपैयाँको खाद्यान्न, १६ अर्बको तरकारी आयात भएको छ । यो अवधिमा ५५ अर्ब ६२ करोड रुपैयाँबराबरको आइरन तथा स्टिल आयात भएको छ । विभिन्न प्रकारका सवारी साधनको आयातमा ४४ अर्ब ५९ करोड रुपैयाँ विदेसिएको छ । विद्युतीय सामान तथा उपकरणको आयात भने ४६ अर्ब ९१ करोड रुपैयाँबराबरको भएको छ । वनस्पति घिउ तथा तेल र तेलजन्य सामग्रीको आयात ५६ अर्ब २४ करोड रुपैयाँबराबरको भएको छ । घिउ तथा तेलजन्य पदार्थको निर्यात भने ४७ अर्ब ४६ करोड रुपैयाँको भएको छ । चार महिनामा ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार हुन पुग्यो । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६५.४५ प्रतिशत बढी हो । गत वर्ष यो अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको मात्र वैदेशिक व्यापार भएको थियो । आयातको हिस्सा ८८.७९ प्रतिशत र निर्यातको हिस्सा ११.२१ प्रतिशत रहेको छ ।
नेपालबाट निर्यात हुने वस्तुमा पाम आयल र भटमासको तेलको हिस्सा सबैभन्दा बढी छ । नेपालबाट तरकारीजन्य उत्पादनको निर्यात भने ३८ करोड रुपैयाँको रहेको छ । चिया र कफी ३ अर्ब ८१ करोडको आयात भएकोमा ३ अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ । सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतमा हुने गर्छ । चार महिनाको अवधिमा भारतबाट ३ खर्ब ८५ अर्ब ९५ करोडको वस्तु आयात गरेको छ भने नेपालबाट ६६ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग ३ खर्ब १९ अर्ब रुपैयाँको छ । यसैगरी यही चार महिनामा दोस्रो छिमेकी मुलुक चीनबाट भने नेपालले ९४ अर्ब ३० करोड रुपैयाँको वस्तु आयात गरेको छ भने ३१ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । अमेरिकाबाट ९ अर्ब ९१ करोड रुपैयाँको वस्तु आयात गरेकोमा ६ अर्ब १० करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । हाल नेपालले १ सय ३८ मुलुकसँग वैदेशिक व्यापार गर्ने गरेको छ ।
वास्तवमा देशमा उपलब्ध स्रोतको उपयोगबाट आर्थिक वृद्धिको सम्भावना खोज्ने हो । नेपालमा कृषि उत्पादनमा वृद्धि गरिँदा राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने आधार तयार हुन्छ । यो क्षेत्रको उत्पादनलाई दिगो र निरन्तर बनाउन सकिने हुनाले आम्दानीमा पनि निरन्तरता हुन्छ । रोजगारी बढ्छ, प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । देशमै रोजगारी सृजना भई बिदेसिनेहरू अति न्यून हुन्छन् । नागरिकमा राष्ट्रप्रेम जागृत हुन्छ । नागरिक व्यक्तिगत स्वार्थमा भन्दा राष्ट्रिय स्वार्थमा लाग्ने वातावरण बन्दै जान्छ । यसका लागि कृषि उत्पादनमा लगानीको ठूलो धक्का दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्